|

सिरहा : सिरहा जिल्लामा अहिलेसम्म ७० प्रतिशत धान रोपाइँ भएको छ।  यस वर्ष समयमै पर्याप्त मात्रामा वर्षा भएकोले जिल्लामा हालसम्म ७० प्रतिशत धान रोपाइँ सकिएको र अब ३० प्रतिशत रोपाइँ हुन मात्र बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ।

आकाशे पानीको भरमा खेती गर्ने सिरहाका किसानहरु समयमै वर्षा भएकोले अहिलेसम्म ७० प्रतिशत धान रोपाइँ गरेका छन्। सिरहा जिल्लामा कुल ७३ हजार हेक्टर खेतीयोग्य जग्गा रहेको छ जसमध्ये ५४ हजार हेक्टर जग्गामा धान खेती गर्ने गरिन्छ।

धान खेती हुने ५४ हजार हेक्टर जग्गामध्ये अहिलेसम्म ७० प्रतिशत अर्थात ३७ हजार ८ सय हेक्टर जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख कृष्णदेव राउतले बताए।

यस वर्ष समयमै वर्षा भएकोले जिल्लाको सबै ठाउँका किसानहरु अहिले धान रोपाइँ गर्न व्यस्त छन्। किसानहरु धान रोप्न व्यस्त भएकोले यस वर्ष सिरहामा साउन दोस्रो साताभित्र धान रोपाइँ सकिने कृषि ज्ञान केन्द्रका प्रमुख राउतले बताए।

केही दिनअघि भएको लगातारको वर्षाका कारण खेतहरुमा पानीको मात्रा बढी हुँदा धान रोपाइँ प्रभावित बनेको थियो तर पछिल्लो समय ठूलो मात्रामा वर्षा नभएपछि खेतहरुमा पानीको मात्रा कम हुँदा किसानहरु अहिले धमाधम धान रोपाइँ गरिरहेको देखिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.