जोर-बिजोर प्रणालीले केही राहत

|

विराटनगर : मध्य दिन। तराईको गर्मीमा घाम छल्दै यात्रुको पर्खाइमा बसेका थिए ६० वर्षीय राजेन्द्र पाण्डे। विराटनगर केशलीया नहरपारि बस्दै आएका उनी सिटी सफारी (ई–रिक्सा) चालक हुन्।

उमेरको हिसाब गर्दा उनको आराम गर्ने उमेर हो। तर, राजेन्द्रले ढल्किँदो उमेरभन्दा जिम्मेवारीको बोझले अझै आराम पाउन सकेका छैनन्। उनका दुईजना छोरा विवाहपछि छुट्टिएर बेग्लै बस्न थालेका छन्। त्यसैले पनि उनी जीविकोपार्जनका लागि दिनहुँ नखटी हुँदैन। 

उनले तीन वर्षअघि बैंकबाट ऋण लिएर सिटी सफारी सिनेका छन्। त्यही सिटी सफारी नै अहिले राजेन्द्र दम्पत्तीको जीवन जिउने सहारा भएको छ। ‘उमेर पुगेका छोरा बुहारी लिएर घरबाट टाढा भए,’ यात्रुतिर आँखा घुमाउँदै राजेन्द्रले भने, ‘उमेरले डाँडा काटेर के गर्नु! घर खर्च चलाउनै पर्‍यो।’

श्रीमती र आफ्नो जिम्मेवारीको गहकिलो भारी बोकेका राजेन्द्रलाई पहिलो लहर र दोस्रो लहरको कोरोना महामारीले निम्त्याएको लकडाउनका कारण बैंकको ऋण तिर्न सकस भएको छ।  सामान्य अवस्था हुँदो हो त सिटी सफारी चलाएर कमाएको पैसाले उनलाई घर खर्च चलाउन मनग्य पुग्थ्यो। तर, लकडाउनले त्यो अवस्था रहेन।

पछिल्लो समय मोरङमा निषेधाज्ञा केही खकुलो भएको छ। सवारी साधन जोर–बिजोर प्रणाली लागु गरी सञ्चालन गरिएको छ। सोमबार विराटनगरस्थित ट्राफिक चोकमा भेटिएका राजेन्द्रको सफारी जोर नम्बर भएकाले उनी बिनाअवरोध यात्रुलाई निश्चित गन्तव्यमा पुर्‍याउन दौडधुपमा थिए।

सामन्य अवस्थामा उनको दैनिक एक हजार हजारदेखि १२ सय रुपैयाँसम्म कमाइ गर्थे राजेन्द्र। अहिले त्यो अवस्था छैन। तै चलाउनै नपाउनुभन्दा जोर–बिजोर प्रणाली लागु गरेपछि केही राहत मिलेको उनी सुनाउँछन्। 

‘रोग लाग्छ भन्दै घरैमा बस्दा बैंकको ऋर्ण कसरी तिर्ने भन्ने पिर लाग्थ्यो,’ राजेन्द्रले भने, ‘अहिले जोर–बिजोर गरेर चलाउन दिएको छ। दैनिक चार/ पाँच सय रुपैयाँ कमाइ हुन्छ। थोरै भए पनि सास आएको छ।’

विराटनगरस्थित तीनपैनी चोकमा मंगलबार यात्रु खोज्दै गरेका ५० वर्षीय श्यामलाल सिंह भेटिए। सिटी सफारी चलाउँदै आएका उनी बिहान ६ बजे नै यात्रुको खोजीमा चोक निस्किन्छन्। चोकमा चियाको चुस्कीसँगै यात्रु पर्खिनु दैनिकी रहेको उनले सुनाए। भट्टाचोकमा बस्दै आएका श्यामलाललाई व्यवहारको भारीले आनन्दको निदाउन दिँदैन। उनले चार वर्षअघि एक सहकारी संस्थाबाट ऋण काढेर दुईवटा सिटी सफारी लिएका थिए, आफ्नो र छोराका लागि। सहकारीको किस्ता तिर्नु र पाँचजनाको परिवारको भरथेग नै सफारीको कमाइले गर्दै आएका थिए। तर, लकडाउनका कारण थला परेको उनको व्यवसायले अहिले पनि गति लिन सकेको छैन। 

‘छिमेकबाट सापटी पैसा लिएर किस्ता तिर्दैछु,’ उनले भने, ‘यसैबाट घर खर्च चलाउनु पर्ने हुन्छ। पोहोरको वर्षदेखि व्यवहार बिग्रिएको अहिलेसम्म सुधार्न सकिएको छैन।’ अहिले जोर–बिजोर नियम लागु हुँदा दिनमा तीन/चार सय रुपैयाँ कमाइ हुँदा केही राहत भएको उनले सुनाए।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण  बैंकको ऋण लिएर सफारी किनेका धेरै व्यवसायीहरु मार परेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.