|

जुम्ला : हिमा गाउँपालिका-६, पातारखोला गाउँकी किट्टी दमाई महिला स्वास्थ्य स्वयंसेविका हुन्‌। उनले यो काम गर्न थालेका एक दशक नाघिसकेको छ। गाउँमा सामान्य रोगको उपचार आफै गर्न सक्ने भइसकेकी छिन्।

गाउँबस्तीमा पुगेर गर्भवती, सुत्केरी, नवजात शिशु र बुढाबुढीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदैमा उनको दैनिकी बित्ने गरेको छ।

‘ग्रामिण क्षेत्रमा सार्वजनिक स्वास्थ्यका सबै पक्ष महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारीमा छ। यहाँ हामी महिला स्वास्थ्य स्वयंसेविका नै स्वास्थ्यकर्मी हौँ, दुर्गम बस्तीका लागि हामी नै डाक्टर हौँ। स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मी बस्दैनन्। दरबन्दी अनुसार डाक्टर हुँदैन,' किट्टीले भनिन्, ‘ग्रामिण क्षेत्रमा स्वास्थ्यको पूर्ण जिम्मेवारी हाम्रै काँधमा छ।'

स्वास्थ्य क्षेत्रको आधारका रूपमा महिला स्वास्थ्य स्वयंसेविकालाई लिइँदै आएपनि सेवा सुविधा दिन सरकारले कञ्जुस्याइँ गरिरहेको उनको गुनासो छ। कलिलो उमेरमै स्वास्थ्य स्वयंसेविका बनेकी उनी गर्भवती महिलाले स्वास्थ्यको हेरचाह कसरी गर्ने? बालबालिकालाई विभिन्न रोगबाट बचाउन के गर्ने भन्ने विषयमा समुदायस्तरमा परिचालन हुने गरेका हुन्छन्‌।​

त्यस्तै, महावैपातरखोलाकी कल्पना शाही पनि महिला स्वास्थ्य स्वयंसेविका हुन्‌। उनले पनि गाउँमा स्वास्थ्य सचेतना फैलाउँदै आएकी छिन्‌। समुदाय स्तरमा परिवार नियोजन, सुरक्षित मातृत्व, स्वास्थ्य सरसफाइ, सरुवा रोगको रोकथाम तथा नियन्त्रण, स्वास्थ्य शिक्षा र खोप सेवा दिँदै आएकी छिन्।

गाउँमा कुन रोग फैलिएको छ र उपचार कसरी गर्न सकिन्छ भन्नेबारे पहिले नै थाहा हुने गरेको उनले बताइन। दुई दशक स्वयंसेविका रहेकी उनी बिरामीलाई रोग अनुसारका औषधी उपलब्ध गराउनसक्ने भइसकेकी छिन्। उनले भनिन्, ‘महिला महिला स्वास्थ्य स्वयंसेविका सचेतना मात्र छर्दैनौँ, प्राथमिक उपचारमा पनि खटिँदै आएका छौँ। डाक्टर आउन नमान्ने दुर्गम क्षेत्रका हामी डाक्टर हौँ।'

स्वयंसेविका सम्झना शाही पनि परिवार नियोजन र सुरक्षित मातृत्व सेवा प्रवाह र प्राथमिक उपचारमा खटिन थालेको धेरै भयो। गाउँमा लाग्ने सानातिना रोग रुघाखोकी, ज्वरो र झाडापखाला लगायतका उपचार उनी आफैँ गर्छिन्‌। घरैबाट जीवनजल सिटामोल लगायतको औषधी दिने गरेको उनी बताउँछिन्‌। ​उनीप्रति गाउँलेमा पनि पूर्ण भरोसा छ।

'गम्भीर स्वास्थ्य समस्या भोगेका बिरामीलाई उपचारका लागि स्वास्थ्य चौकी र अस्पतालमा जान परामर्श दिन्छौँ,' उनले भनिन्, ‘सानातिना रोग लाग्दा गाउँमै उपचार गर्नसक्ने भइसकेकी छु।’ स्वास्थ्य केन्द्रले उपलब्ध गराउने औषधी गाउँमा उनैले वितरण गर्छिन्‌।

​औषधी नहुँदा आफ्नै रकमबाट खरिद गरेर बिरामीलाई दिने गरेको स्वयंसेविकाहरूको अनुभव छ। सामान्य सेवा-सुविधामा परिचालित भएका स्वास्थ स्वयंसेविकाहरूले जनस्वास्थ्यमा ठूलै योगदान मात्र गरेका छैनन्‌, गाउँघरका 'डाक्टर साप'को रूपमा स्थापित छन्‌।

​राष्ट्रिय स्वास्थ्य नीतिले देशको शहरी तथा ग्रामीण क्षेत्रका स्वास्थ सेवाको पहुँचमा नरहेका समुदायमा न्यूनतम आधारभूत स्वास्थ सेवा पुर्‍याउन २०४५ सालदेखि महिला स्वयंसेविकाको अवधारणा ल्याएको हो।

महिला स्वयंसेविकाहरूले आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गर्दै मातृमृत्युदर र बाल मृत्युदरमा कमी ल्याउन र परिवार नियोजनको सेवा पहुँचलाई बढाउन महत्वपूर्ण योगदान गरेको स्थानीयवासी बताउँछन्‌।

​पछिल्लो चरणमा कोभिड-१९ (कोरोना) महामारीमा समुदायको स्वास्थप्रति संवेदनशील रहँदै महिला स्वास्थ स्वयंसेविकाहरू सामाजिक सचेतना फैलाउन खटिइरहेका छन्‌।

दिनभर स्थानीयवासीको स्वास्थ्य उपचार र सेवामा खटिएका स्वयंसेविकाले आफूहरूको कामको मूल्याङ्‌कन र उचित पारिश्रमिकको व्यवस्था राज्यबाट हुन नसकेको बताइरहेका छन्‌। पुरस्कार, सम्मान र भ्रमणहरूमा पनि पहुँच भएकालाई मात्र समावेश गर्ने तर दूरदराजमा खटिने महिला स्वयंसेविकाहरू राज्यको नजरमा नपर्ने गरेको गुनासो उनीहरूको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.