|

बारा : जिल्लाको उत्तरतर्फ चुरेको फेदीमै रहेको अम्लेखगञ्जको चकरी गाउँमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारले सामुदायिक होमस्टे शुरू गर्‍यो।

फापरको ढिँडो र लोकल कुखुराको मासुसँगै स्थानीय स्वादिलो परिकारसहित वन्यजन्तु अवलोकन गर्न पाइने पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रस्थित चकरी गाउँ अहिले पर्यटकको पखाईमा छ। होमस्टे शुरू भएको वर्ष दिनसम्म पनि आन्तरिक तथा वाह्य पर्यटक नआएपछि स्थानीयहरू उनीहरूलाई नै पर्खिरहेका छन्। 

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश २ सरकारले बाराको चकरी, वीरेदमार र ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल सिम्रौनगढका करिब २० घरमा सामुदायिक होमस्टे सञ्चालन गरेको छ।

तर, यी सामुदायिक पाहुना घरले पर्यटक भने देख्न पाएका छैनन्। जीतपुरमसिमरा-२२,  चकरीमा सामुदायिक होमस्टे सञ्चालन गरिरहेका प्रेमबहादुर लोक्चले घुम्ने ठाउँ पर्याप्त भएपनि बाटोघाटो र टेलिफोन नेटवर्कको असुविधाको कारण हालसम्म १ जना आन्तरिक तथा वाह्य पर्यटक नआएको गुनासो गरेका छन्।

‘हामीकहाँ पर्यटकलाई घुम्नका लागि पर्याप्त ठाउँहरू छन्, निकुञ्जभित्र वन्यजन्तुहरू सजिलै देख्न पाइन्छ, वरपर हरियाली चुरे, खोलानाला, धार्मिक शक्तिपीठहरू छन्, तर यातायात र टेलिफोनको समस्या छ,’ लोक्चले भने ‘प्रचारप्रसार नभएर पनि हामीकहाँ आन्तरिक तथा वाह्य पर्यटक आएका छैनन्।’ 

लोक्च जस्तै जीतपुरसिमरा र सिम्रौनगढका २० घर होमस्टे सञ्‍चालक पर्यटक आउने बाटो हेरिरहेका छन्। होमस्टे सञ्चालनका लागि जीतपुरसिमरा र सिम्रौनगढमा गतवर्ष प्रतिघर १ लाख रुपैयाँ मूल्य बराबरको भौतिक सामग्री प्रदान गरिएको थियो।

डिभिजन वन कार्यालयले नि:शुल्क वितरण गरेका फर्निचरहरू पर्यटक नआएपछि यतिखेर घरायसी प्रयोजनका लागि प्रयोग भएका छन्। जीतपुरसिमर-२२ का वडाध्यक्ष मणिकलाल थिङले पर्यटन प्रवर्द्धनको पर्याप्त सम्भावनाहरू भएपनि कोभिड-१९ का कारण होमस्टे सञ्चालन सम्बन्धी कानूनी प्रकृया पूरा नभएको बताए।

‘हामीकहाँ धेरै सम्भावना छ, तर कोभिडका कारण १ वर्षदेखि होमस्टे दर्ता र भौतिक पूर्वाधार निमार्ण गर्न सकिएको छैन,’ वडाध्यक्ष थिङले भने। 

बारामा तेस्रो मुलुकको तुलनामा भारतीय पर्यटकहरू आगमन बढी हुनेगर्छ। पर्सा राष्ट्रिय निकुञ्जमा हात्ती सफारी, गढीमाई मन्दिर दर्शन, ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सिम्रौनगढ घुम्न भारतीय पर्यटक बारा आउने गर्दछन्।

कोभिड-१९ कारण वीरगञ्‍ज नाकामा कडाइ भएसँगै पछिल्लो डेढ वर्षदेखि बारा घुम्न आउने पर्यटक संख्यामा कमी आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.