|

धनकुटा : धनकुटाको छथर जोरपाटी गाँउपालिका–६ का चुईन्द्र बस्नेत रोजगारीका लागि मलेसिया र कतारलगायत देशमा भौतारिँदै पुगे। तर, ती देश जाँदा काम गर्न नसकेपछि उनी दुईवटै देशमा ६ महिनाभन्दा बढी बस्न सकेनन्। मलेसियामा पुग्नेबित्तिकै बिरामी काम गर्न नसकेर फर्केको त्यसपछि कतार गएको ६ महिनामा फर्कनु परेको उनी बताउँछन्।

बस्नेतले विदेश जाँदा लागेको खर्च समेत विदेशमा कमाएर तिर्न सकेनन्। विदेशमा ६ महिना काम गर्दा २० हजार पनि कमाउन नसकेको बस्नेत बताउँछन्। बस्नेतले विदेश जाँदा लागेको ऋण नेपालमै कमाएर तिरेको बताउँछन्। त्यसपछि उनी स्वदेश फर्किएर च्याउखेतीमा लागेका छन्।

विदेश जाँदा लाग्ने खर्च, श्रम र मिहिनेतले गाउँमै राम्रो आम्दानी लिन सकिने पाठ बस्नेतलाई च्याउखेतीले सिकाएको छ। ६ वटा ठूला टनेल बनाएर बस्नेतले च्याउखेती गर्दै आएका छन्। विष्णु एग्रोफर्म दर्ता गरेर च्याउखेत सुरु गरेका उनको दैनिकी अचेल च्याउ उत्पादन र रेखदेमै बित्ने गरेको छ।

२ वर्ष अघिबाट सुरु गरेको च्याउ खेतीमा ५ लाखबाट लगानी सुरु गरेका बस्नेतले हाल ३० लाखको लगानी पुगेको बताउँछन्। गत वर्षबाट कोरोनाका कारणले सुरु भएको लकडाउनले उनको च्याउ खेतीमा केही असर भए पनि हाल दैनिक ३०० केजी उत्पादन गर्दै आएको बताउँछन्। विदेशमा १६ घण्टा खट्दा १० हजार बचाउन गाह्रो भएको बताउने बस्नेतले अहिले स्वदेशमै गरेको आम्दानीमा निकै उत्साहित देखिन्छन्।

च्याउ उत्पादन भएपछि बजारको समस्या नभएको उनको भनाइ छ। उनले उत्पादन गरेको च्याउ धनकुटा र तेह्रथुम जिल्लामा बिक्रि भइरहेको छ। च्याउको माग तराईका जिल्लाबाट भइरहेको भएपनि पुर्‍याउन नसकिएको उनको भनाइ छ। उनले च्याउ प्रति केजी खुद्रामा २०० रुपैयाँ र होलसेल १५० रुपैयाँमा बिक्री भइरहेको बस्नेतको भनाइ छ।

यो पटकको उत्पादनमा लगानी भएको ३० लाख खर्च कटाएर ६ लाख आम्दानी हुने अनुमान बस्नेतले बताए। उनले युवा लक्ष्यित च्याउ खेती कार्यक्रम मार्फत कृषि ज्ञान केन्द्र धनकुटाबाट १ लाख रुपैयाँ अनुदान पाएको बताए।

गाउँमै सुरु गरेको फर्ममा १० जना युवाहरूले रोजगारीसमेत पाएका छन। गाउँमै रोजगारी पाएपछि परिवार धान्न र घरखर्च चलाउन सहज भएको स्थानीय भगिरथ बस्नेतको भनाइ छ। उनले रोजगारीमा खोजिमा भौतारिनु परेको अवस्था अहिले गाउँमा च्याउ फार्म सञ्चालन भएपछि रोजगारको समस्या नभएको बताए।

घरनजिकै व्यवसाय सुरु गर्दा घरपरिवारका सदस्यले समेत सघाउने गरेका छन। कम लागतमा बढी आम्दानी गर्न सकिने भएकाले च्याउखेतीमा गाउँका अन्य किसानहरूको पनि आकर्षण बढ्दै गएको चुइन्द्रकी श्रीमती टीका बस्नेतको भनाइ छ।

घरैको काम गरेर व्यवसाय धानिरहेको टीकाको भनाइ छ। स्वदेशमै व्यवसाय गर्दा पुरुष विदेश जाने र महिला एक्लै बस्नुपर्ने अवस्था अन्त्य भएको उनले बताइन्। ‘श्रीमान् श्रीमतीसँगै बसेर व्यवसाय गर्न पाउँदा सामाजिक काम पनि गर्न पाएका छौँ, निकै आनन्दित महसुस भएको छ’ उनले भनिन् ‘अरुको देशमा दु:ख गर्नुभन्दा स्वदेशमै दु:ख गर्दा भिन्दै आनन्द आउने रहेछ।’

चुइन्द्रको च्याउखेतीको सिको गरेर यहाँका बेरोजगार युवाहरूले समेत सामूहिक च्याउखेती गर्न थालेका छन। उपयुक्त प्रविधि र सहुलियत ऋण उपलब्ध गराए कृषकहरूले खेतीलाई अझ विस्तार गर्ने सोच बनाएको बताएका छन्। त्यसका लागि सम्बधित निकायको ध्यान जान जरुरी छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.