'व्यवस्थापन मिलाउनसके प्रतिष्पर्धी र गुणस्तरीय शिक्षा दिन सकिन्छ'

|

काठमाडौं : डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालय २०७५ सालसम्म अस्तव्यस्त थियो। २०१२ सालमा स्थापित विद्यालयमा निकै राजनीतिकरण भएकाले त्यहाँ विद्यार्थीहरू पढ्न मानिरहेका थिएनन्। अभिभावकको आकर्षण पनि थिएन।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कार्की ती दिन अझै सम्झिन्छन्। भन्छन्‌, ‘बढी राजनीतिकरण गरिँदा विद्यालय अस्तव्यस्त थियो, बस्ने बेच्न व्यवस्थित थिएन, सबै अभिभावकले आफ्ना छोराछोरी निजी विद्यालयमा भर्ना गर्थे।’ 

०७५ पछि समितिका अध्यक्ष कार्की विद्यालय व्यवस्थापन गर्नेतर्फ लागे। व्यवस्थित भएपछि गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भयो विजय स्मारक। सोही अनुरूप काठमाडौं महानगरपालिकाका ३२ वटै नमूना विद्यालयमध्ये २९ वडाभित्र विजय स्मारक पनि घोषित गर्‍याे। विद्यालय नमूना विद्यालय घोषित भएपछि यतिखेर कार्की निकै खुशी छन्। 

भन्छन्‌, ‘सबैको आँट र साहस भयो भने जस्तोसुकै काम उचाइमा पुर्‍याउन सकिनेरहेछ, शिक्षक लगायत सबैको योगदानले नमूना नै घोषित भयो।’ उनका अनुसार अहिले त्यहाँ निकै प्रभावकारी ढंगले पठनपाठन भइरहेकाे छ। नर्सरीदेखि १२ कक्षासम्म पढाइ हुन्छ। 

विद्यार्थीले कक्षाकोठामा सहजै लेखपढ गर्न सकुन्‌ भनी गुणस्तरीय डेस्क बेन्च राखिएको छ। ‘ल्याब पनि स्थापना गर्दै छौँ, हाम्रै विद्यालयको अर्को नयाँ भवन पनि बनाउँदै छौँ,' कार्कीले भने, 'पहिले यहाँ कार्यरत शिक्षकहरूले नै आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउँथे, अहिले सबै शिक्षकहरूले यहीँ पढाइरहेका छन्, सबै अभिभावकको आकर्षण बढेको छ, धेरै खुशी लाग्छ, त्यसैले विद्यालय नमूनामा पर्‍याे,’ उनले भने।

उनका अनुसार त्यहाँ गत वर्षसम्म ७४० विद्यार्थी अध्ययनरत थिए। ‘अहिले पनि भर्ना भैरहेका छन्‌, जति भर्ना भएपनि पढाउने पूर्वाधार छन्‌,’कार्कीले सुनाए।

साेही विद्यालयमा वरिष्ठ कलाकार नीर शाह, वरिष्ठ पत्रकार विजय कुमार पाण्डे र सशस्त्र प्रहरीका पूर्व आइजी सिंहबहादुर श्रेष्ठ लगायतले पढेका थिए।

विद्यालय व्यवस्थापन राम्रोसँग गर्नसके सबै सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने उनको अनुभव छ। अरू सामुदायिक विद्यालयलाई पनि उनी सुझाव दिन्छन्, ‘कसैले पनि विद्यालयमा राजनीतिकरण नगर्नुस्, सबै शिक्षक म आफ्ना विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन्छु भन्ने अठोट लिनुस्, गुणस्तरीय शिक्षा दिन सकिन्छ।’

अहिले भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने अवस्था नरहेकाले भर्चुअल माध्यामबाट पढाइरहेको उनको भनाइ छ।

‘सबै क्षेत्रमा उत्कृष्ट भएकाले विद्यालय छनोट गर्‍याैँ’

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले स्वच्छ वातावरण र गुणस्तरीय शिक्षा प्रदान गरेकोले केही साताअघि महानगरले नमूना विद्यालय घोषणा गरेको बताए।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदी भन्छन्‌, ‘महानगरले एक वडा, एक नमूना विद्यालय नीति लिएको छ, यो नीतिलाई कार्यान्वयन गर्न विभागले काम थालेको हो, अझै विद्यालयको स्तरोन्नति गरेर नमूना विद्यालय बनाउन सकिनेछ।’

०७६ माघ २० गते शिक्षा समितिका अध्यक्ष एवं महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ‘नमूना विद्यालय छनौट समिति’ गठन गरेको थियो। 

शिक्षा अधिकारी सुवेदी सदस्य-सचिव रहेको समितिको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, कार्यपालिका सदस्य रश्मी खड्का, शहरी योजना आयोगको शिक्षा हेर्ने सदस्य गुजेश्वरी श्रेष्ठ, शिक्षा विभागको कार्यक्रम हेर्ने अधिकारी तारापति खरेल र विद्यालय प्रशासन हेर्ने मोतीप्रसाद भट्टराई थिए।

महानगरका शिक्षा अधिकृत मोतीप्रसाद भट्टराई विद्यालय सुधार कार्यक्रमअन्तर्गत २० सूचकका आधारमा नमूना विद्यालय छनोट गरेको बताउँछन्। उनका अनुसार ती २० सूचक बालमैत्री शिक्षण, कक्षागत औषत सिकाइ उपलब्धिको विश्लेषण र अभिलेख व्यवस्थापन, अभिभावक, विद्यार्थी र शिक्षकको गुनासो व्यवस्थापन, छात्राहरूका लागि सेनेटरी प्याडको व्यवस्थापन, विद्यालयको सरसफाइ (छात्रामैत्री/अपाङ्गमैत्री शौचालय), विद्यालयले आफ्नै प्रयासमा गरेका नवीनतम कामहरू लगायत छन्। 

यीमध्ये एउटा सूचकमा सबैभन्दा धेरै १० अङ्‌क र सबैभन्दा कम २ अङ्‌कमा मूल्याङ्‌कन गरिएको थियो। १० वटा सूचकमा समान ५ अङ्‌कमा मूल्याङ्‌कन गरिएको थियो भने मूल्याङ्‌कनको पहिलो चरणमा विद्यालयहरूलाई स्वमूल्याङ्‌कन फारम भर्न लगाइएको थियो। त्यस फारमबाट प्राप्त भएको सूचनालाई आधार मानेर दोस्रो चरणमा छनौट समितिले १०० पूर्णाङ्‌कमा मूल्याङ्‌कन भएको थियो। 

महानगरपालिकाले विजय स्मारक मात्रै नभई ३२ वटा वडाकै एक/एक नमूना विद्यालय छानेको छ। जसमध्ये वडा-१ को नन्दी रात्रि मावि, वडा-३ को शिवपुरी मावि, वडा-४ को बाँसबारी मावि लगायत विद्यालयहरू रहेका छन्।

सबै विद्यालयलाई तीन/तीन लाख रुपैयाँ

शिक्षा अधिकृत भट्टराईले छानिएका हरेक नमूना विद्यालयलाई ०७८/०७९ मा १/१ लाख रुपैयाँ थपेर ३/३ लाख रुपैयाँ दिइने बताए। छानिएका विद्यालयहरूलाई आ.व. ०७७/०७८ को कार्यक्रममार्फत २/२ लाख रुपैयाँ वितरण गरिएकाे थियाे। 

भट्टराईका अनुसार उपलब्ध गराइएको रकमबाट विद्यालयकाे विषयगत शिक्षकका लागि आवश्यक तालिम चलाउनुपर्नेछ भने विषयगत समिति गठन गरी तालिम र अनुसन्धानमूलक काम गर्नुपर्नेछ।

विषयगत प्रयोगशाला निर्माण, अभिलेखीकरण, शैक्षिक सामग्री निर्माण, प्रयोग र व्यवस्थापन, अभिमुखीकरण गर्ने, नमूना कक्षाको विकास गर्ने, कुनै एक विषय हबको विकास गर्नुपर्छ।

यसैगरी सबै शिक्षकले प्रत्येक वर्ष एउटा कार्यमूलक अनुसन्धान, बाल अध्ययन, पुस्तक समीक्षा शीर्षकमध्ये एउटामा अनुसन्धान गर्नुपर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.