|

तनहुँ : गतवर्ष असार २९ गते परेको अविरल वर्षापछि आएको पहिरोमा परी व्यास ९ माझफाँटका केशर थापाले परिवार पूरै गुमाए। थापाले परिवार गुमाएको मंगलबार एक वर्ष पुगेको छ। घरमाथिबाट आएको पहिरोले घर बगाउँदा थापाले श्रीमती, दुई छोरा र एक बुहारी गुमाएका थिए।

श्रीमती, ठूलो छोरा र बुहारीको शव भेटिए पनि कान्छो छोराको शव भने हालसम्म पनि भेटिएको छैन। विपत्तिले सम्पूर्ण परिवारका सदस्य गुमाएका थापा अहिले पनि मानसिक रूपमा अत्यन्त विक्षिप्त छन्। सोही विपत्तिमा परेर थापा आफैँ गम्भीर घाइते भएका थिए।

अहिलेसम्म पनि उनी वैशाखीबिना हिँड्डुल गर्न नसक्ने नेपाल रेडक्रस सोसाइटी कलेस्ती उपशाखा सभापति बाबुराम खनाल बताउँछन्। थापाको अवस्था गम्भीर भएका कारणले स्थानीय सरकार एवं सरोकारवालाहरुले चासो र तत्परता राखिदिनुपर्ने उपशाखा सभापति खनालको भनाइ छ। ‘मानवताको नाताले पनि उहाँलाई अब धेरै समय असजिलोमा बाँच्न बाध्य पारिनु हुँदैन,’ खनालले भने।

थापाको हातखुट्टा पूरा निको भएको छैन। उनी अहिले पनि हिँड्डुल गर्न वैशाखीको साहारा लिन बाध्य छन्। घर बाढीपहिरोले बगाएपछि अहिलेसम्म उनले आफ्नो बास बनाउन सकेका छैनन्।

सरकारले घर बनाइदिने भने पनि अहिलेसम्म घर बनाइदिनेबारे आफूले कुनै जानकारी नपाएको उनको गुनोसो छ। आफ्नो आवास नहुँदा थापा अहिले भाइको घरमा आश्रित छन्। आर्थिक रूपमा कमजोर उनी घर सरकारले बनाइदिएपछि सानो पसल गर्न पाए भने जिउने आधार बन्ने बताउँछन्।

‘मेरो गाँस, बास तथा कपासको व्यवस्था कसले गरिदेला?’ थापा प्रश्न गर्छन्। परिवारका सबै सदस्य गुमाएर एक्लो भएपछि उनले बाध्य भएर हालै मात्र दोस्रो विवाह गरेका छन्। ३८ वर्षीया गीतासँग अभावसँगै जीवन गुजारिरहेका थापा आयआर्जनको बाटोको खोजीमा छन्। पीडित थापाको थप उपचार आवश्यक रहेको स्थानीय पदम थापा बताउँछन्। उनले आफ्नो शारीरिक अवस्था सुहाउँदो गरिखाने आधार खोजिरहेका छन्।

‘उनले गर्नसक्ने भनेको पसल व्यवसाय नै हो। त्यसको लागि केही पढे लेखेकी श्रीमती साथमा छन्,’ पदमले भने। उनलाई गरिखाने मेलो सिकाई दिने क्रियाशील अगुवाको खाँचो रहेको पदमको भनाई छ। शारीरिक र मानसिक पिडामा परेका थापालाई स्थानीयले मानवीय सहयोग गरे पनि त्यसले पूरा आवश्यकता सम्बोधन भने हुन सकेको छैन। राज्यले पीडित थापा परिवारको अवस्थाको बारेमा ध्यान दिइ सहयोग गर्नुपर्ने स्थानीयवासी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.