|

पर्वत : गण्डकी प्रदेश सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेट बहुमतले पारित भएको छ।

प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत बुधबार बसेको २४ सौँ बैठकबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ पेश गरेको बजेटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा आर्थिक वर्ष २०७८-७९ विनियोजन विधेयक बहुमतले पास भएको हो।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार २८ गते प्रदेशसभामा पेस गरेका थिए। बजेट पास गर्नैपर्ने अवस्था रहेको बेलामा पनि विपक्षीले छलफलमा भाग नलिने तथा सदन नै अवरुद्ध गर्दै आएपछि बुधवारको २४ सौँ बैठकमा सभामुख नेत्रनाथ अधिकारीले विरोधकै बीचमा विनियोजन विधेयक अध्यादेशमाथि बिचार गरियोस् भन्ने प्रस्ताव गर्न मुख्यमन्त्री पोखरेललाई अनुमति दिए।

विपक्षीको नाराबाजी भएपछि छलफल हुने अवस्था नरहेका कारण बहुमतको आधारमा बजेट पास गर्नुपर्ने अवस्था आएपछि सभामुख अधिकारीले बजेट पास गर्ने वा नगर्ने भनी पक्ष र विपक्षमा हुन्छ वा हुँदैन भन्न लगाएका थिए। त्यही क्रममा प्रतिपक्षी दलका सांसदहरु भने संसद् भवनबाट बाहिरिए। हुन्छ भन्ने पक्षमा बहुमत पुगेपछि सभामुखले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन्।

सभामुखले लगत्तै त्यसमाथिको छलफलका लागि सांसदहरु दोबाटे विश्वकर्मा, आशा कोइराला, खिम विक्रम शाही, चन्द्रबहादुर बुढाको नाम बोलाए पनि कसैले बोल्न चाहेनन्। संसद् भवनभित्र रहेका सांसदहरूले बजेटको विपक्षमा  बोल्न नचाहेपछि सभामुख अधिकारीले कसैले पनि प्रश्न नउठाएका कारण मुख्यमन्त्रीले जवाफ दिन नपर्ने बताउँदै  छलफल पूरा भएको घोषणा गरेका थिए। 

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले बजेट न्यायोचित ढङ्गले वितरण नगरेको भन्दै एमालेले विरोध गर्दै आएको छ। यसअघि असार २७ र २८ गतेको संसद् बैठक पनि प्रदेश सरकारले रकमान्तर गरेको भन्दै एमालेले अवरुद्ध गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.