सर्वसाधारण भन्छन् : बस खोज्न कहाँ जाने ?

|

काठमाडौ : काठमाडौंको मुटुमा रहेको पुरानो बसपार्कमा अत्याधुनिक २९ तलाको भ्युटावर निर्माणको काम थालिएको आठ वर्ष बित्यो। तर, कामले गति लिन सकेको छैन। सम्झौताको आठ वर्ष बितिसक्दा निर्माणको काम चौथो तलामा अड्किएको  छ।  

महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिबीच २०७१ मा ५ वर्षभित्र १२ तला निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। सम्झौताको एक वर्षपछि २५ कात्तिक २०७२ मा तत्कालीन  उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरेका थिए।

तर महानगरपालिकाले यो निर्माणका लागि कुनै पहल गर्न सकेन उल्टै ठेकेदार कम्पनीलाई संरक्षण गरेको आरोप खेप्दै आएको छ। ठेक्का अवधि सकिएको ३ वर्षसम्म पनि कुनै प्रक्रिया बढाउन सकेको छैन। 

दुईतला निर्माण सम्पन्न गर्ने बित्तिकै बसपार्क सार्ने भनेको महानगरपालिकाले  यतिबेला बसपार्कलाई नै अस्तव्यस्त बनाएको छ। महानगरपालिकाले गत वैशाखदेखि खुलामञ्चको बसपार्क बन्दै गर्दै 'पिक एण्ड ड्रप' लागु गर्याे।

छोटो दूरीका सवारीलाई पिक एण्ड ड्रप लागु गरेको छ भने, मध्यम तथा लामो दूरीका सवारीलाई नयाँ बसपार्कबाट सञ्चालन गरिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए। भ्यु टावरमा बसपार्क कहिलेदेखि सारिन्छ भन्ने विषयमा कुनै जानकारी नभएको उनले बताए।  

महानगरपालिकाका नगर प्रहरी धनपति सापकोटाले भने भ्युटावर बनिसकेपछि बसपार्क सार्ने बताए। भ्युटावर नबन्दासम्म लामो दूरीका सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गरिने साथै छोटो दूरीका पिक एण्ड ड्रप नै लागु गरिरहेको सापकोटाले बताए। 

किन दिइयो महानगरले भ्यु टावरलाई उन्मुक्ति ?     

महानगरपालिकाले पुरानो बसपार्कमा बन्दै गरेको भ्युटावरलाई उन्मुक्ति दिएको छ। ५ वर्षमा निर्माण सम्पन्न गर्ने भनिएको यो ८ वर्ष बितिसक्दा पनि सकिएको छैन।

यसरी निमार्णमा ढिलासुस्ती हुँदासमेत महानगरपालिकाले कुनै चासो देखाएको छैन। उल्टै खुलामञ्चमा रहेको बसपार्कलाई पिक एण्ड ड्रप लागु गरिएको भन्दै सर्वसाधारणलाई अनावश्यक दुःख दिइरहेको छ। 

बसपार्क सार्न विकल्प खोजिरहेको महानगरपालिकाले पुरानो बसपार्कमा बन्दै गरेको २९ तले ‘काठमाडौं भ्युटावर’ को बस टर्मिनल तयार गराएर बसपार्क फिर्ता गर्न भने ध्यान दिएको छैन।

यही बेला ‘काठमाडौं भ्युटावर’मा चौथो तलाको काम भएको निर्माण कम्पनी जलेश्वर–स्वच्छन्द विकासका मनोज भेटवालले जानकारी दिए। भ्युटावर निर्माणको काम सुरु गराउँदा महानगरले टावरको तीन तला (बेसमेन्ट) को काम सकिनासाथ बस टर्मिनल बनाएर खुलामञ्चको बसपार्क सार्ने भनेको थियो।

उसले यही टावर बनाउन बसपार्कलाई खुलामञ्चमा सारेको थियो। अहिले भने महानगर र निर्माण कम्पनी जलेश्वर–स्वच्छन्द बिकोई दुवै टावर तयार भएपछि मात्र बसपार्क सार्न सकिने बताइरहेका छन्। 

के थियो सम्झौता?

२५ कात्तिक २०७२ मा तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनले सो टावर शिलान्यास गरेका थिए। टावर समयमै नबनाउने अनि वर्षौंसम्म  पार्किङको समस्या कायमै रहने देखिन्छ।

महानगरपालिकाले जलेश्वर–स्वच्छन्द बिकोइलाई निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा टावर निर्माणको जिम्मा दिएको थियो। पुरानो बसपार्कको खुला ठाउँलाई ३० वर्षे सम्झौता गरेर टावर बनाउन जिम्मा लगाएको महानगरपालिका काममा ढिलाइ हुँदा पनि कडा रुपमा प्रस्तुत भएको छैन।

महानगरपालिकाले नयाँ बसपार्कस्थित आफ्नो स्वामित्वमा रहेको २३ रोपनी ५ आना जग्गामा भ्युटावर बनाउने जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिलाई दिएको थियो।

सम्झौताअनुसार बसपार्कमा भ्युटावर बनाउन लाग्ने सबै खर्च जलेश्वर स्वच्छन्द प्रालिले बेहोर्ने छ र त्यसबापत उसले ३० वर्षसम्म भ्युटावरको भोगचलन गर्ने छ। कम्पनीले २ हजार सवारीसाधन राख्न मिल्ने पार्किङ, सिनेमा हल, सपिङ कम्प्लेक्स, स्विमिङ पुल सहितको अत्याधुनिक भ्यू टावर निर्माणका लागि साढे ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ।

भ्युटावर २९ तलासम्मको बनाउने योजना रहे पनि पहिलो चरणमा १२ तलाको मात्र बनाउने कम्पनीले जनाएको छ।

बस खोज्न कहाँ जाने ? 

महानगरपालिकाले छोटो दूरीको ससलाई पिक एण्ड ड्रप लागु गरेसँगै स्थानीय अलमलमा परेका छन्। रत्नपार्कबाट दक्षिणकाली जाने सवारी खोजिरहेका राजाराम सिग्देल टुँडिखेल दुई फन्को मार्दा समेत बस भेट्टाउन सकेनन्।

दुई महिनापछि असार १५ गतेदेखि जोर बिजोर प्रणालीबाट काठमाडौँ उपत्यकामा सवारी चल्न थालेको थियो। असार २२ गते मंगलबारदेखि उपत्यकामा सबै सवारी साधन सञ्चालन गर्न पाउने गरी खुला गरिए पनि बस खोज्न कहाँ जाने भनी अलमलमा पर्नु परेको भैँसीपाटी जाने सवारी कुरिरहेकी रीता मगरले सुनाइन्।

यस्तै रत्नपार्कबाट साँखु जाने बस पर्खिरहेका इन्द्रमान श्रेष्ठले बस नपाएर अलमल्ल परेको सुनाए। 

महानगर-२८ बागबजारस्थित पुरानो बसपार्क पाँच वर्षअघि भ्यूटावर बनाउन खाली गरिएपछि खुलामञ्चमा बस पार्किङ गरिँदै आएको थियो। टावर निर्माण सम्पन्न भएपछि त्यसको भुइँतलामा बसपार्क राख्ने सम्झौता महानगरपालिकाले गरेको छ। वडा नं २८ का अध्यक्ष भाइराम खड्गी बसपार्क हटाएपछि बस चढ्न कहाँ जाने भनी धेरै यात्रु वडा कार्यालयमै गुनासो गर्न आएका बताए। 

२०७३ सालदेखि  खुलामञ्चबाट उपत्यकाका विभिन्न स्थानका साथै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका विभिन्न स्थानमा समेत सवारी आवतजावत हुँदै आएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.