एमालेको अवरोध कायमै, अध्यादेशबाट बजेट पास गर्ने सरकारको तयारी

|

सुर्खेत : सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको १८ औँ बैठकको काम कारबाही सुरु गरे। हुन्छ भन्नेबित्तिकै एमालेले पुरानो बानी देखाइहाल्यो। त्यसपछि प्रमुख प्रतिपक्ष तथा एमाले संसदीय दलका नेता यामलाल कँडेलले बोल्न खोजे। 

अनि सभामुख राजबहादुर शाहीले ‘के होला माननीयज्यू एक जना उठेर बोल्नुहोस्’ भने। यामलालले बोल्न सुरु गरेपछि सभामुख शाहीले रोष्ट्रमको प्रयोग गरेर बोल्न अनुरोध गरे। तर कँडेलले आफ्नै सिटमा उभिएर सभामुखलाई धन्यावाद दिँदै बोल्न सुरु गरे। उही पुरानै कुरा। 

संसदीय दलबाट कुरा राख्न चाहन्छु भन्दै कँडेलले जेठ २४ गतेबाट चलिरहेको बैठकदेखि आजसम्म बैठक अवरुद्ध हुनुको कारणदेखि सभामुख शाहीबाट सबैको गग्भीर ध्यान आकर्षण गरिरहेको आरोप लगाए। भने, ‘आजसम्म एमालेले राखेका मागहरूको सुनुवाइ नभएका कारण बैठक अवरुद्ध हुन पुगेको हो, हामीले गत जेठ २४ देखि २७ गतेसम्म एउटै माग थियो, २७ गते सर्वोच्च अदालतले हाम्रा माननीयको पुनर्वहाली भइसकेपछि सभामुख तपाईंले नै गत जेठ ३१ गते प्रदेश सभाको बैठकमा उक्त चारै जना सांसद एमाले नै भएको पत्र सुनाउनुभएको थियो।’

‘त्यसको कार्यान्वयन आजसम्म किन भएन,’ उनले थपे, ‘दुई वटा कुराहरू हामीले निरन्तर एक महिना उठाउँदा पनि माग पनि हाम्रै माननीय सदस्यले नबुझेजस्तो गर्नुभयो,’ तर, हाम्रो कर्तव्य र दायित्व हो नथाकेर आफ्नो कुरा बुझाउनु, हाम्रो धारणा पनि त्यही हो।’

कँडेलले बैठकमा सभामुखले गत जेठ ३१ गते गरेकोे रुलिङको कार्यान्वयन गर्नुपर्ने पहिलो माग तेर्स्याए। एक महिनासम्म रुलिङको कार्यान्वय गर्ने समय, सिक्ने ठाउँ हुँदा हुँदै पनि पालना किन नभएको भन्दै प्रश्न गरे। सभामुखले गरेको रुलिङको प्रदेशसभामा पालना हुँदैन भनी उनले सोधे पनि। रुलिङ बनाउनुको औचित्य नरहेको समेत कँडेलले बताए।

एमालेका सांसदहरूलाई अन्य दलका नेताहरूका भन्दै यस्तो नहोस् भन्दै उनले त्यहाँ आक्रोश पोखे। कँडेलले भने, ‘नेकपाले उठाएका कुराका माग तत्काल पूरा गरियोस्। एक हातले ताली बज्दै सभामुख महोदय। साउन १ गतेको कुरा बजेट महत्वपूर्ण नहुने, आज अन्तिममा आउँदा बजेट महत्वपूर्ण हुने मात्रै किन? बजेट पास हुन्छ भन्ने कुरामा भर नपुर्नहोला र त्यस विषयमा समय खर्च नर्गनुहोला।’

गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएसँगै एमालेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई लगत्तै मन्त्री उपहार दिएका थिए।

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नन्दसिह बुढा छन्। 

करिब ४३ मिनेट कँडेलले बैठक सञ्चालनमा आफ्नो माग पूरा नभएसम्म अवरुद्ध जारी रहने चेतावनी दिए। त्यतिबेलासम्म एमालेका सांसद सबै आआफ्नै सिटमा बसेका थिए।

तर कँडेलले आफ्ना विचार सकिनेबित्तिकै सबै सांसदले आआफ्नो सिटबाट उठेर विरोध जनाए। सभामुख शाहीले बसेर बैठक सञ्चालनका सहयोग गर्न आग्रह गरे। र सभामुख शाहीले एकछिन आशनग्रहण गरेर 'सत्तापक्षका माननीय' भन्दै कुरा सुन्न आग्रह गरे। 

त्यत्तिकैमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रतिपक्षले उठाएका कुराहरू असाध्यै सान्दर्भिक र गम्भीर विषय रहेको भन्दै सत्तापक्षका सांसदका पनि केही कुरा सुनेर प्रतिपक्षका नेता तथा सांसदको मन पगाल्न सभामुख शाहीसँग समय मागे। त्यसपछि सभामुख शाहीले बैठक आधा घण्टाका लागि स्थगित गरे।

आज दिउँसो २ बजेका लागि भनिएको बैठक करिब ४ बजे पछि मात्रै बसेको थियो। करिब ५ बजेपछि आधा घण्टा लागि भनेर स्थगित भएको प्रदेशसभा बैठक साढे एक घण्टा अर्थात् सम्म पुनः बस्न सकेन।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको एक महिना बित्नै लाग्दासमेत कर्णाली प्रदेशसभामा अझै छलफल सुरु हुन सकेको छैन। प्रदेश सरकारले गत असार १ गते ३६ अर्ब ५४ करोडको बजेट ल्याएको छ।

त्यसयता बसेका सबै बैठक एमालेको अवरोधपछि स्थगित हुँदै आएका छन्। प्रदेशसभाको हालसम्मका बैठकहरूमा कार्यसूचीमै प्रवेश गर्न पाएको छैन। 

प्रदेशसभामा प्रस्तुत बजेट असार महिनाभित्र पारित भइसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको लगातारको अवरोधका कारण छलफलसमेत सुरु हुन नसकेको हो।

तर, सरकारले पक्षले भने अध्यादेशबाट भए पनि बजेट पास गर्ने तयारी थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.