|

बैतडी : कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गत वैशाख २० गतेदेखि जारी निषेधाज्ञा थप १५ दिन लम्बिने भएको छ।

केही खुकुलो पार्दै जिल्लामा साउन १५ गतेसम्म निषेधाज्ञा कायम रहने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। यसअघि असार ३१ सम्म जारी गरिएको निषेधाज्ञालाई जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले लम्ब्याउँदै साउन १५ सम्म कायम राख्ने निर्णय गरेको हो।

कोरोना भाइरसको संक्रमणदर घटेको भएपनि जोखिम कायमै रहेकोले केही खुकुलो गर्दै साउन १५ गतेसम्म लम्ब्याइएको हो। पछिल्लो पटक थप गरिएको निषेधाज्ञा समय बिहीबार राती १२ बजेपछि सकिँदैछ।

थप गरिएको निषेधाज्ञाको उक्त अवधिमा जिल्लाभित्र सार्वजनिक सवारी तथा निजी भाडाका गाडी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरि बिहान ७ बजेदेखि साँझ ७ बजे सम्म सञ्चालनमा आउने भएका छन्।

सार्वजनिक सवारी तथा निजी भाडाका गाडीमा सीट क्षमताको आधारमा यात्रु बोक्न पाइनेछ। यसअघि आधा सीट क्षमतामा मात्रै जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएकोमा साउन १ गतेदेखि पूर्ण सीट क्षमतामा सार्वजनिक सवारी साधन सञ्चालन हुनेछन्। 

यस्तै, रोजगारीका लागि भारत जाने नागरिकको सम्बन्धित स्थानीय तहले एन्टिजेन परीक्षण व्यवस्था मिलाउनुपर्ने निर्णय समेत भएको छ। सबै कार्यालयहरूले सार्वजनिक सेवा नियमित रूपमा प्रवाह गर्नेछन्‌। सबै प्रकारका पसलहरू बिहान ७ देखि साँझ ६ बजे सम्म सञ्चालन हुनेछन्।

विवाह ब्रतबन्ध जस्ता धार्मिक कार्य बढीमा २५ जनासम्म उपस्थित हुने र जनस्वास्थ्य मापदण्ड अपनाएर गर्न पाइनेछ।  मेला, महोत्सव, सम्मेलन र खेलकुदजस्ता गतिविधिमा भने रोक लगाइएको छ। 

कोरोना भाइरसको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि बैतडीका पहिलोपटक वैशाख २० गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो। वैशाख २० देखि शुरू भएको निषेधाज्ञा जेठ २, जेठ ३ देखि १७ सम्म र जेठ १८ देखि जेठ ३१, असार १ गतेदेखि असार १५ र असार १५ देखि असार ३१ गतेसम्म निषेधाज्ञा थपिएको थियो।

भारतसँग सीमा जोडिएको जिल्ला बैतडीमा कोरोनाकै कारण जिल्लाका हालसम्म १८ जनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.