कुल ३० लाख खर्च, दुवैको स्वास्थ्य राम्रो हुँदै

|

चितवन : काठमाडौंबाहिर पहिलो पटक गएको चैतमा बिरामीको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको चितवन मेडिकल कलेजले दोस्रो पटकमा जटिल किसिमको कलेजो प्रत्यारोपण गरेको छ।

८ वर्षभन्दा बढी समयदेखि कलेजो रोगबाट पीडित बनेका जाजरकोटका भरतविक्रम शाहीको जटिल किसिमको कलेजो प्रत्यारोपण भएको मेडिकल कलेजले जनाएको छ।

शाहीको असार १८ गते १५ घण्टा लगाएर कलेजोको सफल प्रत्यारोपण गरिएको हो। जाजरकोटको कुशे गाउँपालिका–९ का ४७ वर्षीय शाही सिरोसिस् अफ लिभरको ‘ए’ ‘बी’ ‘सी’ स्टेज मध्ये ‘सी’ चरणमा पुगेका थिए। गत फागुनमा ‘सी’ चरणमा पुगेका शाहीलाई प्रत्यारोपण नगराएको भए बाँच्न मुस्किल रहेको सिएमसीको प्रमुख कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. सञ्जय कुमार यादवले बताए।

'उहाँको पेटमा पानी भरिएको र ठूलो थियो। अल्कोहलका कारण कलेजो बिग्रिएको त थियो नै, हेपाटाइटिस ‘बी’ पनि शाहीमा थियो’, उनले भने, ‘समयमै कलेजो प्रत्यारोपण नगरेको भए थप जीवन रहन मुस्किल पर्ने अवस्था थियो।’ काठमाडौँको एक अस्पतालमा कलेजोको जाँच तथा परीक्षण गर्दै आएका शाही दुई साताअघि चितवन मेडिकल कलेज आएका थिए। 

भरतविक्रम शाहीलाई उनकी धर्मपत्नी कमलादेवी शाहीले कलेजो दिएकी हुन्। चिकित्सकका अनुसार भरतको सबै कलेजो खराब भइसकेको थियो। उनको सबै कलेजो फालेर कमलादेवीको कलेजोको ६० प्रतिशत कलेजो उनमा प्रत्यारोपण गरिएको हो।

कलेजो दिने व्यक्ति आफ्नै परिवारको सदस्य हुनुपर्ने र स्वास्थ्यस्थिति राम्रो हुनुपर्ने कानुनी प्रावधान छ। कलेजो दिने व्यक्तिमा ३० प्रतिशतसम्म कलेजो छोडेर बाँकी कलेजो अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिने डा. यादव बताउँछन्।

कलेजका विषेशज्ञ शल्य चिकित्सकहरू सर्जन डा. सञ्जय कुमार यादव, डा. एकानन्द सिंहसहित ११ चिकित्सक र १४ स्टाफ नर्स लगायतको टिमले शाहीको कलेजो प्रत्यारोपण गरेका हुन्। प्रत्यारोपणमा भारतबाट चिकित्सकहरु डा. निरभ गोयलको टिमसमेत संलग्न रहेको थियो।

कलेजो ‘डोनर’ कमलादेवी शाहीको स्वास्थ्यमा सुधार आएपछि उनलाई असार २७ गते नै अस्पतालबाट डिस्चार्ज गरिएको हो। बिरामी भरतविक्रको अवस्था पनि सुधार हुँदै गएको र यही गतिमा सुधार हुँदै गए आगामी साता डिस्चार्ज गर्न सकिने कलेजले जनाएको छ। २ देखि ३ महिनामा दुवै जनामा कलेजोको अवस्थामा वृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएर चिकित्सकहरूले बताएका छन्। त्यसपछि उनीहरू दुवै जना सामान्य जीवन बिताउन सक्छन्। 

३० लाख खर्च

चितवन मेडिकल कलेजमा भरतविक्रम शाहीको कलेजो प्रत्यारोपण गर्दा ३० लाख रुपैयाँ खर्च लागेको उनका छोरा गणेश विक्रम शाहीले बताए। ‘बुबाको कलेजो प्रत्यारोपण, औषधि र हामी यहाँ बसेर उपचार गराउँदा झण्डै ३० लाख जति खर्च भएको छ’, उनले भने, ‘अहिले बुबा र आमाको अवस्था सुधार हुँदै गएको छ।’

दुई वर्ष अघिदेखि भरतविक्रममा समस्या बढ्न थालेपछि उपचारका लागि भारत, नेपालगञ्ज र काठमाडौँका विभिन्न अस्पतालमा पुर्‍याएको उनले बताए। कतै उपचार नभएपछि चितवन ल्याइएको उनले बताए।

नेपालमै पहिलोपटक ििटी भएको बिरामीमा प्रत्यारोपण

चितवन मेडिकल कलेजमा दोस्रो कलेजो प्रत्यारोपण अघिल्लोभन्दा निकै जटिल रहेको कलेजो प्रत्यारोपणमा संलग्न सर्जन चिकित्सक डा. सञ्जय कुमार यादवले बताए। उनका अनुसार प्रत्यारोपण गरिएका बिरामी शाहीको कलेजोमा रगत जानै नसक्ने ‘ब्लकेज’ थियो। सिरोसिस् भएका १० देखि १५ प्रतिशत बिरामीमा यस्तो समस्या हुन्छ। यसलाई ‘पिभिटी’ भन्ने गरिन्छ।

कलेजोको अन्य समस्या भएपछि गरिने प्रत्यारोपणमा भन्दा यस्तो समस्यामा प्रत्यारोपण गराउनु निकै जटिल भएको यादव बताउँछन्। ‘नेपालमा नै पहिलोपटक चितवन मेडिकल कलेजमा पीभीटी भएको बिरामीमा कलेजो प्रत्यारोपण गरिएको हो’, उनले भने, ‘सोही कारणले कलेजमा गरिएको पहिलो प्रत्यारोपणमा भन्दा झण्डै तीन घण्टा बढी समय र थप व्यवस्थापन गर्नुपरेको थियो।  यस्तो बिरामीको ‘पोष्ट अपरेटिङ’ पनि निकै चुनौतीपूर्ण हुन्छ।’ प्रत्यारोपणका क्रममा झण्डैं १३ यूनिट रगत खर्च भएको थियो। अघिल्लो प्रत्यारोपणमा १÷२ युनिट रगतले नै पुगेको उनले बताए।

सामान्यतया कलेजो दूषित पानी र खाना बाट नै बिग्रन्छ।  साथैं हेपाटाइटिस ‘बी’ र ‘सी’ जो रगतको माध्यमबाट पनि सर्दछ यसलाई ‘साइलेन्ट किलर’ भनेर बुझ्ने गरिन्छ छ।

एक तथ्यांक अनुसार नेपालमा झण्डै ६० प्रतिशत कलेजो रक्सी तथा हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण बिग्रने गर्दछ। मधुमेहका कारण कलेजोमा बोसो जमेर कलेजो बिग्रने गर्दछ। नियमित अल्कोहल सेवन गर्ने व्यक्तिहरुमा १० देखि १५ बर्षपछि कलेजो बिग्रन्छ। कलेजो आफै रिजेनेरेट हुने भएकोले तत्काल समस्या नदेखिए पनि दीर्घकालमा यसले नोक्सान गर्ने गर्दछ।

हाम्रो शरीरमा ५० देखि ६०  प्रतिशत कलेजो बिग्रिसकेपछि मात्र यसको लक्षण देखिने गर्दछ। त्यतिबेला कलेजोलाई जोगाउन निकै मुस्किल हुन्छ। त्यसैले कम्तिमा पनि वर्षमा एक पटक कलेजको अवस्था के छ भनेर जाँच गराउनु अति नै राम्रो मानिन्छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.