|

सिरहा :  मुलुकभरका स्थानीय तह भ्रष्टाचारमा चुर्लुम्म डुबेको घटना कुनै नौलो होइन। अधिकांश स्थानीय तह जनताको सेवा गर्नुभन्दा पनि कसरी लुट्न सकिन्छ भन्नेतर्फ उन्मुख भएका पाइन्छन्।

जताततै स्थानीय तहका जनप्रतिनिधिलगायत कर्मचारीहरूको मिलोमतोमा व्यापक भ्रष्टाचार हुने गरेका घटनाहरु सार्वजनिक भइरहन्छन्।

यसैक्रममा सिरहा जिल्लाको औरही गाउँपालिकाले पनि पालिका सञ्चालनको क्रममा गर्ने गरेको अनियमितता लुकाउन ढाकछोप गर्न दर्ता रजिष्टरमा दर्ता नम्बर खाली ठाउँ छाडेर पछाडिको दर्ता नम्बरमा दर्ता गरेको पाइएको छ।

गाउँपालिकामा हुने गरेको भ्रष्टाचार मिलाउनका लागि अगाडिको नम्बर दर्ता गर्न छाडेर पछाडिको नम्बरमा दर्ता गरेको तथ्य फेला परेको हो। गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेको गुनासो बढेपछि गाउँ कार्यपालिकाको कार्यालय औरही पुगेका सञ्चारकर्मीहरुलाई आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालनमा रहेको बिकास निर्माणसम्बन्धी कुनै कागजात नरहेको कर्मचारीहरुले बताए।

किन दर्ता रजिष्टरमा खाली ठाउँ राखेर दर्ता गरिएको हो? भन्नेबारे प्रश्न गर्दा कार्यालयमा भेटिएको कर्मचारीले जवाफ दिन सकेनन्। यस सम्बन्धमा कार्यालयमा नभेटिएका प्रमुख प्रशासकीय अधिकृत राम नारायण साहसँग बुझ्न ९८५२८६०७८९ नम्बरमा सम्पर्क गर्न खोज्दा फोन उठेन।

आर्थिक मसान्तको अन्तिममा आएर अनियमितता र पुरानो मितिमा दर्ता गर्न प्रयोजनको लागि दर्ता रजिष्टरमा खाली ठाउँ राखेर दर्ता गर्ने गरिएको छ। यि त उदाहारणका पात्र मात्रै हुन्, यस्ता भ्रष्टाचार धन्दा धेरै हुने गरेको स्थानीयहरुको भनाइ छ।

गाउँपालिकामा सञ्चालित थुप्रै विकास निर्माण र सामग्री खरिदको सूचना गाउँपालिका वेबसाइटमा पनि राखिएको छैन। उक्त सूचनाहरू गाउँपालिकाको कार्यालयमा पनि नरहेको नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले बताए।

गाउँपालिकामा बढ्दै गएको अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक–पटक उजुरी परे पनि छानविन हुन नसकेको स्थानीयहरुको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.