ओलीले नेपाललाई स्थान नदिए विप्लव सहितको वाम एकता मोर्चा बन्न सक्ने

|

काठमाडौं : सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि बदलिएको राजनीतिक परिवेशमा एमालेको मूलधारबाट अलग देखिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रिय राजनीतिमा फेरि पनि निर्णायक भूमिका सहित देखिएका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका नेता नेपाल फेरि देउवा सरकार जाेगाउन/नजोगाउन निर्णायक बन्न सक्ने देखिएकाे हाे।

देउवा प्रधानमन्त्री नियुक्त भइसकेपछि पनि सरकार जोगाएर संसद्लाई पूर्ण कार्यकाल चलाउने वा नचलाउनेमा नेता नेपाल नै निर्णायक भएका छन्। 

देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेका २३ सांसदले विश्वासको मत दिएको अवस्थामा देउवा नेतृत्वको सरकार र प्रतिनिधिसभाको पूर्ण कार्यकाल रहन्छ। तर, नेता नेपाल समूहका केही सांसदहरूले देउवालाई विश्वासको मत दिएर भए पनि संसद् जोगाउने बताउँदै आइरहेका छन् भने केही नेता अझै पनि एमालेको एकता लागि प्रयासरत छन्।

नेता नेपाल निकट सांसद् विरोध खतिवडाले बुधबार थाहाखबरसँग भनेका थिए, ‘हामीले संसद् जोगाउनका लागि जुन कदम चालेका थियौँ। अहिले सफल भएका छौँ। यसलाई पूर्ण कार्यकाल चलाउनका लागि हामीले सोहीअनुसार निर्णय लिन्छौँ। यति भनेपछि विश्वासको मत दिने नदिने तपाईंहरूले बुझ्नुहुन्छ होला, भनिराख्नु नपर्ला।’

तर एमालेकै अर्का नेता घनश्याम भूसाल तत्काल एकताको प्रयास छोड्ने पक्षमा देखिएका  छैनन्। उनले एमाले संसदीय दलको बैठक बोलाएको बिषयमा पनि असहमति जनाएर 'संसदीय दलको बैठक भनेर खबर आएको छ। हामी अहिले एउटा विशेष अवस्थामा छौं जसका बारेमा लगातार छलफल गरिरहेका छौं। संसदीय दलको बैठकका बारेमा पनि छलफल गर्दैछौं ' भनेका छन्।

उता अर्का युवा नेता योगेश भट्टराइले एकताका लागि ओली नेपाल जस्ता नेताहरू तयार नभए उनिहरूलाई पाखा लगाएर भए पनि अगाडि बढ्नु पर्ने धारणा राखेका छन्। यद्यपि बालुवाटारबाट बालकोट पुगेपछि अध्यक्ष ओलीले अरूलाई पार्टीमा स्थान भए पनि माधव नेपालको कुनै स्थान नभएको बताएका थिए।

यसलाई दुवै खेमाका एकता पक्षधर युवा नेताहरू भने अध्यक्ष ओलीको त्यो अभिव्यक्ति आवेशजन्य मात्र भएको बताउछन्। तर एमालेमा ओलीको एक मात्र प्रतिस्पर्धी भएकोले ओलीले अरूलाई स्थान दिएर नेपाललाई बाहिर पार्न चाहेको स्पष्ट बुझ्न सकिन्छ।

यता बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा ओलीको बालकोट मन्तव्य लगत्तै नेपाल निवास कोटेश्वर पुगेर नेता नेपालबाट विश्वासको मत पाउने आश्वासन खुस्काइ सकेका छन्। ‘उहाँले सरकारमा आउन आग्रह गर्नुभयो। त्यसबारे टुंगो नपुर्‍याएको भए पनि विश्वासको मत दिनमा ढुक्क रहन आग्रह गर्नुभएको थियो,’ स्रोतले नेपालको भनाइ उदृत गर्दै भन्यो। 

यता, शुक्रबारका लागि बोलाइएको संसदीय दलको बैठकमा देउवाको पक्षमा हस्ताक्षर गरेको २३ सांसदहरूलाई समेत बोलाइएको एमाले संसदीय दलको नेता विशाल भट्टराइले बताएका छन। 

के पाक्दै छ कोटेश्वरमा? 

राजनीति शक्तिको निर्णायक बनिरहेका नेता नेपालको घरमा शीर्ष नेताहरूको दौडधूप छ। बुधबार प्रधानमन्त्री देउवा भेटेका नेता नेपाल निवासमा बिहीबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपाको महासचिव नेत्रविक्रम चन्द्र विप्लव पुगे। 

नेता नेपालका स्वकीय सचिव मोहन गौतमले नरम भाषामा भने, ‘उहाँहरू बीच पछिल्लो राजनीतिक घटनाक्रमबारे सामान्य छलफल भएको हो। कम्युनिष्ट पार्टी एकताबद्ध हुनुपर्छ भन्नेमा उहाँहरूको जोड थियो।’​

तर स्रोतका अनुसार प्रचण्ड, नेता नेपाल र विप्लवलगायत नेताहरूबीच बृहत् कम्युनिष्ट एकता बनाउने विषयमा सामान्य छलफल भएको छ।

‘उहाँहरूले अहिले एमाले एकता बनाउन लागिराख्नु भएकाे छ। तर, ओली त्यसमा सकारात्मक हुनुभएको छैन’ स्रोतले भन्यो, ‘त्यसकारण अहिले कम्युनिष्ट एकतालाई बलियो बनाएर लानुपर्छ भन्ने विषयमा सामान्य छलफल मात्रै भएको छ। त्यसमा सबै नेताहरू सकारात्मक नै देखिएका छन्।’

नेता नेपालले एमाले एकताकाे पक्षमा रहेकाे बताउँदै पूर्वमाओवादीहरूलाई एकजुट हुन प्रचण्ड र विप्लवलाई आग्रह गरेका छन्। त्यसो त बुधबार बिहान नेता नेपालले एमाले उपाध्यक्ष वामदेव गौतम र नेकपा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गरेका थिए। ​

एजेण्डामा केन्द्रित

ओली नेतृत्वको सरकार बहिर्गमन भएलगत्तै विप्लव समूह बुधबार माओवादीका अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगे। 

प्रचण्डसँगको भेटमा विप्लव नेकपाको केन्द्रीय कमिटीको निर्णयअनुसार जनमत संग्रह हुँदै समाजवादमा जानेबारे छलफल भएको विप्लव नेकपाका केन्द्रीय कमिटी सदस्य दीपक चलाउनेले बताए।

उनले भने, ‘मुख्यगरी हामी अहिले सरकारसँग हाम्रो तीनबुँदे सहमतिलाई कार्यान्वय गर्नमा पहल गरिरहेका छौँ। त्यसका लागि हामीले केन्द्रीय कमिटीको बैठकबाटै सबै शीर्ष नेताहरू भेट्ने निर्णय गरेका थियौँ। त्यसकै निरन्तरताअनुसार आज नेता नेपालसँग पनि भेटवार्ता गरेको हौँ।’

त्यसो त महासचिव विप्लवले नेताहरूसँग समसामयिक राजनीतिक विषय र जेलमा रहेका राजबन्दी रिहाइसम्बन्धी विशेष छलफल भएको फेसबुकमा लेखेका छन्।

निवर्तमान प्रधानमन्त्री ओलीले विप्लव समूहलाई शान्ति प्रक्रियामा ल्याउन ३ बुँदे सहमति गरेका थिए। तर, ओलीले सहमति टार्दै गएपछि नयाँ सरकार गठन भए लगत्तै विप्लव समूहले नयाँ सरकारलाई ध्यानाकर्षण गराइरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.