|

भक्तपुर : मध्यपुर थिमिलाई आन्तरिक तथा बाह्य पयर्टकको गन्तव्यस्थलको रुपमा विकास गर्न नगरपालिकाले शंखधरचोकदेखि बोडेसम्म सप्पदा पदमार्ग विकास गरेको छ। सोही पदमार्गको प्रचारप्रसार र नगरका सम्पदाहरुको अवलोकन गराउन बिहीबार नगरपालिकाले पत्रकारलाई सम्पदा पदयात्रा गराएको छ। 

मध्यपुर थिमिमा भइरहेको पुनर्निर्माण र विकासका कार्यलाई स्थलगत अवलोकन गरेर अनुभूति गरौं भन्ने उद्देश्यले पत्रकारहरुलाई सम्पदा पदयात्रा आयोजना गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए। पदयात्राका क्रममा नगरप्रमुख श्रेष्ठले सम्पदा पदमार्गमा रहेका महत्वपूर्ण मन्दिर, पोखरी, फल्चा, ढुंगेधारा, बिहार, दरबार, पार्कको बारेमा जानकारी दिएका थिए।

शंखधरचोकबाट शुरु भएको पदयात्रा शंखधरपार्क, बालकुमारी, वामुने टोल, विष्णुवीर, विष्णुकुन्ड, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, निगुपुखुः (दुई पोखरी) सिद्धिकाली मन्दिर परिसर, दिगु बहा, नगदेशहुँदै बोडेको कुमारी मन्दिर परिसर र पार्कमा पुगेर समापन भएको थियो। पदयात्रामा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नम्बर ४ का वडाअध्यक्ष कुमार श्रेष्ठ, नगरपालिकाका इञ्जिनियर प्रेमलाल भासिमा, विभिन्न सञ्चारमाध्यमका करिव तीन दर्जन सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।

कुनै बेला फोहोर र झारले भरिएको मध्यपुर थिमि शंखधरचोकको पश्चिमतर्फको डाँडा अहिले पार्कको रुपमा रुपान्तर भइरहेको छ। नगरपालिकाले शंखधर पार्कको रुपमा यसलाई विकास गरेको छ। पार्कमा तीन धारे ढुंगेधारा निर्माण गरिएको छ। ठाउँठाउँमा हरिया दुवो रोपिएको छ। सिँढीले पार्कलाई थप आकर्षित बनाएको छ।

बालकुमारी मन्दिरको दक्षिण पश्चिमतर्फको पोखरी जिर्ण अवस्थामा थियो। केही महिना अघि नगरपालिकाले यसको जिर्णोद्वारको थालनी गरेको छ। अहिले यसले पूर्णता पाउँदैछ। नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बिहीबार पोखरीको मुख्य प्रवेशद्वारमा गजुर पदस्थापन गरेका छन्। त्यसैगरी वामुने टोलमा वामुने गणेशको मन्दिर पुनर्निर्माणको कार्य अन्तिम चरण रहेको छ। मन्दिरको गजुरमात्र राख्न बाँकी रहेको उनले बताए। यो मन्दिर गत बैशाख ११ गते पुनर्निर्माण सुुरु गरिएको थियो।

मध्यपुर थिमि नगरपालिका भित्र शंखधरपार्क, बालकुमारी पोखरी, वामुने गणेशको मन्दिरका साथै दर्जनौं मठमन्दिर, पाटी, पौवा, पोखरी, ढुंगेधारा, बिहारलगायत सम्पदाहरुको पुनर्निर्माण तथा जिर्णोद्वार र संरक्षणका कार्य भइरहेका छन्। 

नगरपालिका जनप्रतिनिधि बहाल भएको चार वर्षमा ११३ वटा विभिन्न सम्पदा निर्माण तथा जिर्णाद्वारको काम भएका छन्। तीमध्ये २३ वटा मन्दिर, ३७ वटा फल्चा (पाटी), २५ ढुंगेधारा, २० इनार, ५ बिहार र ३ वटा दरबार छन्। सम्पदा निमार्ण तथा जिर्णोद्धारमा चार वर्षमा ७५ करोड रुपैयाँ खर्च गरिसकेको र आगामी आर्थिक वर्षका लागि थप ३५ करोड रुपैयाँ विनियोजन गरिएको नगरप्रमुख श्रेष्ठले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.