|

जाजरकोट : वर्षायाममा सडक अवरुद्ध भई यातायातका साधन नचले पछि खच्चडको सहारामा दैनिक उपभोग्य सामग्री ढुवानी हुँदै आएको छ। खच्चडमा ढुवानी गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य हिउँद समयमा भन्दा बढेको छ।

जुनीचाँदे गाउँपालिकामा हरेक सामग्रीको मूल्य २५ प्रतिशतभन्दा बढी वृद्धि भएको स्थानीय महेन्द्रबहादुर शाही बताउँछन्। ‘हाम्रोमा मात्र हो कि अन्यत्र पनि यस्तै हो,’ उनले भने, ‘हरेक सामग्रीमा २५ प्रतिशत मूल्य वृद्धि भएको छ। खोजेको बस्तु पाउन समेत मुस्किल भएको छ।’

पानीले कच्ची सडक कटान गर्नुका साथै ठाउँठाउँमा भत्किएको छ। यस्तै, खहरे खोलामा पानीको बहाव बढेका कारण यातायातका साधनहरु सञ्चालन हुन नसकेका छैनन्। भौतिक निर्माणका काम निर्माणका सामग्री नपाउँदा अवरुद्ध हुँदै आएको छ।

जाजरकोट–जुम्ला सडकखण्डभित्रको खलंगा–पाँचकाटिया जोड्ने सडक भेरी नगरपालिका–२ गारा राङसीमा पटक–पटक भत्किएपछि सञ्चालन गर्न मुस्किल भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए। ‘सडक कसरी निर्माण गरेको हो, आकाशबाट पानी झर्न बित्तिकै अवरुद्ध हुन्छ,’ उनले भने, ‘कति पटक सडक मर्मत गर्नु। हामीसँग एउटा मात्र डोजर छ। कहाँ कहाँ लिएर मर्मत गर्नु हैरान भइसक्यो।’ प्रजिअ देवकोटाले साना र आफ्नो छेउछाउँको सडक स्थानीय तहले मर्मत गर्दा हुने भए पनि नगरेको बताउँछन्। 

त्यस्तै, नलगाड नगरपालिका र जुम्ला जोड्ने सडकको सक्लामा पहिरो जाँदासडक अवरुद्ध भएको एक साता बितेको छ। यो अवधिमा पन िमर्मत नहुँदा यातायातका साधनहरु सञ्चालनमा मुस्किल भएको छ। अहिले बारेकोटमा खच्चडमार्फत दैनिक ढुवानीका काम हुँदै आएका छ। नलगाड नदीको खारास्थित काठेपुल बाढीले बगाएपछि यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ। यातायात अवरुद्ध भएसँगै झुलुङ्गे पुलमा खच्चडहरु तारेर बारेकोटमा दैनिक उपभोग्य सामग्री ढुवानी कार्य भइरहेको स्थानीय व्यापारी नीमबहादुर सिंहले बताए। 

मुख्य सडकबाहेक अन्य स्थानीय तह जोड्ने अधिकांश सडकहरु अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा खच्चडको भरमा ढुवानी गर्दा अस्वाभाविक रुपमा मूल्य बढेको स्थानीयवासीको गुनासो छ। 

डोजरले खनिएका सडकहरुमा माटो कम्जोर हुँदा पहिरो आएको स्थानीयवासीको भनाइ छ। त्यस्तै, सडक जथाभावी खनिँदा कुशे गाउँपालिका–६ जरगाउँमा १५ परिवारको बस्ने घर जोखिममा परेको छ। अहिले घर छोडेर खुला आकाशमुनि बस्न बाध्य भएको पीडित भीमबहादुर परियारले बताए। घरदेखि तल सडक निर्माण गरिँदा जमिन भाँसिएपछि गाउँलेहरुले घर छोडेको उनले बताए।

भेरी नगरपालिका–२ रिसाङस्थित गाउँमा प्राविधिकले दिएको इस्टिमेटभन्दा फरक ठाउँबाट सडक निर्माण गरिँदा १३ घर विस्थापित भएका छन्। सात घर भत्किएका छन्। त्यस ठाउँमा सडक अवरुद्ध हँुदा खच्चडकै सहारामा दैनिक उपभोग्य सामग्री ढुवानी भइरहेको छ।

कुशे गाउँपालिकाको व्यापारिक तथा पर्यटकीय केन्द्र पाँचकाटिया बजारमा सडक अवरुद्ध भएसँगै दैनिक उपभोग्य सामगी पाउन मुस्किल भएको स्थानीय व्यापारी युवराज ओलीले बताए। ‘सामग्री खच्चडमै लिन समस्या छ,’ उनले भने, ‘जाजरकोट सदमुकाममा समेत खोजेको सामग्री पाइँदैन। गाउँमा कसरी पु¥याउने? यातायात ठप्प छ। खच्च्डमा अत्यधिक चर्को भाडा छ।’

नयाँ अन्न पाकी नसकेको र पुरानो सकिएको अवस्थामा सर्वसाधारणहरु खाद्यान्नको भर स्थानीय बजार नै हुन्। स्थानीय बजारमा समेत दैनिक उपभोग्य सामग्री ढुवानी कार्य कठिन भएपछि गाउँमा खाद्यान्न अभाव देखिन थालेको छ। वर्षायाम सुरु हुनुअघि नै सबै सामग्रीको जोहो गर्न प्रशासनले आग्रह गरे पनि कसैले ध्यान नदिंदा अहिले समस्या देखा परेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.