|

भोजपुर : पौवादुङमा गाउँपालिकाका दुई हजार ७०० विद्यार्थीलाई झोलासँगै शैक्षिक सामग्री वितरण गरेको छ।

गाउँपलिकामा रहेका ३३ वटा सामुदायिक विद्यालयका बाल कक्षादेखि कक्षा–८ सम्मका करिब करिब ६० लाख रुपैयाँको सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ। विद्यार्थीलाई झोलासँगै कलम, कपीलगायत शैक्षिक सामग्री दिइएको हो।

शैक्षिक विकासका लागि गाउँपालिकाले नीति तथा कार्यक्रम तयार गरेर काम गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। ‘हामीले यहाँको शैक्षिक विकासका लागि प्राथमिकताका साथ काम गरिरहेका छौं। यहाँबाट उत्पादन भएका विद्यार्थीहरुले देशका अन्य विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण दिने लक्ष्यका साथ काम भईरहेको छ,’ उनले भने, ‘जसका लागि कम्प्युटर कक्षा, विज्ञान ल्याब, पुस्तकालय स्थापना, भौतिक विकास लगायतमा तीव्रताका साथ काम गरिरहेका छौं। यसको नजिता पक्कै पनि सुखद् हुनेछ भन्नेमा म ढुक्क छु।’

गाउँपालिकाले राष्ट्रिय अपाङ्ग पुनः स्थापना केन्द्रको सहयोगमा  विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो। केन्द्रले चीनको चाइना फाउन्डेसन फर पभर्टी एलेभेसनको संस्थासँग सहकार्य गरेर यस गाउँपालिकाका सबै विद्यालयमा सामग्री वितरण गरेको केन्द्रका कानुनी सल्लाहकार देवीराम उपाध्यायले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.