वैकल्पिक शिक्षा नहुँदा मेलापात र गोठालोमा दैनिकी बिताउँदैछन्‌ बालबालिका

|

मकवानपुर : मनहरी गाउँपालिका–४ की ८ वर्षीया सञ्जु स्याङ्तानको दैनिकी बाख्रा गोठाले भएर बितिरहेको छ। बिहानी खाना खाएर किताब बोकी स्कूल जाने बेला उनी हातमा लौरो बोकेर गोठालो निस्किन्छिन्।

कोरोना भाइरसको दोस्रो भेरियन्ट आएपछि परीक्षा हुँदाहुँदै चैतबाट बन्द भएको विद्यालय हालसम्म खुलेको छैन। न त कुनै वैकल्पिक माध्यमबाट उनले पढ्न नै पाएकी छिन्।

गतवर्ष पनि कोरोना नियन्त्रण गर्न भन्दै लकडाउन हुँदा परीक्षा नै नदिइ कक्षा १ बाट २ मा गएकी उनी यसवर्ष पनि परीक्षा नदिइकनै २ बाट ३ कक्षामा गइन्। तर, उनलाई अहिलेसम्म न आफू पढ्ने स्कूलको नाम थाहा छ, न त 'क' 'ख' 'ग'... नै आउँछ।

स्कूलमा मुस्किलले अक्षर चिन्न थालेकी उनलाई कोरोना महामारीमा लगाइएको लकडाउनले परीक्षा नदिइकनै ठूलो कक्षा त चढायो, तर, हालसम्म सामान्य पढाइलेखाइ गर्न पनि उनलाई मुस्किल छ।

कक्षा ३ मा पुगिसकेको सञ्जुलाई सामान्य 'क' 'ख' पनि आउँदैन। तर, घरायसी काम गर्न र गोठालो जान भने उनी सिपालु भइसकेकी छिन्। खाना खाइसकेपछि मध्याह्नतिर ६/७ वटा बाख्रा लिएर उनी गोठालो निस्किन्छिन्।

दिनभर बाख्रा चराएर आउने उनले गरेकी किताब नपल्टाएको महिनौं भइसक्यो। गत वर्षको लकडाउनपछि मुस्किलले पढ्ने बानी बसालेकी उनलाई अब फेरि विद्यालय जान र पढ्ने बानी बसाल्न गाह्रो पर्नेछ। 

सोही स्थानकी १४ वर्षीया बिनु तामाङ पछिल्लो रोपाइँमा मात्रै १५ दिन त मेला जान भ्याइसकिन्। आफ्नो खेतबारीमा कति दिन काम गरियो भन्ने हिसाब नगरेकी उनले पर्म तिर्न नै १५ दिन मेला गइन्।

लामो समयसम्म विद्यालय बन्द भएर पढ्न नपाएपछि अचेल उनको दैनिकी खेतबारीमै बितिरहेको छ। कोरोना नियन्त्रणको लागि भएको निषेधाज्ञाले गर्दा विद्यालय बन्द भएपछि उनलाई आजभोली मेलापात जाँदैमा भ्याइनभ्याइ छ।

‘स्कूल कहिले खुल्ने हो र पढ्न पाउने हो? पोहोर पनि त्यत्रो समयसम्म स्कूल बन्द भयो। अहिले पनि निरन्तर बन्छ छ। स्कूलमा गएर पढेका बेला त घरमा त्यसलाई दोहोर्‍याउन गाह्रो हुन्थ्यो। अहिले त स्कूल नै जान नपाएपछि घरमा पनि पढ्न सकेका छैनौँ,’ कक्षा ८ मा अध्ययनरत उनले भनिन्।

स्कूल बन्द हुनुअघि खेतबारीको सामान्यमात्रै काम जानेकी उनी अहिले भने आमासरह काम गर्नसक्ने भएकी छिन्‌। काम सिक्न पाउँदा खुशी भएकी बिनु पढाइ बिग्रने डरले भने दुखी छिन्।

‘कहिले स्कूल खुल्ला र पढ्न जाउँला झै भएको छ। खेतीपाती गर्दा गर्दै किताब नपल्टाएको महिनौं भयो। यसरी माथिल्लो कक्षा पुगेपनि केही नयाँ कुरा सिक्न नसकिने रहेछ,’ उनले गुनासो गरिन्।

बिनु कक्षामा सधै प्रथम हुन्छिन्। विज्ञान विषय मन पराउने बिनु गणितमा भने निकै कमजोर रहेको बताउँछिन्। परीक्षा नै नदिइ अघिल्लो कक्षा चढ्दा गणितमा पास भएको कुरा सम्झेर खुशी र दु:ख दुवै लाग्ने उनी बताउँछिन्। 

मनहरी–४ मसिनेमा रहेको पशुपति माविमै अध्ययनरत ममता गौतमको घर र विद्यालयको दूरी करिव ५० मिटर छ। विद्यालयको गेटैअघि उनी दिनभर पसलमा चटपटे बेच्छिन्।

उनलाई कहिलेकाहीँ विद्यालयको गेट खुल्यो कि जस्तो लाग्छ। दिनभर पसलमा बस्दा कयौं पटक उनको नजर विद्यालयको गेटमा ठोक्किन्छ। तर, गेट सधैँ बन्द नै हुन्छ।

कक्षा ७ मा दुईवटा विषयको मात्रै परीक्षा दिएकी उनी हाल कक्षा ८ मा पुगिसकिन्। तर, उनलाई अझैपनि कक्षा ७ कै कति पाठहरू अप्ठ्यारा लाग्छन्। कोरोना नियन्त्रणको लागि भएको बन्द र बन्दले गर्दा पढाइ ठप्प हुँदा आफूले विगतमा पढेको कुराहरू पनि कमै मात्रै याद भएको उनी सुनाउँछिन्।

‘सरासर सधै स्कूल जाँदा त कति कुरा बिर्सिन्छ। झन् अहिले त स्कूल जान नपाएको कति भयो। पोहोर पनि लामो समय बन्द भएर बल्ल स्कूल खुलेको थियो, फेरि बन्द भयो। अरूको जस्तो हाम्रो त अनलाइन क्लास पनि हुँदैन। अनि कसरी पढ्नु?’ उनले दुखेसो गरिन्।

स्कूलमा अनलाइन माध्यमबाट पढाइ शुरू भएपनि मोबाइल र इन्टरनेटको अभावले पढ्न नसक्ने उनी बताउँछिन्। ममताले लामो समयसम्म विद्यालय बन्द हुँदा आफूसँग पढ्ने धेरै साथीहरूले बालविवाह गरेको समेत बताइन्। पटक–पटक विद्यालय बन्द हुनु, वैकल्पिक माध्यमबाट पढाइ नहुनु र बन्दले गर्दा आर्थिक समस्या हुनुजस्ता कारणले आफ्नो साथीहरूले सानै उमेरमा विवाह गरेको उनको भनाइ छ।

पशुपति माविमा लामो समयदेखि अध्यापन गराउँदै आएका शिक्षक ईश्वर रिजालले गाउँमा मोबाइल र इन्टरनेटमा सबैको पहुँच नहुँदा हालसम्म अनलाइन शिक्षा प्रणालीको शुरूवात गर्न नसकेको बताए।

तर, लामो समयसम्म नै विद्यालय बन्द भएकोले निकट भविष्यमा भने अनलाइन शिक्षा शुरू गर्ने योजना रहेको उनले सुनाए। रिजालले असार १ गतेबाट १५ दिन विद्यालयमा विद्यार्थीहरूको भर्ना र किताब वितरण कार्य गरिएको भएपनि विद्यार्थीहरू नआएको बताए।

उनले भने, ‘किताब वितरण गरेर निश्चित पाठ दिने र घरमै पठनपाठन गर्ने बानीको विकास गराउने हाम्रो योजना थियो। तर, विद्यार्थीहरू किताब लिनै आएका छैनन्। एकदम कम अभिभावक मात्रै बालबालिकाको भर्ना गर्न र किताब लिन आउनु भएको छ।’ रिजालले किताब लिन बालबालिका विद्यालय नआएपछि आइतबारबाट शिक्षकहरूले घरदैलो कार्यक्रम गर्न थालेको बताए।

उनले ३, ४ र ५ गते विद्यार्थीहरूको घरमै पुगेर कुन माध्यमबाट पठनपाठन शुरू गर्दा विद्यार्थीको पहुँच पुग्छ भनेर तथ्यांक संकलन गरिने बताए। त्यसपछि ६ र ७ गते त्यसको मूल्यांकन गर्ने र ८ र ९ गते शिक्षकहरूलाई तालिम दिएर १० गतेबाट अनलाइन माध्यमबाट पढाउन शुरू गर्ने उनले बताए। रिजालको अनुसार तत्काललाई कक्षा ८, ९ र १० लाई मात्रै अनलाइनबाट पढाउने योजना विद्यालयले बनाएको छ।

‘परीक्षा नदिइ पुगेको कक्षामा पढ्न नसक्ने अभिभावकलाई पीर’

विद्यालयमा अध्ययनरत बालबालिकाहरू लगातार दुई वर्षसम्म परीक्षा नै नदिइ माथिल्लो कक्षामा पुगेपछि अभिभावकहरू भने चिन्तित बनेका छन्।

एकातिर आफ्ना छोराछोरी ठूलो कक्षामा पुगेको खुशी र अर्कोतिर परीक्षा नै नदिइ पुगेको कक्षाको सिकाइबारे सोचेर चिन्ता लाग्ने गरेको उनीहरू बताउँछन्।

पशुपति माविमा आफ्नो छोरीलाई पढाउँदै आएका मानव स्याङ्‍तानलाई उनको पढ्ने बानी बिग्रिएको देखेर चिन्ता लाग्छ। घरको घाँसपात र गोठालो जान आफूलाई छोरीले सघाउँदै आएपनि पढाइ रोकिँदा छोरीको भविष्य सम्झेर दु:ख लाग्ने गरेको उनी बताउँछन्।

पटक–पटक लामो समयसम्म विद्यालय बन्द हुनु र अन्य माध्यमबाट पढाइ नहुनुले पछि फर्केर विद्यालय जान छोरीलाई समस्या पर्ने हो कि भन्ने डर उनलाई छ। स्याङ्‍तानले स्कूलले वैकल्पिक शिक्षाको रूपमा अनलाइन कक्षा शुरू गरे त्यसको लागि आवश्यक व्यवस्थापन गर्ने पहल गर्ने समेत बताए।

उता रेनुका गौतमलाई भने परीक्षा नै नभई छोरो अघिल्लो कक्षामा पुग्दा पढ्न नसक्ने हो कि भन्ने पीर छ।

‘परीक्षा दिएको भए उनीहरू त्यही कक्षामा रोकिन पनि सक्थे, तर परीक्षा नदिइकनै उनीहरू अघिल्लो कक्षामा चढेका छन्। त्यो पनि पढाइ भएकै छैन। यस्तोमा तिनीहरूले के बुझ्छन् र सिक्छन् होला?’ गौतमले भनिन्।

रेनुकाको छोरो हालसालै कक्षा ६ बाट ७ मा पुगेको छ। छोरो ठूलो कक्षामा पुगेको खुशीभन्दा धेरै उनलाई पीर परेको छ।

गत वर्ष पनि केही दिनमात्रै विद्यालय गएको छोरोले घरमा कहिल्यै पढेको उनले देखेकी छैनन्। यस्तोमा राम्रो अंक ल्याएर ६ कक्षा कटाएर ७ मा पुग्दा भविष्यमा छोराले पढ्न नसक्ने हो कि भन्ने पीर परेको उनले सुनाइन्।

उनलाई छोराको पढाइको मात्रै होइन, विद्यालय बन्द भएपछि गाउँमा भइरहेको बालविवाह र बालश्रमले पनि चिन्तित बनाएको छ। आफ्नो छोरासँगै पढ्ने ५/७ जनाले पछिल्लो निषेधाज्ञामा आफूखुशी नै विवाह गरेको उनको भनाइ।

पढाइ छाडेर ट्रयाक्टर चलाउने र श्रमको लागि अन्यत्र जानेहरूको पनि संख्या बढेको भन्दै उनले चिन्ता व्यक्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.