निर्माणमा कुनै दबाब दिएको छैन : पूर्व-मन्त्री विश्वकर्मा

|

इलाम : ३ वर्षअघि अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले ‘चेन्ज एन्फा’ को नारा बोकेर चुनावमा होमिँदै गर्दा गरेको वाचामध्ये एउटा थियो ‘ ७ वटा प्रदेशमा १४ वटा ट्रेनिङ सेन्टर निर्माण।’ शान्दार मतका साथ चुनाव जितेपछि पोखरामा बहुउद्देश्‍य टेक्निकल सेन्टर बनाउने निर्णय गरे।

प्रारम्भिक चरणमा पोखरा महानगरपालिका–१५ र कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–६ को भेंडाबारीमध्ये कुनै एक ठाउँमा टेक्निकल राख्ने तयारी गरिएको थियो। एन्फाले भेंडाबारी नै रोज्यो। भेंडाबारीमा टेक्निकल सेन्टर बनाउनका लागि एन्फा लोभिनुको कारण कुमारी माछापुच्छ्रे हिमालसहित अन्नपूर्ण हिमश्रृंखला देखिनु र तत्कालीन खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको अनिच्छासमेत रहेको बताइएको छ।

भेंडाबारीमा निर्माणको तयारी थालिएको टेक्निकल सेन्टर पोखरा बसर्पाकबाट हेम्जा हुँदै लाहचोक पश्चिम धिताल गाउँ जाने बाटोमा पर्दछ। यो स्थान पोखराबाट १७ किलोमिटर उत्तरपश्चिममा रहेको छ। पोखरा–१५ को जग्गा भने नजिक पर्‍थ्यो। पोखराको बुद्धचोकबाट करिब ३ किलोमिटर नजिक रहेको यो केही होंचो ठाउँ हो। यद्वपि त्यस ठाउँबाट पनि माछापुच्छ्रे, अन्नपूर्ण हिमाल देखिन्छ। क्षेत्रफलको हिसाबले करीब २ सय रोपनी जग्गा रहेको यो ठाउँ अन्य हिसाबले उपयुक्त भएपनि केहि खोंच भएको र मन्त्री विश्वकर्माको अनिच्छा रहेका कारण टेक्निकल सेन्टर भेंडाबारी सारिएको स्रोतको भनाइ छ।

कास्की क्षेत्र नम्बर ३ मा पर्ने भेंडाबारी विश्वकर्माको निर्वाचन क्षेत्र पर्दछ। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र विश्वकर्मासहितको टोलीले गत वर्ष आयोजनास्थल हेरेर केही प्रक्रिया पूरा गरेर काम अगाडि बढाउने निर्णय लिए।

‘ड्रिम प्रोजेक्ट’ को रूपमा चर्चा गरिएको टेक्निकल सेन्टर निर्माणको लागि एन्फाले विश्व फुटबल महासंघ (फिफा) बाट प्राप्त भएको २० लाख डलर खर्च गर्नेछ। ३ चरणमा सम्पन्न हुने भनिएको आयोजनाको लागि कुल ५४ करोड ५७ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। पहिलो चरणमा २० करोड ३९ लाख रुपैयाँ लाग्ने  एन्फाले उल्लेख गरेको छ।

दुई खोलाको चेपुवामा आयोजना

एन्फाको गत माघ ६ गतेको साधारणसभाले पहिलो चरणको २० करोड बजेट पारित गरेको छ। तर, फिफाबाट आउने बजेट प्रयोगमा एन्फालाई अर्को समस्या आइपर्‍यो।  प्रस्तावित ठाउँ इदी र मर्दी खोलाको दोभानमा छ। हिउँदमा सानो हुने तर बर्खामा उर्लेर आउने मर्दी खोलाले कटान गर्ने भएकाले तटबन्धनको काम भने पहिले नै गर्नुपर्ने थियो। यसमा फिफाको बजेट प्रयोग गर्न पाइँदैन। पहिला तटबन्ध गरेपछि बल्ल फिफामा आधिकारिक रूपमा प्रस्ताव लैजानुपर्छ। 

योजना फुत्कन नदिन गत वर्ष कात्तिकबाट अध्यक्ष शेर्पाको दौडधुप पोखरातर्फ बढ्न थाल्यो। शेर्पाले पोखरामा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटे र योजनाका बारेमा जानकारी गराए। अनि प्रस्तावित ठाउँमा तटबन्धनका लागि प्रदेशसँग शेर्पाले सहयोग पनि मागे। मुख्यमन्त्रीबाट सहयोगको आश्वासन पाएपछि शेर्पा ढुक्क भएर काठमाडौं फर्किए।

सम्झौता अवधि नसकिँदै भत्कियो तटबन्ध

आयोजनास्थलको भ्रमणपछि मुख्यमन्त्रीले खेलकुदको माध्यमबाट प्रदेश चिनाउने गौरवको आयोजना भएको कारण गाउँपालिकामार्फत बजेट विनियोजन गराए।  चैत २ गतेबाट जेडिएस कन्टस्ट्रक्सनसँग ६८ लाख ७१ हजार ६९० रुपैया ५७ पैसामा सम्झौता भई तटबन्धको काम सुरु भयो। २ सय ५० मिटर लामो तटबन्ध निर्माणको काम असार २५ गतेभित्र सम्पन्न हुनुपर्ने थियो।

सम्झौता मितिभन्दा अघि नै तटबन्ध भत्किएर मर्दी खोला टेक्निकल सेन्टर निर्माणस्थलतर्फ बग्न सुरु गरेको छ। अहिले माच्छापुच्छ्रे गाउँपालिकाले तटबन्ध निर्माणका लागि ६ महिना म्याद थप गरेको उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडीले जानकारी दिइन्।

‘ काम सम्पन्न नभएकाले हालसम्म रनिङ बिलको मात्र भुक्तानी दिएका छौँ। ६ महिना म्याद थपिएको छ बर्खाको समयमा ठूलो भेल आउने भएकाले काम गर्न समस्या देखिन्छ पानीको बहाव नघटेसम्म भत्किएको तटबन्ध पुनःर्निर्माणको लागि सम्भव छैन।’

टेक्निकल सेन्टर निर्माणस्थल रहेको वडा नं–६ का वडाध्यक्ष हरिशचन्द्र ढुङ्गाना मर्दी नदी हालसम्म आयोजनास्थल सम्म नपुगेको बताउँछन्। उनका अनुसार तटबन्ध भत्किएर खोला ५० मिटर पर सरे पनि टेक्निकल सेन्टर निर्माणस्थलसम्म पुग्न अझ ५० मिटर बाँकी छ।  उनी ठेकेदार कम्पनीको काम गुणस्तरीय नहुँदा तटबन्ध भत्किएको बताउँछन्।

‘ ग्राउन्ड बनाउने ठाउँमा त आइपुग्दैन खोला त्यो सुरक्षाको लागि मात्र हो। बनाउनेहरुले कमजोर बनाएको रहेछ भेल आएको बेला भत्किएको हो। जाली हाल्नुपर्ने थियो ठेकेदारले हालेको रहेनछ’ उनले भने।

यसअघि मर्दी खोलाले पटक-पटक धार परिवर्तन गरेर बग्ने गरेको वडाध्यक्ष ढुङ्गानाले स्विकार गरे। उनले पछिल्लो धार परिर्वतन गरेर खोला हालको स्थानमा आएको बताए। ‘ खोला पुरानो स्थानबाट अहिलेको स्थानमा आफैँ आएको हो। मर्दी र इदी खोला बीचको भाग पहिल्‍यैदेखि खोला बग्ने नै हो। यसपटक बाढी आएर मात्र टेक्निकल सेन्टर बनाउने स्थानतर्फ गएको हो।’ स्थानीयले टेक्निकल सेन्टर बनाउन लागिएको स्थानमा यसअघि खेतीसमेत गर्दै आएका थिए। नदी नियन्त्रणका कामका लागि  पाँच करोड ७६ लाख रुपैयाँ आवश्यक पर्ने जनाइएको छ। मर्दी त्यही खोला हो जहाँबाट पोखरामा पानी आपूर्ति हुँदै आएको छ।

खोलाको बीचमा मेसिनरीवाल बलियो नहुने ठेकेदारको दाबी

यता, ठेकेदार कम्पनीका प्रतिनिधिले खोलाको बीचमा मेसिनरीवालले पानीको बेग थेग्न नसक्ने बताउँछन्।  ‘निर्माण कार्य लगभग सकिन लागेको थियो मेलम्चीमा बाढी आएकै बेला मर्दी खोलामा पनि बाढी आएर करिब ५० मिटर तटबन्ध बगायो। प्राविधिक रूपमा खोलाभित्र मेसिनरीबाल थेग्दैन। के गर्नु एन्फाबाट आएको डिजाइन अनुसार नै बनाउनुपर्ने थियो हामीले तोकिए अनुसार गुणस्तरिय बनाएका हौँ।’

कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधि जय बहादुर तामाङले भने, ‘खोलाको बिचमा नै बनाउनुपर्ने भएपछि खोलाको दिशा परिर्वतन गरेर भए पनि बनाएको थियौँ अहिले बाढिले बगाएपछि म्याद थपको लागि गाउँपालिकालाई आग्रह गरेका छौँ।’ एन्फाले टेक्निकल सेन्टर निर्माणको लागि तयार पारेको वातावरण मूल्यांकन परीक्षण प्रतिवेदनले समेत आयोजना नदीको किनारमा भएको कारण बाढीको जोखिममा पर्ने सम्भावना उच्च रहेको देखाएको थियो।

टेक्निकल सेन्टर निर्माणमा एन्फा पदाधिकारीबिच नै मतभेद

प्रस्तावित जग्गा वरिपरि तटबन्ध भइहाले पनि एन्फा कार्यसमिति बीचको असमझदारीले टेक्निकल सेन्टर निर्माणको लागि फिफाबाट बजेट आउनै समस्या देखिन्छ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ कार्यसमितिमा थाहै नदिई शेर्पाले ‘एकलौटी ढंगले’ योजना बनाएको आरोप लगाउँछन्। तत्कालीन खेलकुदमन्त्रीलाई खुसी पार्न अध्यक्षले काम गरेजस्तो देखाउन दौडधुप गरेको उनको आरोप छ, ‘अहिलेलाई टेक्निकल सेन्टर आवश्यक नै छैन।

हामीले चुनावको बेला बाचा गरेअनुसार ७ वटा प्रदेशमा महिला र पुरुषका लागि १-१ वटा ट्रेनिङ सेन्टर बनाउनुपर्ने थियो’ नेम्बाङले भने‘ अध्यक्षले अहिले फिफाबाट आउने रकमको ७० प्रतिशत बजेट खोलाको बीचमा लगेर खर्च गर्न लाग्नुभएको छ। खै कसलाई खुशी बनाउनको लागि हो। प्राविधिक रुपमा हेर्दा पनि सो क्षेत्रमा बाढीको जोखिम उच्च छ। खोला मैदान नजिकै आइपुगेको छ बलियो तटबन्ध नहुँदा केही समयभित्र मैदानको बिच भागबाटै बग्ने जस्तो देखिन्छ।’ 

फुटबल विकासको बृहत्तर योजना

५ सय रोपनीमा फैलिएको भेंडाबारीको यो जग्गामा एन्फाको योजनाअनुरूप अभ्यासका लागि ४ खेल मैदानसहित होस्टेल, जिम हल, गेस्ट रुम, स्विमिङ पुल, पुस्तकालय रहने गरी संरचना बनाउनेछ।

एन्फाले टेक्निकल सेन्टरको लागि १,७९,२०८.५७ वर्गमिटर अर्थात् ३५३ रोपनी जग्गा आवश्यक पर्ने जनाएको छ। गाउँपालिकाले सरकारी पत्ती जग्गा भएकोले उपलब्ध गराउन प्रक्रिया अघि बढाइसकेको छ। केही स्थानीयले आफ्ना नाममा भएको जग्गासमेत आवश्यक पर्ने भएपछि उपलब्ध गराएका छन्।

सो स्थानमा दुई फुटसल मैदान, दुई ट्रेनिङ मैदान तथा एक मुख्य मैदान सहित चार छात्रवास, दुई छात्रावास, दुई एक्जिक्युटिभ ब्लक, दुई पाहुना ब्लक, क्यान्टिन, प्रशासन भवन, जिम, मेडिकल तथा पुन:स्थापना सेन्टर, स्टाफ क्वाटर, ट्रेनिङ व्लक, आर्टिफिसियल मिनि पिच, दुई विच फुटबल ग्राउन्ड निर्माण हुनेछ।

४० जना महिला र ४० जना पुरुष खेलाडीलाई प्रशिक्षण गराउने एन्फाको योजना हो। अन्तर्राष्ट्रिय प्रतियोगिता समेत सोही स्थानमा गराउन सक्ने गरी एन्फाले ५ हजार दर्शक अट्न सक्ने मैदान निर्माणको लक्ष्य राखेको छ। गत पुषमा टेक्निकल सेन्टर निर्माणको लागि गरिएको सार्वजनिक सुनुवाईमा स्थानीयले आफूहरूलाई जानकारी विना खेलमैदान बनाउन लागेको भन्दै असन्तुष्टि जनाएका थिए। तर, सडक, खानेपानी, नदी नियन्त्रण लगायत अन्य विकासका योजनाहरु समेत गाउँमा आउने आश देखाएपछि टेक्निकल सेन्टर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

बजेट आउनेबित्तिकै काम अघि बढाइने : शेर्पा

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले वातावरण मूल्यांकन प्रतिवेदन फिफामा पठाइएकाले बजेट आउनेबित्तिकै टेन्डर आह्वान गरेर टेक्निकल सेन्टर निर्माणको प्रक्रियालाई अघि बढाइने बताए। उनले फिफाको मात्र नभएर नेपाल सरकारको समेत लगानी सो आयोजनामा रहने बताए। शेर्पाले प्रचार गरिए जस्तो मर्दी खोला आयोजनास्थल तर्फ नपसेको दाबी गर्छन्।

‘ अहिले भत्किएको ड्यामबाट झन्डै १ सय मिटर पर हामीले टेक्निकल सेन्टर बनाउन लागेका हौँ। आयोजनास्थलमा गएर हेर्न सक्नुहुन्छ। कतिपय मानिसहरू टेक्निल सेन्टर नबनोस भनेर विरोध पनि गरिरहेका छन् तर कुनै पनि हालतमा टेक्निकल सेन्टर भेंडाबारीमा नै बन्नेछ। यो नेपाली फुटबल विकासको लागि मेरुदण्ड हो’ शेर्पाले भने ‘फिफालाई वातावरण मुल्यांकन परिक्षण र आयोजनाको बारेमा डिपिआर समेत पठाएका छौ पास भएर केही समयभित्र नै बजेट आएपछि टेन्डर खोलेर काम अघि बढाउँछौँ।’

उनले मन्त्री खुशी बनाउन लागेको आरोप खण्डन गर्दै भने ‘ कसैलाई खुशी बनाउनका लागि योजना त्यहाँ पारिएको हैन्। पोखरामा पनि जग्गा थियो तर भविष्यमा थप संरचना बनाउनका लागि नपुग हुने देखेपछि भेंडाबारी रोजेका हौँ।’

कसैको दबाब प्रभाव केही छैन : पूर्व-खेलकुदमन्त्री विश्वकर्मा

आफ्नो अनिच्छाको कारण पोखरामा टेक्निकल सेन्टर नबनाई माच्छापुच्छ्रे गाउँपालिकामा लगिएको तर्क निराधार भएको पूर्व-खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बताए। उनले उपयुक्त स्थानको खोजी गर्दै जाँदा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भेंडाबारी फेला परेकाले टेक्निकल सेन्टर त्यहाँ बनाउन लागिएको बताए।

उनले एन्फा अध्यक्ष शेर्पाले भने जस्तो टेक्निकल सेन्टरमा नेपाल सरकारको लगानी नभएको बताए। ‘एन्फाको आफ्नो प्रोजेक्ट हो। नेपाल सरकारको बजेटबाट बन्दै छैन। पोखरामा टेक्निकल सेन्टर बनाउने चर्चा चल्दा उपयुक्त सार्वजनिक जग्गा भेंडाबारीमा भेटिएकाले त्यही बन्दै गरेको हो। न कसैको दबाब न प्रभाव’ उनले भने।

पोखराको १५ नम्बर वडामा समेत जग्गा हेरिएको थियो त्यहाँ किन बनाइएन? भन्ने थाहाकर्मीको प्रश्नमा जवाफ दिँदै विश्वकर्माले भने, ‘पोखराका जनप्रतिनिधि र खेलसम्बद्ध व्यक्तिहरूसँग अन्तरक्रिया गर्दा उहाँहरूले पोखरा महानगरपालिका वडा नं १५ र माच्छापुच्छ्रे गाउँपालिकाको भेंडाबारीमा जग्गा सिफारिस गर्नुभएको थियो।

पोखराको जग्गामा प्रहरीको तालिम केन्द्र बनाउने प्रक्रिया अघि बढेको कारण हामीले भेंडाबारीको जग्गालाई अघि बढाएको हौँ। म आफैँ पोखराबासी भएकाले जहाँ बनेपछि फाइदा सबैलाई हुने नै हो नि। टेक्निकल सेन्टर भनेपछि ठूलो मात्रा जग्गा चाहिने हुन्छ त्यसको लागि पोखरामा अन्यत्र सरकारी जग्गा पाइएन्।’

आफूले दबाब दिएर टेक्निकल सेन्टर क्षेत्र नं ३ मा लगेको भन्ने आरोप निराधार भएको बताए, ‘जसरी मेरो दबाबमा जबरजस्ती खोलामा बनाइएको भन्ने आरोप छ त्यो निराधार हो। ठूलो मात्रामा जग्गाको सानो भाग खोलाले लगेको हो त्यसलाई बलियो तटबन्ध गरेर अघि बढाउने हो भने खोलाले क्षति गर्दैन। पोखराबाट नजिकैको क्षेत्र पर्ने भएकाले यसको फाइदा सबैले लिन सक्नेछन्’ उनले भने।

मर्दी खोलाको कटान नियन्त्रणको लागि सम्बन्धित निकायमा पहल गर्नेसमेत उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.