|

तनहुँ : घिरिङ गाउँपालिका–२ चिन्ने खोलाका शेरबहादुर थापाले विगत केही वर्षदेखि अदुवाखेती गरिरहेका छन्।

शुरुमा निर्वाहमुखी रुपमा मात्रै अदुवाखेती गर्दै आएका थापाले गत वर्षदेखि अदुवाखेतीलाई व्यावसायिक बनाएका छन्। घिरिङ गाउँपालिकाले अदुवाखेती गर्ने किसानलाई अनुदानको व्यवस्था गरेपछि थापाले अदुवाखेतीलाई व्यावसायिक बनाएका हुन्।

“अदुवाखेती गरेको त थुप्रै वर्ष भयो तर बेच्ने हिसाबले भन्दा पनि आफैले प्रयोग गर्ने गरी खेती गरिरहेको थिएँ‚” उनले भने, “तर स्थानीय सरकारले व्यावसायिक रुपमा खेती गर्नेलाई अनुदान दिने व्यवस्था मिलाएपछि यसलाई व्यावसायिक बनाउनेतर्फ लागेँ।” हाल उनले चार रोपनी क्षेत्रफलमा अदुवा खेती गरिरहेका छन्।

घिरिङ गाउँपालिका–१ अत्रौलीका रोमनाथ पोख्रेलले पनि दुई रोपनी क्षेत्रफलमा बेसारखेती गरिरहेका छन्। “रोपनी भन्दामाथिको जग्गामा खेती गर्नेलाई अनुदान दिने व्यवस्था ल्याएपछि खेतीलाई विस्तार गरेँ,” उनले भने, “अनुदानले हामी जस्ता किसानलाई राहत मिलेको छ।”

घिरिङ गाउँपालिकाले अदुवा र बेसारखेती गर्ने किसानलाई अनुदानको व्यवस्था मिलाएपछि किसान यसतर्फ आकर्षित भएका छन्। गाउँपालिकाले गत आर्थिक वर्षमा गाउँपालिकाभित्रका नौ किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ। निर्वाहुमखी खेती गर्ने किसानलाई व्यावसायिक बनाउँदै गाउँपालिकालाई अदुवा र बेसारमा आत्मनिर्भर बनाउन अनुदानको व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष रनबहादुर थापाले बताए। उनले भने‚ “यो शुरुवात हो, प्रत्येक वर्ष किसानलाई उत्पादनका आधारमा अनुदान दिन्छौं।”

उनका अनुसारप्रति रोपनी पाँच हजार रुपैयाँका दरले किसानलाई अनुदान वितरण गरिएको छ। अदुवाखेती गर्ने सात किसानलाई एक लाख ४० हजार र बेसारखेती गर्ने दुई किसानलाई २० हजार रुपैयाँ अनुदान दिइएको छ।

गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिने व्यवस्था आगामी आर्थिक वर्षमा पनि मिलाएको अध्यक्ष थापाले बताए। “यसले गर्दा किसान यसको खेतीतर्फ आकर्षित हुने विश्वास लिएका छौ,” उनले बताए।

गाउँपालिकाले लसुन र प्याजखेती गर्ने किसानलाईसमेत अनुदान वितरण गर्दै आएको छ। गाउँपालिकाले लसुन र प्याजखेती गर्ने किसानलाई पनि प्रति रोपनी पाँच हजारका दरले अनुदान रकम वितरण गरेको छ। गाउँपालिका अनुसार १८ जना किसानलाई उक्त अनुदान रकम वितरण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.