|

काठमाडौं : मकवानपुर हेटौंडाका रोयल बानियाँले  २०७७ को माघको अन्तिमतिर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)को सामान्य चिकित्सक विषयको प्रथम वर्षको परीक्षा दिए।

अघिल्ला वर्षझैं दुई महिनाभित्रमा नतिजा प्रकाशित हुने उनकाे आशा थियाे। नतिजा प्रकाशितपछि रोजगारी अवसर खोज्ने र अझै माथिल्लो तहमा व्यवहारिक ज्ञान सिक्न उनी ढुक्कले बसेका थिए। तर उनको यी इच्छा अहिलेसम्म पूरा हुन सकेको छैन। नतिजा पर्खिरहेको पाँच महिना बितिसक्यो। तर अहिलेसम्म सिटिइभिटीले नतिजा नै प्रकाशन गर्न सकेको छैन।  

कोभिड-१९ संक्रमणको त्रासमा बसिरहेका उनी भविष्य नै अन्धकारतिर धकेलिएको गुनासो गर्छन्। भन्छन्, ‘परीक्षा दिएको लामो समयसम्म पनि सिटिइभिटीले नतिजा प्रकाशित गरेको छैन, किन यसरी विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको हो, थाहा भएन।’ 

परीक्षा नतिजाबारे सिटिइभिटीसँग बुझ्दा अब प्रकाशित हुन्छ भन्दै आश्वासन मात्रै दिएको उनी सुनाउँछन्। ‘समयमा नतिजा प्रकाशित नहुँदा धेरै राम्रो रोजगारी पाउने अवसर गुमिरहेको छ, मैले तीन वर्षको तालिम लिएको थिएँ, प्रथम वर्षपछि दोस्रो वर्षको तहमा अध्ययन गर्नुपर्ने इच्छा पनि रोकिरहेको छ,’ उनले भने।

सिटिइभिटीले समयमा नतिजा प्रकाशित नगर्दा बानियाँको मात्रै नभई लाखौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेको उनको भनाइ छ। 

‘म मात्रै पीडित होइन, देशभरका लाखौँ विद्यार्थी मजस्तै नतिजा कहिले प्रकाशित हुन्छ भन्दै पर्खिरहेका छन्, पहिला परीक्षा भएको दुई महिनामै नतिजा प्रकाशित हुन्थ्यो, यसपालि त ६ महिना पुग्न लागिसक्यो, खै प्रकाशित नै भएन,सिटिइभीटीको धेरै बदमासी देखियो,’ उनले भने। 

सिटिइभिटी भन्छ : कोभिडका कारण नतिजा प्रकाशनमा ढिलाइ भयो

यता,सिटिइभिटी भने नतिजा प्रकाशित नहुनुको कारण कोभिड-१९ संक्रमण देखाएको छ। सिटिइभिटीका सूचना अधिकारी अनिलमणी बज्राचार्यले कोभिड-१९ कारण समयमा उत्तर पुस्तिका जाच्न नसकिँदा नतिजा प्रकाशित गर्न नसकिएको बताए। 

भने, ‘समयमा नै नतिजा प्रकाशित गर्ने हाम्रो लक्ष्य थियो, तर कोभिड-१९ ले लकडाउन भयो, काम गर्न पाइएन, त्यसैले पनि समयमा नतिजा प्रकाशित गर्न सकिएन,तैपनि हामी विभिन्न तहअनुसार नतिजा प्रकाशित गरिरहेका छौँ,अरु विस्तारै प्रकाशित गर्दै जान्छौँ।’ 

उनले यो हप्ताभित्रमा सामान्य चिकित्सक विषयको नतिजा प्रकाशित हुने जानकारी दिए। उनका अनुसार आर्किटेक्चर, सिभिल, इलेक्ट्रोनिक्स, होटल र रेफ र एसी तेस्रो सेमेस्टर परीक्षाको नतिजा प्रकाशित भइसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.