|

सर्लाही : सर्लाहीको बागमतीस्थित निर्माणाधीन भरत तालमा डुबेर बेपत्ता भएको २४ घण्टा बितिसक्दा समेत युवकको अवस्था पत्ता लाग्न सकेको छैन। 

हिजो दिउँसो तालमा माछा मार्न गएका बागमती नगरपालिका– १ मिलनचोकका १८ वर्षीय सुशान्त थापा मगर बागमती नगरपालिकाले वडा नं. १२ मा १२१ बिघा क्षेत्रफलमा निर्माण गरिरहेको भरत तालमा डुबेर बेपत्ता भएका थिए।

माछा मारेर हातखुट्टा धुन गएका थापा दिउँसो ४ बजेतिर तालमा डुबेका हुन्। डुबेका थापालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर राति अबेरसम्म खोजी गरेका थिए। 

पुनः आज बिहानबाट दिउँसो साढे तीन बजेसम्म तालमा सञ्चालित बोट र नेपाली सेनाको अर्को एउटा बेग्लै बोटको सहायताले तथा पौडी खेलेर खोज्दा पनि युवकको अवस्था थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादवले जानकारी दिए।

उनले भने, 'सेना, प्रहरी र सशस्त्रको टोलीले बिहानैदेखि खोजी गरिरहेका छौं, तर फेला परेका छैनन्, बीच भागमा निकै गहिरो भएकाले खोजी कार्यमा समस्या भइरहेको छ।'

थापासँगै तालमा माछा गर्न पुगेका अरू ५/६ जना भने पौडी खेलेर बाहिर निस्किएका थिए।

तालमा बागमती नदीको पानी ल्याएर हालिएको थियो। निर्माणाधीन ताल दुइ खण्डमा बाँडिएको छ। दक्षिण खण्डमा पानी सुकिसकेको छ भने उत्तर खण्डको बीच भागमा थोरै पानी देखिन्छ।

गिट्टी बालुवा निकाल्दा तालको मध्य भागमा ३० फिट बढी गहिरो बनाएकोले यस्तो अप्रिय घटना भएको स्थानीयले आरोप लगाएका छन्। अहिले ताल सुकेका कारण सो तालमा माछा मार्न स्थानीय पुग्ने गरेका छन्। यस्तै, तालमा घुमफिरका लागि पुग्नेहरू पनि संख्या ह्वात्तै बढेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.