|

लमजुङ : असार महिना सकिँदा लमजुङमा करिब ८५ प्रतिशत रोपाइँ भएको छ। यस वर्ष पर्याप्त पानी परेका कारण आठवटै स्थानीय तहमा छिटो रोपाइँ भएको हो।

कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीले समयमै पानी परेकाले मुल फुटेको खेत, भलपानी छोप्नुपर्ने खेत र खोलाको किनारमा रहेका खेतलगायत अधिकांश ठाउँमा रोपाइँ सकिसकेको बताए। मकै ढिलो पाक्ने खेतहरुमा भने रोपाइँ बाँकी रहेको छ। 

केन्द्रका अनुसार लमजुङको ४५ हजार ५० हेक्टर क्षेत्रफल  खेतीयोग्य जमिनमध्ये १६ हजार ६१२ हेक्टरमा धान खेती हुँदै आएको छ। यस्तै, ९१० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदै आएको छ।

दोस्रो लहरको कोरोना भाइरस संक्रमण जोखिमसँगै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण अन्य क्षेत्रमा प्रभाव पारे पनि जिल्लामा यस वर्ष पनि धान रोपाइँ बढ्ने अनुमान छ। अघिल्ला वर्षहरुमा बाँझो रहेका जमिनहरुमा गत वर्ष पनि रोपाइँ केही प्रतिशत बढेको थियो।

यसवर्ष पर्याप्त जनशक्ति र समयमै वर्षा भएको र समयमै खेत रोपाइँ सुरु भएकोले धान उत्पादन पनि बढ्ने अनुमान गरिएको हो। रोपाइँ हुने खेतमध्ये गत वर्ष ९० प्रतिशतभन्दा बढी खेतमा रोपाइँ भएको केन्द्रले जनाएको छ।

लमजुङमा सुनौलो सुगन्ध, रामधान, जेठोबुढो, एक्ले, सुक्खा २, सावित्री, लोकतन्त्र,  गोरखनाथ, युएस ३१२, मकवानपुर, मनसुलीलगायत जातका धान लगाउँदै आएका छन्। गत वर्ष चैते धानबाहेक ४४ हजार १४५ मेट्रिक टन धान उत्पादन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.