|

ॐ स्वप्रकाश आनन्द—स्वरूप भगवान शिवलाई नमन। चैतन्य आत्मा हो। ज्ञान बंध हो। योनीवर्ग र कला शरीर हो। उद्यम नै भैरव हो। शक्ति चक्रको माध्यमबाट विश्व संहारको मार्गमा जान सक्दछ। शिव सूत्रमा उल्लेखित यो श्लोकले व्यक्तिको आत्मजागरण र चैतन्य स्वरूपको बोधलाई स्मरण गराउँछ।

अर्थात भनिन्छ-

ॐ नमः श्रीशंभवे स्वात्मानन्दप्रकाशवपुषे।

चैतन्यमात्मा,ज्ञानं बन्धः।

योनीवर्गः कलाशरीरम्।

क्समो भैरवःशक्तिचक्रसंधाने विश्वसंहारः।

श्रावण अर्थात साउन महिनालाई शिवको आराधना गर्ने, अझ श्रावणको सोमबार महिलाहरूले भगवान शिवको ब्रत बसी आफ्ना श्रीमानको स्वास्थ्य र दीर्घायुको कामना गर्ने संस्कारको रूपमा मान्ने गरिएको छ।

आजकल श्रावण भन्नासाथ महिलाहरूको हातमा मेहन्दी लगाउने, हरियो, पहेँलो पहिरन र शृङ्गारले सु–सज्जित हुने महिनाको रूपमा प्रचलित हुँदै आएको छ। यसले प्राकृतिक रुपमा हरियाली भएको मौसम, सांस्कृतिक र धार्मिक रूपमा भगवान शिवको महत्व दर्साउँछ। तर, आध्यात्मिक पाटोलाई हाम्रो अभ्यासबाट छुटाउन मिल्दैन।

मानिसको जीवन बहुआयामिक पक्षबाट चलेको हुन्छ। जसमा सांसारिक, भौतिक, सांस्कृतिक, धार्मिक र सामाजिक मान्यतासँगै आध्यात्मिक बोध पनि जोडिएर आएको हुन्छ। बोध विनाको कुनैपनि प्रचलनको अर्थ रहँदैन।

वास्तविक बोध, संस्कार र मर्यादा त ध्यान नै हो जुन मनुष्यलाई बचाई राख्न र पृथ्वीलाई जीवित राख्न आवश्यक छ। ओशोले आफ्ना हरेक प्रवचनमा र विशेष गरी शिव सूत्रमा भगवान शिव र शिवले दिएका ध्यान विधि र मानिसको जीवनमा ध्यानको महत्व बारे बताउनुभएको छ।

जीवनमा सत्य खोज

भगवान शिवको देशनालाई आधार मानेर ओशो बताउनुहुन्छ-सत्यको खोज गर्ने दुई मार्ग हुनसक्छन्–एक आक्रमण, हिंसा र होडबाजीको मार्ग। अनि दोस्रो-समर्पण र प्रतिक्रमण मार्ग। त्यसैले विज्ञान, तर्क र प्रयोगात्मक अभ्यास आक्रामक माध्यम बन्न सक्दछ।

अस्तित्वले धर्म, व्रत, समर्पण र प्रतिक्रमणको मार्गको रूपमा महिला स्वभावलाई चुनेको हुन्छ। त्यसैले त पुरुषले महिलाको लागि व्रत बस्ने, धर्म संस्कारको पालना गर्ने भन्ने प्रसंग कतै आएको छैन। पुरुषले गरेको व्रत, उपासना उसको आफ्नै स्वास्थ्यको लागि हुने। तर, महिलाले गरेको व्रत उपासनाले पुरुषको जीवनमा सुख, स्वास्थ्य र समृद्धिको महत्व राख्छ भने यसमा आपत्ति मान्नुपर्ने पनि छैन। 

प्रार्थना, उपासना र समर्पण स्त्री गुण हुन् भनेर व्याख्या गरिएपनि यी गुण पुरुषमा हुँदैनन् भन्ने छैन किनकी यो त व्यक्तिबाट भन्दा पनि समर्पणको भावबाट फलित हुने गुणवत्ता हो। प्रेमपूर्ण, विनम्रता र प्रार्थना त हृदयबाट प्रस्फुटन हुने गुण हुन्।

मस्तिष्क मात्र सक्रिय हुने बुद्धिमानीबाट प्रार्थना सम्भव छैन। धैर्यता र संयमता पनि त्यत्तिकै जरूरी हुन्छ। समर्पण र प्रार्थनाको लागि त्यसैले यो गुण स्त्री जातिमा हुन्छ। अस्तित्वले गुणवत्ताको आधारमा स्त्री, पुरुषको स्वभावलाई छुट्टयाएको छ। स्वभावका आधारमा महिला पुरुषजस्तो र पुरुष महिलाजस्तो भएको पाएकै छौँ हामीले समाजमा। 

समर्पण र आक्रमण

पूर्वीय सभ्यता, धर्म, शास्त्र र मान्यतामा परमात्मा प्रतिको आस्था र भक्ति अनि प्रार्थनाबाट शुरू हुन्छ। यो संस्कार केवल औपचारिकता मात्र होइन, केवल एक परम्परा र रीति मात्र पनि होइन। यो मार्ग समर्पणको हो र जसमा धैर्यता र विनम्रता छ, समर्पणमा उपलब्ध हुन सक्दछ। 

जो आक्रामक छ, अहंकारले भरिपूर्ण छ- सत्यता पनि प्रमाणको आधारमा तुरुन्तै देख्न चाहन्छ। अझ भनौं सत्यतामा पनि आफ्नो हैकम जमाउन चाहन्छ। ऊ अस्तित्वको द्वारमा साधक भएर होइन, एक सैनिकको रूपमा प्रस्तुत हुनपुग्छ। विजय प्राप्त गर्ने अभिलाषा हुनेले हार खान पनि तयार रहनुपर्दछ।

त्यसैले विज्ञान या तर्कले व्यर्थको खोजमा सार्थक तत्वलाई गुमाएको हुन सक्छ। संसार बुझाउने र चिनाउने चिजले पदार्थको जानकारी त देला। तर, परमात्मा अर्थात् परम चेतनाको अनुभूतिलाई पछाडि नै छोडेको हुन्छ।

दृश्य भन्दा भित्र द्रष्टा पनि हुन्छ, विश्लेषण भन्दा गहिराइमा अनुभूति पनि हुन्छ। प्रकृतिले जोड्ने काम गर्छ, अनि विश्लेषणले तोड्ने काम। त्यसो हो भने हाम्रो जीवनशैली प्राकृतिक स्वभावमा चलेको छ या विश्लेषणात्मक रूपमा?

एउटा वैज्ञानिकले फूलको सौन्दर्यता बुझाउनुपर्‍यो भने त्यसलाई तोडेर फोडेर जाँच परीक्षण गरेर मात्र बताउन सक्दछ। फूलभित्र छिपेको रसायन, पदार्थ र खनिज के के तत्वको व्याख्या गर्नुपर्ने हो त्यसबाट मात्र उसले जानकारी दिन सक्दछ। तर, एउटा ध्यानी र आध्यात्मिक व्यक्ति या सहज र सरल व्यक्तिले फूलको सौन्दर्यलाई केवल महसुस र अनुभूतिले आफ्नो हृदयमा बसाउन सक्दछ।

एउटा सूत्रलाई बुझे पुग्दैछ। तर, एउटा कविताको मर्म बुझ्न २–४ पटक हृदयबाट पढ्नुपर्दछ। त्यसैले भन्न सकिन्छ-गणित छिट्टै समाप्त हुन्छ। अनि कविता कहिल्यै समाप्त हुँदैन। यो हृदयमा बसेपछि बस्यो। यहि नै हो समर्पण र आक्रमणको स्वभाव। यहि स्वभावबाट जीवनका कर्म निर्धारित भएका हुन्छन् अनि परिणाम पनि।

जीवनमा सत्यताको दिशा खोज्ने क्रममा हाम्रो भाव दशा र मनोदशाको पनि त्यत्तिकै महत्व रहन्छ। रोगलाई थाहा पाउन स्वास्थ्य अनुभूति गरेको हुनुपर्दछ। प्रेमको अनुभूति गर्न काम, क्रोध,लोभ, मोह, ईर्ष्या र द्वेषबाट मुक्त हुनै पर्दछ।

 धर्म उद्दार हो या व्यवसाय?

एक चिकित्सकले धेरै मेहनत गरेर आफ्नो छोरालाई पनि चिकित्सक नै बनाएका थिए। जब, छोराको पढाई सकियो तब बुबाले भने, 'बाबु, अब तिमीले ३ महिना मेरो व्यवसाय सम्हाल। जीवनभर परिश्रम गरेँ, कमाएँ, तिमीहरूलाई पढाएँ, तर कहिल्यै विश्राम पाइन। अब तिम्री आमा र म ३ महिना छुट्टी लिएर घुमघाम गरेर आउछौँ।'

बाआमा छुट्टीमा निस्के र ३ महिनापछि घर फर्के। छोरालाई सोधे, 'बाबु! व्यवसाय सबै ठीकसँग चलायौ नि, कुनै कठिनाइ त आएन?'

छोराले भने, 'सबै ठीक छ बुबा! अरु त अरु तपाईंले वर्षौं ठिक पार्न नसक्नु भएको एक बिरामीलाई मैले ३ महिनामा पूरा ठिक बनाएँ। तपाईंले ठिक औषधि नै प्रयोग गर्नु भएको रहेनछ बुबा ! बुबा टाउको ठोकेर रून थाले –छोरा तैंले सत्यानाश पारिस् । मैले सहि औषधि दिन नजानेर होइन यो बिरामी त हाम्रो व्यवसाय हो। यो बिरामी ठिक भएको भए तेरो पढाइको फी कहांबाट ल्याउथे मैले ? तेरा भाइबहिनी कसरी पढाउथें मैले ?

जो आक्रामक छ, अहंकारले भरिपूर्ण छ- सत्यता पनि प्रमाणको आधारमा तुरुन्तै देख्न चाहन्छ। अझ भनौं सत्यतामा पनि आफ्नो हैकम जमाउन चाहन्छ। ऊ अस्तित्वको द्वारमा साधक भएर होइन एक सैनिकको रूपमा प्रस्तुत हुन पुग्छ। विजय प्राप्त गर्ने अभिलाषा हुनेले हार खान पनि तयार रहनुपर्दछ।

धर्म र परम्पराले वास्तवमै धार्मिकताको विकास गरेको छ या परम्परा धानेको हो? मन्दिरमा बालेको दियोले मन्दिरमात्र उज्यालो भयो या हाम्रो मन पनि? हाम्रा कर्मकाण्ड र मान्यताले जीवन रूपान्तरणमा कस्तो प्रभाव पार्‍यो? यी सबैको परिणाम हाम्रो संस्कार र व्यवहारले उजागर गर्ने तथ्य हुन्।

सत्य बोध गर्ने तरिका

ओशो भन्नुहुन्छ–सत्य त प्रत्येक व्यक्तिको स्वयं भित्र विराजमान छ। यो न बाहिर खोजेर मिल्छ, न कसैसँग मागेर पाइन्छ न त बजारमा किन्न नै पाइन्छ। बाहिरबाट सिकेका र जानेका अध्ययन र ज्ञानले पनि सत्यको उजागर हुँदैन। जीवनमा जे चिज श्रेष्ठ छ, त्यो नै सत्य हो। जुन कर्म गर्दा आफूलाई सन्तोष मिल्छ, आनन्दको अनुभूति हुन्छ-त्यो कर्म नै सत्य कर्म हो।

मंगल भावना र मंगल आचरण व्यवहारमा सफलीभूत हुनु सत्यताको लक्षण हो। सन्तुलनको जीवनशैली सत्यताको परिचय हो। भावनात्मक स्थिरता विकास, रचनात्मकता वृद्धि, स्वयंमा प्रसन्नता र समृद्धि अनि सहज बोधको विकास हुनु जीवन सत्यताको मार्गमा छ जान्ने मापन हो।

सत्यताको यात्रामा रहेको व्यक्तिमा मानसिक शान्ति एवम्‌ स्पष्टता झल्किन्छ, चिन्ता होइन चिन्तनमा मस्त हुन्छ। व्यक्ति सधैँ जागृत अवस्थामा रहन्छ र मनोवृत्ति प्रसन्न र प्रफुल्ल रहन्छ।

जबसम्म आफैँभित्रको परम चैतन्य, चेतनाको स्तरबाट बोध गर्न सकिन्न तबसम्म सत्य भेटिन्न। ध्यानको नियमित अभ्यास र अनुभूतिबाट मात्र यसलाई बोध गर्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.