|

काठमाडौं : एमाले उपाध्यक्ष भीम रावलले आइतबार साँझ सांसद पदबाट राजीनामा दिएपछि अछामी जनतासँग माफी मागे। नेता रावलले आफ्नो निर्वाचन क्षेत्र अछामका जनतासँग सामाजिक सञ्जाल ट्विट्रमार्फत माफी मागेका हुन्।

उनले ट्विटरमा माफी मागेपछि सामाजिक सन्जालमा विभिन्न खाले प्रतिक्रियाहरु आइरहेका छन्। केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको यो कदमलाई राजनीतिक संस्कारसँग जोडेर उनको प्रशंसा गरिरहेका छन् भने केहीले उनको आलोचनासमेत गरिरहेका छन्।

​यस्तै, उनको निर्वाचन क्षेत्रमा अझै पनि सुविधाजनक इन्टरनेट सेवाको पहुँच पुग्न नसकेकोमा उनले ट्विटरमार्फत माफी मागेको भन्दै नकरात्मक टिप्पणीहरुसमेत भइरहेका छन्।

उनले मतदातासामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचाअनुसार अनैतिक र दूषित राजनीतिको मतियार नहुन आफूले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएको भन्दै रावलले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा मागेका छन्।

रावलले सामाजिक सञ्जाल ट्विटमा लेखेका छन्, ‘जनता,विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दूषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छ। अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।’

भीमबहादुर रावल नेपालका पूर्व-गृहमन्त्री हुन्। संविधानसभाको निर्वाचन २०६४ मा उनी समानुपातिक तर्फबाट मनोनीत हुन् भने ०७० को निर्वाचनमा नेपाली कांग्रेसलाई झण्डै ५ हजार मत अन्तरले हराएका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.