|

गुल्मी : मदाने गाउँपालिका–६ मा निर्माणधीन विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन्। भारतीय राजदुतावासबाट प्राप्त धाराचौर आधारभुत विद्यालयको १६ कोठे भवन निर्माण कार्य अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएको प्रधानाध्यापक विष्णु घिमिरेले बताए।

भवन निर्माणका २०७३ मा प्रवेश वसिष्ठ शुभनारायण जेभी कन्स्ट्रक्सन काठमाडौंले ९९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौतामा २०७५ असोजमा निर्माण कार्य सम्पन्न गर्ने उल्लेख छ। तर, दुईपटक म्याद थप गर्दा पनि काम पूरा नगरेकोे प्रधानाध्यापक घिमिरेले बताए। म्याद थप गर्ने समयमा आएर काम गरे जस्तो गर्ने र त्यसपछि सम्पर्कमै नरहने गरेको उनको भनाइ छ।

पछिल्लो पटक थप गरिएको म्याद अनुसार २०७७ माघमा निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर, निर्माण कार्य करिब २५ प्रतिशत बाँकी रहेको विद्यालयले जनाएको छ। 

यता निर्माण व्यवसायी दिनेश लामाले साउनभित्रै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने बताए। भुइँ ढलान र साइड पेटीको काम मात्र बाँकी रहेको बताउँदै उनले दुई चार दिनभित्रमा कामदार र निर्माण सामग्री पठाउने बताए। उनले आफू विद्यालयकै सम्पर्कमा रहेको दाबी गरेका छन्। केही साताअगाडि जिल्ला समन्वय समिति गुल्मीका समन्वय अधिकारीसँग पनि सम्पर्क भएको उनले दाबी गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.