|

जुम्ला : चन्दननाथ नगरपालिका–१ की ५८ वर्षीया बास्मति कुलाल हरेक बिहान ५ बजे जवा नदी किनारमा पुग्छिन्। नदीको बालुवा निकाल्ने र बेच्ने उनी साँझसम्म किनारमै भेटिन्छिन्।

जवा नदीको बालुवा बेचेर गुजारा चलाउने बास्मति मात्र होइनन्। चन्दननाथ–१ कै धनमाया कुलालले पनि दिनभरि निकालेको बालुवा बेचेर घर खर्च चलाउँदै आएकी छन्। 

‘हामी नदी किनारमै खाना खान्छौं। नदी किनारमै ठेकेदार बालुवा लिन आउँछन्। किनारमै रुपैयाँ दिन्छन्। फर्कन्छन्,’ धनमायाले भनिन्, ‘एक दिनमा १५ बोरासम्म निकाल्छौं। एक टिपर निकाले तीन हजारदेखि चार हजार रुपैयाँसम्म दिन्छन्।’ एक टिपर बालुवा संकलन गर्दा ५०० रुपैयाँ नदी किनारमा भएको जग्गाधनीलाई दिनुपर्ने उनले बताइन्।

उनीहरुजस्तै कम आय स्रोत भएका अन्य महिलाहरु पनि खर्चको जोहो गर्न नदी किनारबाट बालुवा निकाल्दै आएका छन्। जवा नदीसँगै हिमा र तिला नदीमा पनि बालुवा निकालेर जीविको चलाउनेहरु धेरै छन्। 

बालुवा निकाल्न विद्यालय जाने उमेरका बालबालिका समेत नदी किनारामा पुग्ने गर्छन्। विद्यालय बन्द भएकाले बालुवा निकाल्न बालबालिकाहरु जाने गरेको उनिता कुलालले बताइन्।

बालुवा बेचेर आएको आम्दानीले दैनिक उपभोग्य सामाग्री चामल, तेलका साथै लुगाफाटो, किताब, कापी र कलम किन्ने गरेको उनीहरुले सुनाए। नदीमा पानीको बहाव बढेकाले बालुवा निकाल्दा जोखिम बढेको उनिताले बताइन्। यस्तै, नदीमा फ्याकिएका सिसाले काट्ने पनि डर भएको उनले सुनाइन्। 

यस क्षेत्रका करिब २०० जना महिलाले बालुवा निकालेर जीविका चलाउँदै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.