नेताहरूको ध्यान नगरसभापति र वडाबाट प्रतिनिधि चयनमा केन्द्रित

|

भक्तपुर : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिएसँगै भक्तपुरमा पनि यसको सरगर्मी शुरू भएको छ।

जिल्ला, क्षेत्र र नगर सभापतिमा आकांक्षीहरूले टोल-टोल र वडा-वडामा क्रियाशील सदस्यहरूसँग भेटघाट, भेला र कोठे बैठकलाई तीव्रता दिएका छन्‌। स्थानीय चोकचोक र चिया गफमा समेत कांग्रेस अधिवेशनबारे चर्चा-परिचर्चा हुन थालेको छ।

पार्टीको १३ औं अधिवेशन दौरान जिल्ला सभापतिको पहिलो चरणको निर्वाचनमा दुर्लभ थापा, अष्टकुमार कवे, राजाराम खड्का र गणेशमान चक्रधरले प्रतिष्पर्धा गरेका थिए। कवे र खड्का कोइराला–पौडेल खेमा तथा थापा र चक्रधर देउवा खेमाका भएपनि एक आपसमा सहमति हुन नसक्दा चारै जनाले पहिलो चरणमा सभापतिमा प्रतिष्पर्धा गरेका थिए। 

तर, कसैले पनि विधान बमोजिम ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा थापा र कवेबीच निर्वाचन भएको थियो। जसमा थापाले चक्रधर र खड्का समूहको सहयोगमा बाजी मारेका थिए। 

भक्तपुरमा कांग्रेसका विभिन्न समूह क्रियाशील रहेको देखिन्छ। जसमध्ये पार्टी सभापति दुर्लभ थापा, अष्ट कवे, गणेशमान चक्रधर, कविर राणा, विनोद प्रसाद कायष्ठ, महेश श्रेष्ठलगायतको समूह जिल्लामा क्रियाशील रहेको स्रोतले बताएका छन्‌। 

कवे, श्रेष्ठ, राणा र कायष्ठ कोइराला–पौडेल समूहका हुन भने थापा र चक्रधर  देउवा पक्षका हुन्‌। यसका अलावा विभिन्न नेताहरूको उपसमूह पनि रहेको छ । जसको चलखेलले पनि जिल्लाको समीकरण र निर्वाचन परिणाममा बदलाव आउन सक्छ।

केन्द्रको समीकरणले पनि जिल्लामा प्रभाव पार्ने भएकाले भक्तपुरमा क्रियाशील समूहहरूमध्ये अहिले नै यस्तै समीकरण बन्ने छ भन्ने आंकलन गर्न नसकिने अवस्था छ।

यद्यपी; केन्द्रमा विकसित नयाँ समीकरणसँगै नेतापुत्रत्रय विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीचको बाक्लो हिमचिम र भेटघाटको असर जिल्लामा पनि पर्न थालेको छ।  

स्रोतका अनुसार भक्तपुरमा कवे, श्रेष्ठ, राणा र कायस्थबीच गठबन्धन हुने पक्का भएको छ। चक्रधर समूह पनि कवेसँग गठबन्धनको तयारीमा रहेको बुझिएको छ।

चक्रधरको समूहमा रहेका महासमिति सदस्य मदनकृष्ण श्रेष्ठ, चक्रधर र कवेलाई केन्द्रीय नेतृत्वले एक ठाउँमा उभिन सुझाएको स्रोतले बताए। यस्तो अवस्था आए यसपटक दुर्लभ थापाको टोलीले विभिन्न असन्तुष्ट समूह र स–साना उपसमूहलाई एकीकृत गरेर अघि बढ्ने तयारीमा रहेको बुझिएको छ। 

यतिबेला सबै समूह आफ्नो रणनीति तय गरेर वडा र नगर समितिका उम्मेदवार चयन गर्ने र नगर सभापतिसहित वडा वडाबाट प्रतिनिधि आफ्नो पक्षमा ल्याउने तयारी गरिरहेका छन्‌। 

मध्यपुर थिमि नगरसमितिको सभापतिमा चक्रधरले यसअघि पराजित भएका हरिदास प्रजापतिलाई अघि सारेका छन्‌। त्यसैगरी थापा समूहले अहिलेकै सभापति सुरेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। 

कवेको समूहमा भने आकांक्षी धेरै भएकाले कसलाई अघि सार्ने भन्ने निर्क्योल नभएको बुझिएको छ। यस समूहमा वडा नं. २ का वडाअध्यक्ष एवम् वडा सभापति राम थापा मगर, नगर समिति सदस्य अनिल श्रेष्ठ, तरुण दलका पूर्वजिल्ला अध्यक्ष श्रीकृष्ण श्रेष्ठ सभापतिका आकांक्षी देखिएका छन्‌। त्यसैगरी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले पनि नगर सभापति बन्ने आकांक्षा व्यक्त गरेका छन्‌।

​त्यस्तै, महेश श्रेष्ठले ओमप्रकाश श्रेष्ठलाई नगर सभापतिमा अघि सार्ने तयारी गरेको स्रोतले बताएको छ। यद्यपी; कवे, श्रेष्ठ र चक्रधरको समूहबीच एकता भए यस समूहबाट मध्यपुर थिमिमा कवेले चाहेका व्यक्ति सभापतिका उम्मेदवार बन्ने बताइएको छ। 

स्रोतका अनुसार कोइराला–पौडेल खेमाले सूर्यविनायक नगर सभापतिमा कविर राणा समूहका रवि राणालाई उठाउने भएका छन्‌। साविक अनन्तलिंगेश्वर नगर उपसभापति रहेका राणा वरिष्ठ पत्रकार एवम् कांग्रेस नेता कविर राणाका भाइ हुन्‌।

​सूर्यविनायकमा कांग्रेस संस्थापन पक्ष देउवा खेमाका दुर्लभ समूहले जिल्ला सचिव निशान ढुंगेललाई उठाउने तयारी गरेको छ। ढुंगेल स्वयम्ले सभापति लड्ने इच्छा गरेका हुन्‌। 

त्यसैगरी चाँगुनारायण नगरपालिकमा कोइराला–पौडेल खेमाबाट चक्रधर समूहका शिवहरी केसीलाई नै सभापतिमा दोहोर्‍याउने तयारी गरेको छ। के सी वडा नं. २ का वडाअध्यक्ष समेत हुन्‌। थापा समूहले चाँगुनारायणमा साविक महामञ्जु श्री नगरकोट नगर सभापति यादव प्रसाद अधिकारीलाई उठाउने तयारी गरेको स्रोतले बताए। यस समूहबाट जनक खत्री पनि आकांक्षी रहेको स्रोतको भनाइ छ।

भक्तपुर नगर सभापतिमा थापा समूहले अहिलेकै सभापति राम कासुलालाई अघि सार्ने तयारी गरेको छ। त्यस्तै राजेन्द्र तमाखु, रत्नसुन्दर खाइतुले पनि भक्तपुर नगर सभापतिमा आकांक्षा व्यक्त गरेका छन्‌। यहाँ कोइराला–पौडेल खेमाका कवे समूह कसलाई नगर सभापतिको उम्मेदवार बनाउने भन्ने बारे छलफल मै रहेको बुझिएको छ। यहाँ राणा र कायष्ठको पनि प्रभाव भएकाले तीनै पक्ष छलफलमा रहेको बताइएको छ।

भक्तपुरमा प्रदेश सभा निर्वाचन क्षेत्र समिति र प्रतिनिधि सभा क्षेत्रीय समितिका आकांक्षीहरू खुलेर सार्वजनिक भएका छैनन्। जिल्ला सभापतिको उम्मेदवार बन्न कांग्रेसमा पहिला महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था छ।

अहिले नै जिल्ला सभापतिको उम्मेदवार घोषणा गर्दा महाधिवेशन प्रतिनिधिमै पराजित हुने हो कि भन्ने डरले नेताहरू खुल्न नचाहेको बताए पनि केही नेताहरू भने खुल्न थालेका छन्‌। 

हाल महाधिवेशन प्रतिनिधि समेत रहेका कवेले जिल्ला सभापतिमा उठ्ने जानकारी दिए। उनले त्यसका लागि वडा वडा र टोल टोलमा भेला र बैठक गरी तयारीलाई तीव्रता दिएको बताए। उनले नगरका सभापतिहरूका लागि छलफल भइरहेको तर आकांक्षी धेरै भएका कारण टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ।

उनले भने, ‘नगर सभापतिका आकांक्षी धेरै छन्‌। दुईचार दिनमा यसको पनि टुंगो लाग्छ। सकेसम्म छिटो निर्णय गर्ने योजना छ, तर साथीहरूसँग छलफल भैरहको छ।’

जिल्ला सभापति थापाले सभापतिमा दोहोर्‍याउने भन्दा पनि साथीहरूको सरसल्लाहमा तल्लो तहदेखि जिल्लासम्म सबै ठाउँमा सबै साथीहरूलाई समेटेर निर्विरोध गरी जाने योजनामा रहेको बताए। यसका लागि व्यापक छलफल भैरहेको उनले जानकारी दिए।

उनले भने, ‘अहिलेको विषम परिस्थितीमा निर्वाचनमार्फत भन्दा पनि सहमति र सहकार्यमा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल भइरहेको छ। साथीहरू सकारात्मक छन्‌।’

उनले जिल्लामा समीकरणको कुरा हल्ला मात्र भएको दाबी गर्दै सबैलाई समेट्नेगरी नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए। उनले आफ्नो समूह र अरू जिल्लास्तरीय नेताहरूको सुझावमा आफु सभापतिमा दोहोर्‍याउने वा नदोहोर्‍याउने निर्णय गर्ने बताए। 

चक्रधरले पनि समीकरणको कुरा हल्ला मात्र भएको प्रतिक्रिया दिए। उनले समूहका साथीहरूको सहयोग भए जिल्ला सभापतिमा आउने इच्छा रहेको बताए।

पूर्व जिल्ला सभापति समेत रहेका चक्रधरले नगर सभापतिको विषयमा उम्मेदवारी दर्ता गर्ने बेला मात्र टुंगो लाग्ने उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.