|

सिरहा : सिरहाको माडरमा रहेको सिरहा भन्सार कार्यालयले २० करोड ९३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा दिइएको लक्ष्यभन्दा १ करोड ६२ लाख ९८ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको हो। १९ करोड ३० लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको सिरहा भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को अन्तिम दिनसम्म २० करोड ९३ लाख ९३ हजार रुपैयाँ संकलन गरेको छ।

माघदेखि असार महिनासम्ममा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेपनि लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व संकलन भएको सिरहा भन्सार कार्यालय, माडर सिरहाका प्रमुख जगदीशकुमार पुर्वेले जानकारी दिए।

क्वारेन्टाइन र विषादी परीक्षण गर्ने ल्याब सिरहामा नभएको र लकडाउनका कारण समस्या परेपनि समग्रमा लक्ष्यभन्दा बढी नै राजस्व संकलन गरिएको बताए।

सिरहा भन्सार कार्यालयले कपडा, मोटरपार्ट्स, टायल्स, मार्बल, ग्रेनाइट र ताजा तरकारीबाट राजस्व संकलन गरेको भन्दै कार्यालय प्रमुख पुर्वेले फाटफुट रूपमा दैनिक उपभोग्य, लत्ताकपडा र स्पेयर पार्ट्सबाट पनि राजस्व संकलन भएको बताए।

सिरहा भन्सार कार्यालयका अनुसार साउनमा २ करोड ६८ लाख ९० हजार, भदौमा २ करोड १९ लाख ३८ हजार, असोजमा ३ करोड २७ लाख ६० हजार, कात्तिकमा २ करोड १० लाख २२ हजार, मंसिरमा २ करोड ९८ लाख ८४ हजार, पुसमा २ करोड ४ लाख ९ हजार, माघमा १ करोड ३३ लाख २ हजार, फागुनमा ९४ लाख ८८ हजार, चैतमा १ करोड ३६ लाख ७१ हजार, वैशाखमा १ करोड ७६ लाख, जेठमा ३५ लाख ६४ हजार र असारमा ५७ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा सिरहा भन्सार कार्यालयले लक्ष्य भन्दा ५ करोड ४९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो। १० करोड ७८ लाख २४ हजार लक्ष्य रहेकोमा १५ करोड ४९ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। 

त्यस्तै २०७६/०७७ मा सिरहा भन्सार कार्यालयले लक्ष्यभन्दा करिब २ करोड ५६ लाखभन्दा कम राजस्व संकलन गरेको थियो। २० करोड ३० लाख ८ हजार लक्ष्य रहेकोमा १७ करोड ७३ लाख ४० हजार मात्र राजस्व संकलन भएको पुर्वेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.