रोकथामका लागि सेना, सशस्त्र प्रहरीसहित स्थानीय जुटे

|

जनकपुधाम : सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण धनुषा भएर बग्ने कमला नदीमा आएको बाढीले किरतपुरमा पश्चिमतर्फको ६ सय मिटरभन्दा बढी बाँध कटान गरेको छ भने बाँध नै सबै भत्काउने खतरा बढेको छ।

सोमबार राति कमला नदीमा आएको बाढीले सबैला नगरपालिका–१३ किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान गरेको हो।

धनुषातर्फ किरतपुर र ढोलबज्जामा कमलाको बाढीले बाँध कटान गरेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले बताए। कटानबारे माथिल्लो निकायमा जानकारी गराएको उनले बताए। अर्थ मन्त्रालयले विपद् नियन्त्रण गर्ने अपातकालीन बजेट कटौती गरेका कारण बाँध बचाउन समस्या भएको उनको भनाइ छ। भने, ‘कटान क्षेत्रमा बाँध बचाउन र मर्मत गर्न बजेट अभाव छ।’

बाढीले बाँध कटान गरेको स्थानमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी मिलेर बालुवा भरिएको बोरा र रूख काटेर बाँध बचाउन जुटेका छन्।

बाँध कटान भएको स्थानमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, धनुषाका एसपी प्रकाश रानाभाट, जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष रामदेव यादव, कमला नदी नियन्त्रण आयोजनाका जनकपुर प्रमुख एकराज भट्टराई समेतका जिम्मेवार निकायको टोलीले अवलोकन गरेका छन्।

बाँध कटान क्षेत्र अवलोकन गरेका सिडिओ बास्तोलाले बाँध कटान गर्न थालेपछि बाढीले डुबान हुन सक्ने क्षेत्रमा प्रहरी परिचालन गरी स्थानीयलाई सतर्क गराइएको बताए।

बाढी बस्ती क्षेत्रमा पस्ने सम्भावना हाललाई टरेको भए पनि बाढीले सहिदनगर नगरपालिका, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र सबैला नगरपालिकाका गाउँ डुबानमा पर्ने खतरा रहेको प्रजिअ बास्तोलाले बताए। 

महोत्तरीका दर्जन बस्ती बाढीको उच्च जोखिममा

त्यसैगरी सोमबारदेखि परेको लगातारको वर्षाले महोत्तरीका दर्जन बस्ती बाढीको उच्च जोखिममा परेको छ।

महोत्तरीस्थित मुख्य नदीहरू रातु, विग्ही,जंघा,बाँके र मरहामा चुरे तथा मधेश क्षेत्रमा केही दिनदेखि भइरहेको निरन्तर वर्षा र सोमबार साँझदेखि भएको लगातारको वर्षाले पानीको सतह बढ्न थालेपछि बस्ती उच्च जोखिममा परेका हुन्।

निरन्तरको वर्षाले गत वर्ष समेत भत्केको तटबन्धहरूले बस्तीमै पानी पस्ने सम्भावना रहेको र यसै वर्षको वर्षाले समेत विभिन्न स्थानमा तटबन्धहरू भत्किन थालेपछि खतरा बढेको हो।

यता रातु नदीकै छेउमा रहेको हुलाकी सडकको बल्वा नगरपालिका-१ बन्चौरी सडकखण्डस्थित पुलको माटो र छेकवार कटान भएकोमा सडक नै बन्द हुने अवस्थामा पुगेको छ।

सोमवार रातु,जंघा र विग्ही नदीका विभिन्न जोखिम भएका क्षेत्रहरू निरीक्षण गर्न तटबन्धमै पुगेका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले निरीक्षणपश्चात् नदीको माथिल्लो भेगमा चौडाइ अत्यधिक भए पनि तल्लो क्षेत्रमा नदीहरू साँघुरिएकाले पानीको वेग र घनत्व बढ्न गई तल्लो क्षेत्रको नदीस्थित तटबन्धहरूमाथि दबाब परेको र अधिकांश कमजोर रहेका तटबन्धहरू तोड्न सक्ने सम्भावना रहेकोले बस्तीहरू उच्च जोखिममा रहेको बताए।

सहायक प्रजिअ न्याैपानेले बल्वा नगरपालिकाको वडा नं. १,३ र ४ नं. वडाका बन्चौरी, तिलगढ, धमौरालगायत क्षेत्रमा तटबन्ध निरीक्षण गरेका थिए। बन्चौरीको चार स्थान, तिलगढको तिन स्थान र धमौराको दुई स्थानमा तटबन्ध भत्किन थालेको हो।

तटबन्धहरू टुटे तिलगढ,बन्चौरी,बदिया,गोरगामा र गोनरपुरालगायत विभिन्न बस्ती डुबानमा पर्ने अवस्था छ। 

सहायक प्रजिअ न्यौपानेसँगै जनताको तटबन्धका प्रमुख इन्जिनियर राजेन्द्र प्रसाद देव, बल्वा नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्याम कुमार साह, सशस्त्र प्रहरीका एसपी सुरेश सापकोटा तथा जनताको तटबन्धका इन्जिनियर तथा प्राविधिकहरू तथा संचारकर्मीसमेत निरीक्षण टोलीमा सहभागी थिए।

बल्वा नगरपालिका १ का वडाध्यक्ष श्याम कुमार साहले जनताको तटबन्धको ढिलासुस्तीले बस्तीहरू जोखिममा परेका दाबी गरेका छन्। गत वर्षदेखि नै तटबन्ध निर्माणका लागि जनताको तटबन्धलाई गुहार्दासमेत पीडा नसुनिएको उनले बताए। 

अहिले हजारौं मानिस बाढीको डुबानमा पर्ने खतरा बढेको पनि उनले बताए। असार र श्रावण वर्षाको समय भएकोले यस समय तटबन्ध मर्मत गर्दा तटबन्ध मजबुत नहुने र पानीको बेगले कटान गर्ने खतरा रहेको भनाइ छ। उनले हाल पनि सडक र नदीका विभिन्न भागमा कटान हुन थालेका छन्। यस्तो बेलामा गरिएका मर्मतको खासै अर्थ नरहेको उनले बताए। 

यता औरही नगरपालिकाको औरही गौशाला जोड्ने पुलको छेउ तथा फुलकाहा स्थित मुस्लिम टोलमा समेत जंघा नदीले कटान गरेकोमा उक्त क्षेत्र समेत निरीक्षण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले तत्काल उच्च जोखिममा स्थानहरू पुनः मर्मतको लागि प्रयास गरिने वताए।

निरीक्षणकै क्रममा जनताका तटबन्धका प्रमुख देवले केन्द्रबाट तटबन्ध मर्मतको लागि पैसा आउन ढिलो हुँदा समयमै तटबन्ध मर्मत हुन नसकेको बताए। केही स्थानमा उधारोमै मर्मत गर्नुपरेको र अझै रकम अपुग भए पनि व्यक्तिगत हिसाबले 'रिक्स' मोलेर मर्मतलाई निरन्तरता दिएको उनले बताए।

उनले अस्थायी रुपमा मर्मत गरेर बाढी नियन्त्रण हुन नसक्ने भन्दै सरकारले पर्याप्त बजेट र समयमै रकम दिए बाढी नियन्त्रणमा सहजता हुन सक्ने बताए। प्रमुख देवले असार मै समेत काठमाडौं बसेर केही रकम ल्याएर काम अगाडि बढाएको जनाए।

महोत्तरीको भौगोलिक अवस्था

महोत्तरी १००२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। औसत लम्बाई (उत्तर-दक्षिण) ५८ किलोमिटर र औसत चौडाइ (पूर्व-पश्चिम) १८ किलोमिटर रहेको महोत्तरीमा २०६८ को जनगणनाअनुसार एक लाख ११ हजार ३१६ घरधुरीमा ६ लाख २७ हजार ५८० मानिस बसोबास गर्छन्।

यताको मुख्य खोलाहरू रातु,मरहा,जंघा,बांके,विग्ही,भव्सी र अंकुशी रहेको छ भने सो मध्येका रातु,भव्सी,जंघा,मरहा र बाँके चुरेक्षेत्रबाट जन्मेका हुन्।

यता बडहरी,औहरी खोला(विग्ही) धनुषाबाट बग्दै महोत्तरी आउने गर्छ। यसका अलावा रुपनी, गेरुकी (पूर्व),गेरुकी(पश्चिम),जिवछी,अंकुशी र कन्तवालगायत सहायक खोलाहरू महोत्तरीमा छन्। 

वर्षातको समयमा चुरे क्षेत्रबाट ग्राभेल र माटो बगाएर ल्याउने तथा भावर र समथर क्षेत्रमा थुप्रिने गरेको छ। यसले नदीको सतह भरेर ग्राभेल र माटोसँगै आउने पानीले बाटो खोज्दै नदीकै छेउमा तटबन्ध भएको अवस्थामा कमजोर स्थानको तटबन्ध तोड्दै मानव बस्ती र खेतीयोग्य जमिनमा पस्ने गरेकोले क्षति पुर्‍याउने गरेको छ।

छैन पूर्वतयारी

कुनै पनि बाढी मानव बस्तीमा पसे पूर्वतयारीको अवस्था लगभग शून्य छ। महोत्तरीमा बाढी बाँध वा तटबन्ध टुटे मानव बस्तीमै पसे धनजनको क्षति कम गर्न विपद व्यवस्थापन समितिले पूर्व तयारी पूर्ण रुपमा गर्न सकेको छैन।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले स्थानीय निकायसँग विपद् व्यवस्थापनका लागि भएका रेस्क्युको साधन स्रोतको सूचीसमेत उपलब्ध नभएको बताए।

यता रातु र जंघा नदीको बर्दिवासस्थित पुलमुनि लगाइएको पूर्वसुचना प्रणालीले जिल्लामा क्षतिको भार कम गर्न भने मद्दत पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.