|

काठमाडाैं : नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) ले आज विश्व बैंक र अन्तराष्ट्रिय व्यापार केन्द्र (आइटिसी)सँग छलफल गरेको छ।

एइसीका सभापति अरुणराज सुमार्गीले प्रदेश २ का मन्त्री विजय कुमार यादवसमक्ष केन्द्रले कृषि क्षेत्रमा गर्न चाहेको काम र प्रदेश सरकारबाट अपेक्षा गरिएका सहयोगबारे बताएका छन्। 

छलफलमा मन्त्री यादवले प्रदेश नम्बर २ सिंगै कृषियोग्य भूमि भएकाले प्रदेश सरकारबाट निजी क्षेत्रलाई कृषिमा लगानीका लागि आह्वान गरेका थिए। प्रदेश २ सरकारले लगानीकर्ता र निजी क्षेत्रसँग सहकार्य चाहेको मन्त्री यादवले बताए। यस क्रममा कृषि विकासका लागि कृषि उद्यम केन्द्रसँग मिलेर काम गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो। 

कलैयामा ठूलो कृषि उपज उत्पादनका लागि जग्गा तयारी अवस्थामा भएको र तत्काल काम सुरु गर्ने नीतिगत सहयोगको अपेक्षा गरिएको त्यस क्रममा सभापति सुमार्गीले मन्त्री यादवलाई बताएका थिए। 

मन्त्री यादवले यसअघि पनि निजी क्षेत्रसँग साझेदारी गर्न बजेटको व्यवस्था गरिए पनि काम हुन नसकेको गुनासो गरेका थिए। सुमार्गीले अहिले महासंघमा नयाँ टिम आएकाले घोषित कार्यक्रम कार्यान्वयन हुँदैनन् कि भनेर शंका नगर्न पनि आश्वस्त पारेका थिए। 

त्यस क्रममा नेपाली कफीको विश्व बजारको सम्भावना, बजारीकरण र उत्पादन बढाउनबारे छलफलकेन्द्रित थियो।

छलफलमा सभापति सुमार्गीले नेपालको कफी उत्पादन हुने र हाल भइरहेका क्षेत्रमा व्यवसायिक कफी उत्पादनमा उत्पादकलाई प्रेरित गर्न केन्द्रले अंगीकार गरेका योजनाबारे सहभागीलाई जानकारी गराएका थिए । 

छलफलमा सहभागी विश्व बैंकका प्रतिनिधि राजन शर्माले कफीको अन्तराष्ट्रिय बजार अत्यन्त राम्रो रहेको बताए। जापानमा मात्रै हाल नेपाली कफीले केही मार्केट लिएको र अन्य देशमा निर्यात गर्न उत्पादन नै बढाउन नसकिएको पनि बताए। 

एइसीका सभापति सुमार्गीलाई नेपाली कफीको उत्पादन बढाउने योजनाको खाका तयार पार्न आग्रह गर्दै उनले यसका लागि विश्व बैंकबाट लगानीको व्यवस्थापनको लागि आफूले पहल गर्ने आश्वासन पनि दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.