|

काठमाडौं :  नेपाली सेनाले काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाको प्रगती विवरण सार्वजनिक गरेको छ।

सेनाले मंगलबार विज्ञप्ति निकालेर प्रगति विवरण सार्वजनिक गरेको हो। काठमाडौं तराई-मधेश द्रुतमार्ग  निर्माणमा आर्थिक वर्ष ०७७/०७८ मा ९७ दशमलव ३४ प्रतिशत वार्षिक प्रगति भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको सो आयोजनाको १६ दशमलव १० प्रतिशत निर्माण सम्पन्न भएको छ। द्रुत मार्ग निर्माणका लागि गत आर्थिक वर्षमा ८ अर्ब ९६ करोड ८८ लाख रकम विनियोजन भएको थियो। वार्षिक प्रगति ९७.३४ प्रतिशत छ।

आयोजनाको कुल अंशको थप ५।१० प्रतिशत  काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा समष्टिगत भौतिक प्रगतितर्फ १६.१० प्रतिशत र वित्तिय तर्फ १४.५ प्रतिशत  लक्ष्य हासिल भएको सेनाले जनाएको छ।

सुरुङमार्ग निर्माणका लागि ईन्जिनियरिंग खरीद निर्माणमा अन्तर्राष्ट्रिय बोलपत्र आव्हान पश्चात आवश्यक प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट कार्य सम्पन्न भई ०७८ ज्येठ ३१ बाट दुवै सुरुङ ठेक्का प्याकेजहरुको सुरु भई मोविलाईजेशनसहित काम थालिएको छ। सडक आयोजनाको डिजाईन तथा कन्स्ट्रक्शन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानिय विषय विज्ञहरु छनौट गरी सर्भे लगायतका कार्यहरु सुचारु गरिएको छ।

हाल सो परामर्शदाताबाट टिम लिडर, प्रोजेक्ट कोडिनेटर, टनेल ईञ्जिनियर, हाइवे ईञ्जिनियर,ब्रिज ईञ्जिनियर, मेट्रियल ईञ्जिनियर, रोड एण्ड  सेफ्टी एक्सपर्ट, सिनियर जियोलोजिष्ट-जियोलोजिकल ईञ्जिनियरहरुले काम थालेका छन्।

आयोजनास्थलमा १४ वटा बेलिबृज जडान गर्ने योजना अनुसार ८ वटा बेलिबृज जडान गरी सञ्चालनमा ल्याईएको छ। अन्य जडान हुने क्रममा छ। पुल तथा सुरुङ् निर्माणको लागि आवश्यक पर्ने पहुँच मार्ग निर्माण कार्य अगाडि बढाइएको सेनाले जनाएको छ।

आयोजनाको ५ ठाउँमा वेसिक ल्याब इक्यूमेन्ट जडान गरी गुणस्तर परिक्षण गर्ने काम गरिएको छ। अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्श अनुसार एडभान्स ल्याव इक्युमेन्टहरु समेत थप्ने व्यवस्था मिलाइएको छ।

हालसम्म ९१.५ प्रतिशत  जग्गा अधिग्रहण तथा मुआब्जा वितरण सम्बन्धि कार्य सम्पन्न गरिएको छ। खोकना–बुङमति ईलाकामा रहेको जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगको संयोजकत्वमा समन्वय उप–समिति गठन गरी आवश्यक समन्वय तथा पहल भइरहेको छ।

रुख कटान तथा व्यवस्थापन सम्बन्धि कार्य शतप्रतिशत रुपमा सम्पन्न गरिएको छ। रुख कटान भए अनुसार १ः२५ को अनुपातमा वृक्षारोपण गर्ने कार्य मुताविक चालु आ.ब. को आषाढ मसान्तसम्म कुल जम्मा २ लाख ४९ हजार १ सय ६६ वटा वृक्षारोपण गरिएको छ।

आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्यांकन तथा सुरुङ मार्ग र पुल निर्माण सम्बन्धमा केही परिमार्जन भए अनुरुप पूरक वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति भई काम थालिएको सेनाले जनाएको छ।

राष्ट्रको विकास र समृद्धिको लागि कोशेढुंगा सावित हुने राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजना कोभिड–१९ को कारण भएको ढिलाइका बाबजुद समयमै निर्माण सम्पन्न गर्ने सेनाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.