|

लमजुङ : ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट लमजुङमा ३४ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको छ। 

गत आर्थिक वर्षमा पाँच हजार ४७६ वटा सवारीसाधन कारवाहीमा परेको र त्यसबापत उक्त रकम संकलन भएको ट्राफिक प्रहरी प्रमुख लमजुङका प्रहरी नायब निरीक्षक महेन्द्र रानाभाटले जानकारी दिए। 

रानाभाटका अनुसार २०७७ साउनदेखि २०७८ असार मसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गरी कारवाहीमा पर्ने सवारी साधानमा सबैभन्दा धेरै दुई पांग्रे सवारीसाधान छन्। कारवाहीमा परेका दुई हजार ९१ दुई पांग्रे सवारीसाधनबाट १३ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको छ। 

यस्तै,  एक हजार ४२० कार र जिप  कारवाहीमा परेका छन्। उक्त कारवाहीमा परेका कार र जिपबाट ८६ हजार राजस्व संकलन भएको छ। ट्राफिक प्रहरीका अनुसार ८९१ ट्रक/ट्रिपर, ७१३ ट्रयाक्टर,  ३३६ बस  र अन्य २५ सवारीसाधन कारवाहीमा परेका छन्। ट्रक/ट्रिपरबाट ५२ हजार ७००, ट्रयाक्टरबाट चार लाख ८६ हजार ५००, बसबाट एक लाख ९८ हजार र अन्य सवारीसाधनबाट १७ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।

यस्तै, सोही अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ४९ जना कारवाहीमा परेका छन्। उनीहरुबाट ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ। प्रहरीका आर्थिक वर्ष २०७६/७७ मा ट्राफिक कारवाहीबाट ३१ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। उक्त अवधिमा चार हजार ८२५ सवारी कारवाहीमा परेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.