|

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व-स्वास्थ्यमन्त्री गगन थापाले पूर्व-प्रधानमन्त्री तथा  नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको विदेशको उपचार खर्च कानुनी रूपमा राज्‍यले व्यहोर्न नमिल्ने बताएका छन्।

विदेशमा गरेको जोसुकै नेपालीहरूको उपचार खर्च राज्यले व्यहोर्ने कानुनी व्‍यवस्था नरहेको भन्दै उनले आवश्यक परेमा देशविदेशमा रहेका नेपालीहरूले उनलाई सहयोग गर्न तप्पर रहेको बताएका छन्।

केपी ओली सरकारले पूर्व-प्रधानमन्त्री खनालको उपचार खर्च राज्‍यले व्‍यहोर्ने निर्णय गरेका थिए। त्यसबेला पनि नेता थापाले फेसबुकमा लेख्दै निर्णयको विरोध जनाएका थिए।

त्यस्तै, मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डनिवासबाट दिल्लीमा उपचाररत नेता खनाललाई फोन संवादमार्फत उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए। त्यसलगत्तै विदेशको उपचार खर्च सरकारले व्‍यहोर्न नमिल्ने भन्दै नेता थापाले बुधबार सामाजिक सञ्‍जालमा विरोध जनाएका हुन्।

नेता थापाले लेखेका छन्,‘अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन, कानुनको यो व्यवस्थाको सम्बन्धमा सम्माननीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ,अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उद्धृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।’

उनले यस्तो बेलामा उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उनको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर खनालको परिवारलाई दुःखी नबनाउन पनि आग्रह गरेका छन्। 

पूर्व-प्रधानमन्त्री खनाल केही सातादेखि मिर्गौलालगायत समस्याले गर्दा दिल्लीमा उपचाररत छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.