|

काठमाडौं : मेलम्चीबाट खानेपानी नआएपछि काठमाडौं उपत्यकामा फेरि ट्यांकर र जार व्यवसाय फस्टाउन थालेको छ।

मेलम्चीकाे पानी आएपछि ट्यांकर र जारबाट हुने गरेको पानीको आपूर्ति ह्वात्तै घटेको थियो। गत असारमा मेलम्ची र इन्द्रावती नदीमा चलेको ठूलो बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेकाले हाल उपत्यकामा पानी आएको छैन। सुरुङ परीक्षण गर्न भन्दै असार १ गतेदेखि नै उपत्यकामा पानी पठाइएको थिएन। 

काठमाडौं उपत्यका ट्यांकर तथा बोरिङ व्यवसायी संघका अध्यक्ष हरि कँडेलले मेलम्चीबाट पानी नआएपछि टयांकरकाे पानी माग बढिरहेको बताए। उनले भने, ‘मेलम्ची पानी आएपछि ट्यांकरको पानीको माग ७५ प्रतिशतसम्म  घटेको थियो, अहिले माग बढ्दै गएको छ।’

अहिले बर्खाको सिजन भएकाले धेरैले आकाशे पानी प्रयोग गरिरहेका छन्। त्यसैले यतिखेर पानीको माग धेरै छैन।

दैनिक करिब ७ करोड लिटर पानी माग भइरहेकामा २० प्रतिशत पूर्ति भइरहेको कँडेलले बताए। निषेधाज्ञाकाे समयमा भने हाेटल लगायत व्यवसाय नचलेकाले पानीकाे माग नभएकाे उनले जानकारी दिए।

संघका अनुसार उपत्यकाभित्र करिब ८०० ट्यांकरबाट पानी वितरण हुने गरेको छ। पोखरामा करिब २५ वटा ट्यांकर छन्। पानी अभाव भएका स्थानमा मेलम्चीबाट पानी आउन छाडेपछि ट्यांकरकै पानी माग हुन थालेको हो।

जारको पानीको माग १५ प्रतिशतले बढ्यो

नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीले मेलम्चीबाट पानी नआएपछि जारको पानीको माग १५ प्रतिशतले बढेको जानकारी दिए। ‘मेलम्चीबाट पानी आउँदा जारको पानीको माग १० प्रतिशतले घटेको थियो,’ उनले भने, ‘अहिले १५ प्रतिशतले बढेको छ।’

उनका अनुसार उपत्यकामा दैनिक दुई लाख जार पानी माग छ। तर, संघले त्यो भन्दा बढी पानी बजारमा पठाउने गरेको छ। ‘हामीले दैनिक कहिले त तीन लाख जार बाँड्ने गरेका छाैँ,’ उनले भने।

उनका अनुसार मेलम्चीबाट पानी नआउँदाको समयमा जारको पानीको माग २५ प्रतिशतसम्म थियो। अहिले मेलम्चीबाट पानी आउन छाडेपछि पानी व्यवसाय फेरि लयमा फर्किन थालेको भण्डारीले बताए।

मेलम्चीबाट पानी नै आएपनि जारको पानी कहिलै विस्थापित नहुने उनको भनाइ छ। ‘जारको पानी खाने ट्रेन बसिसकेको छ,’ उनले भने, ‘मेलम्चीबाट पानी आएपनि यहाँ घर हुनेले मात्रै पिउने हो, अफिस लगायत कार्यालयमा त जारकै पानी उपभोग हुन्छ।’

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का निर्देशक मिलन शाक्यका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानी माग छ। केयुकेएलका दुई लाख ३० हजार ग्राहक छन्।

मेलम्ची खानेपानी आयोजना निर्माण शुरू भएको दुई दुई दशकपछि पानी गत फागुन २२ गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलको प्रशोधन केन्द्रमा खसालेका थिए।

मेलम्चीबाट ल्याइएको पानी चैत १५ गतेबाट उपत्यकामा वितरण गरिएको थियो। पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण गरिएको थियो।

पछि दैनिक १७ करोड लिटरसम्म पानी वितरण गरिएको थियो। तर, आयोजनामा क्षति भएपछि अब मेलम्चीको पानी कहिलेबाट उपत्यकामा आउँछ भन्ने टुंगो छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.