|

सर्लाही : जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा जाने खोलाको बाटो अवरुद्ध भएपछि दैनिक उपभोग्य बस्तु ढुवानी गर्न समस्या भएको छ।

बाढी आएर खोलाको बाटो बिगार्दा चुरेबासीलाई बजारबाट खाद्यान्न लान समस्या भएको हो। खोलाको बगर हुँदै चुरे बस्तीहरूमा जाने सवारी साधन अहिले बन्द भएका छन्।

सर्लाहीको कर्णाली भनेर चिनिने लालबन्दी नगरपालिका–१४ नारायणखोला र वडा नम्बर १२ भालुखोप गाउँका स्थानीयले वर्षौदेखि वर्षायाममा सास्ती खेप्दै आएका छन्।

वर्षाको सिजनमा नदीमा निरन्तर जसो आउने बाढीले यहाँका नागरिक जोखिम मोलेर ट्याक्टरमार्फत खाद्यान्न ढुवानी गर्न बाध्य हुने गर्दछन्। सरोकार वाला निकायले चासो नदिँदा खाद्यान्न जोहो गर्नकै लागि यहाँका नागरिकले दुर्घटनामा परि बर्सेनि ज्यान गुमाउने गरेका छन्।

लालबन्दी बजारबाट खाद्यान्न बोकेर जाने ट्याक्टर लखन्देही र बाहुनी खोलामा पटक पटक फस्ने र दुर्घटनामा पर्ने गरेको वडा नम्वर–१४ का वडाध्यक्ष सुवाइसिंह ब्लोनले बताए। गाउँमा उब्जिने अन्नले १२ महिना खान नपुग्ने भएकाले नारायण खोलाका बासिन्दाले चामललगायत अन्य दैनिक उपभोग्य खाद्यान्न किनेरै खान बाध्य छन्।

ढु्वानीका साधन ट्याक्टर र बोलेरोमार्फत खाद्यान्न जसोतसो ढुवानी हुने गरेको भए पनि बिरामी पर्दा औषधोपचार लागि अस्पतालसम्म आउन जान घण्टौं पैदल हिँड्नुपर्ने बाध्यताका कारण पनि कतिपय यहाँका नागरिकले अकालमै ज्यान गुमाउन बाध्य रहेका वडाध्यक्ष ब्लोनको भनाइ छ।

वर्षा लागेसँगै सर्लाहीको उतरपूर्वी भेगमा पर्ने गुइडुङ, भालुखोप, पिपलदमार, लामीदमार र महोत्तरीको उत्तरपशिचम क्षेत्रमा पर्ने छोड्के क्षेत्रका बासिन्दालाई पनि खाद्यान्न ढुवाानी गर्न उस्तै समस्या छ।

गुइडुङ, पिपलदमारलगायत क्षेत्रमा जाने बाँके खोलाको बाटो पनि बाढीका कारण बिग्रिएको ईश्वरपुर नगरपालिका-१२ का वडाध्यक्ष नागेन्द्र पाख्रिनले जानकारी दिए।

अन्य क्षेत्रमा कम पानी परिरहेको भए पनि चुरे क्षेत्रमा दैनिकजसो पानी परिरहेकोले खोलामा बाढी आउने गरेको स्थानीयको भनाइ छ। खाद्यान्न बोकेर जाने ट्याक्टर, बोलेरो र औषधोपचारलगायत अन्य कामका लागि बजार झरेकाहरू फर्किने क्रममा बीचमै फस्ने गरेका छन्।

वर्षायाम सुरु भएसँगै जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाअन्तर्गत चुरे क्षेत्रका बस्तीमा खोलाको बाटो भएर प्रवेश गर्ने कच्ची तथा गोरेटो बाटोहरू अत्यन्तै जीर्ण भएका छन्।
        

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.