'खोप लगाउने लाइनबाटै कोरोना सर्‍यो'

|

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.अनुप बास्तोलाले कोरोना महामारी फेरि बढ्न सक्ने बताएका छन्।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ प्रेस ब्रिफिङमा उनले एक सातादेखि पुन: संक्रमणदर बढ्दै गएको बताएका हुन्।

सर्वसाधारणले अझै मापदण्ड पालना नगरे आउने दिन थप कठिनाइपूर्ण हुन सक्ने उनको भनाइ छ। उनले भने,‘अहिले निषेधाज्ञा खुकुलो गरिएको छ,जसले सर्वसाधारणले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्दा संक्रमण दर बढ्दै गइरहेको छ।’

उनका अनुसार पछिल्लो एक सातादेखि टेकु अस्पतालमा विभिन्न समस्या लिएर आउने बिरामी बढेका छन्। प्रत्येक दिन १० देखि १५ जनामा कोरोना लक्षण देखिएका बिरामी आएकोमा ७ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको पाइएको छ।

हाल अस्पतालमा २१ जना कोरोना संक्रमित बिरामी सिकिस्त छन्। खोप लगाउने अभियानमा पनि नागरिकले सामाजिक दूरी कायम नगर्दा त्यही ठाउँबाट पनि संक्रमण फैलिएको पाइएको उनले बताए।

‘अहिले खोप केन्द्रमा सामाजिक दूरी कायम नगर्दा खोप लगाएका व्यक्ति एक सातापछि ज्वरो आउने समस्या लिएर हामीकहाँ आएका छन्,उनीहरूमा पनि संक्रमण पुष्टि भएको छ,’उनले भने। 

नेपालमा तेस्रो लहरको कोरोना संक्रमण फैलिने जोखिम रहेको भन्दै सबैले स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने उनको सुझाव छ। बुधबार मात्रै एकैदिन  १२ हजार ६ सय १६ जनाको कोरोना परीक्षण गर्दा दुई हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.