|

बारा : तोकिएको समयभित्र नगरसभा गराउन नसकेको बाराको जितपुरसिमरा उपमहानगरपालिकाले नगरसभा सदस्यहरूलाई रिझाउन ​उपहारस्वरूप सुट र सारी वितरण गरेको छ।

असारे बजेट सक्ने र नगरसभा सदस्यहरूलाई रिझाउने उद्देश्यले नगरपालिकाले ५१ जना महिला सदस्यहरूसहित १२५ जनालाई सुट र सारी बाँडेको हो। 

स्थानीय सरकार सञ्‍चालन ऐन, २०७४ को दफा ७१ (१) ले स्थानीय सरकारले असार १० गतेभित्र बजेट कार्यपालिका सभामा पेस गर्नुपर्ने व्यवस्था छ। तर,  जीतपुरसिमराले अझैसम्म आफ्नो नीति तथा कार्यक्रम र वडाको बजेट सिलिङ तयार गर्न सकेको छैन।

तोकिएको समय असार १० गतेभित्र उपमहानगरले नगरसभा बोलाउन नसकेपछि तत्काल नगरसभा बोलाउन माग गर्दै कार्यपालिका सदस्यहरूले लिखित रूपमै पटक-पटक नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए। तर, त्यसको कुनै सुनुवाइ भएको छैन।

विगतमा भएको अनियमित कार्यको हिसाबकिताब लुकाउन र आफ्नो पक्षमा बोल्ने वातावरण मिलाउन उपमहानगर अहिले कार्यपालिका सदस्यलाई रिझाउन लागिपरेको वडाध्यक्ष रामशरण बर्तौलाले जनाएका छन्।

‘कार्यपालिकाका सदस्यहरूलाई रिझाउन सुट, सारी वितरण र ड्राइभिङ तालिम शुरू गरिएको हो, यो हामीले बहिष्कार गरेका छौँ, ’ वडा नं १४ का वडाध्यक्ष बर्तौलाले भने, ‘नगरपालिकाको कुल बजेट पौने २ अर्ब रुपैयाँ भनिएपनि सबै बजेट प्रमुख, उपप्रमुख मातहतमा राख्ने र आफ्नो अनुकूल खर्च गर्ने जालझेल भइरहेको छ।’

मंगलबार बसेको कार्यपालिका बैठकमा पनि कार्यपालिका सदस्यहरूले नगर प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत मिलेर नगरको बजेट मनपरी खर्च गरेर हिनामिना गरेको आरोप लगाएका थिए। 

कार्यपालिका सदस्यहरूले विगत चार वर्षको खर्चको हिसाब नगरसभामा पेस गर्न माग गरेका छन्। नगर तथा जनताको विकासका लागि सुहाउँदो बजेट ल्याउन नसकेको र उपमहानगरले फजुल खर्च गरेर कार्यपालिका सदस्य रिझाउन लागिपरेको जीतपुरसिमरा वडा नं ७ का वडाध्यक्ष रामबाबु कलवारले जनाएका छन्।

विगत ४ वर्षदेखि तोकिएको समयमै नगरसभा सम्पन्न गर्न नसकेको जीतपुरसिमराले चालु आवको नीति तथा कार्यक्रम पनि डेढ महिना ढिला गरी साउन २२ ल्याउने सहमति गरेको छ।

कार्यपालिका सदस्यहरूद्वारा सुट र सारी बहिष्कार

जीतपुरसिमरा उपमहानगरका कार्यपालिका सदस्यहरूले नगरपालिकाले वितरण गरेको नयाँ सुट र सारी बहिष्कार गरेका छन्। 

नेकपा एमाले (माधव नेपाल गुट), नेकपा माओवादी र नेपाली कांग्रेसका कार्यपालिका सदस्यहरूले नगरपालिकाले बाँडेको पोशाक र ड्राइभिङ तालिम दुवै बहिष्कार गरेका हुन्।

नगरसभा सदस्यहरूलाई रिझाउने उद्देश्यले सुट, सारी र क्षमता अभिवृद्धिका नाममा सवारी तालिम सञ्चालन गरिएको भन्दै अधिकांश सदस्यहरूले बहिष्कार गरेका हुन्।

नगरपालिकाले सुट र सारीका लागि प्रति सदस्य १० हजार रुपैयाँ र चारपाङ्ग्रे सवारी तालिमका लागि १० लाख रुपैयाँ बजेट छुट्याएको निमित्त प्रमुख शिवजी साहले जानकारी दिएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.