|

बैतडी : पारिश्रमिकको माग राख्दै अनसनरत सडक मजदुरहरुले २० दिनपछि अनसन तोडेका छन्।

पाटन–पञ्चेश्वर सडकमा कार्यरत सडक मजदुरहरुले २१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै गत असार १८ गतेदेखि अनसन सुरु गरेका थिए। पाटन–पञ्चेश्वर सडकको जिरो पोइन्ट पाटनमा अनसन बसेका १२ जना सडक मजदुरहरुलाई पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जुस खुवाएर अनसन तोडाएका हुन्।

सडक मजदुरहरुका समस्या समाधानका लागि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा गठित समितिले वार्ता गरेपछि उनीहरुले अनसन तोडेका हुन्।

तत्कालका लागि सडक मजदुरहरुलाई राहत स्वरुप पाटन नगरपालिका र मेलौली नगरपालिकाले डेढ÷डेढ लाख रुपैयाँ प्रदान गर्ने सहमति भएको पाटन नगरपालिकाका प्रमुख तथा सडक मजदुरहरुका समस्या समाधान समितिका सदस्य केशवबहादुर चन्दले बताए।

यसका साथै सडक मजदुरका समस्या समाधानका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय र पहल गर्ने समेत सहमति भएको छ। लामो समयदेखि पारिश्रमिक नपाउँदा आफूहरुलाई घरपरिवार चलाउन समेत समस्या भएको भन्दै सडक मजदुरहरु आन्दोलित भएका हुन्।

आर्थिक वर्ष २०७५÷०७६ देखि उक्त सडक संघीय सरकारबाट प्रदेश सरकार मातहत गएपछि उनीहरुले ज्याला पाएका थिएनन्। विभिन्न राजनीतिक दलहरु तथा बैतडीबाट प्रतिनिधित्व गर्ने प्रदेश एवं संघीय सांसदहरुले प्रक्रिया मिलाएर तलव खुवाउने आश्वासन दिदैं आएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.