|

काठमाडौ : सिन्धुपाल्चोक मेलम्ची घर भएकी १९ वर्षीया नीशाले काठमाडौं फर्किदा चार सय रुपैयाँ भाडा तिरिन्। गत बैशाख पहिलो साता मेलम्ची जाँदा उनले एक सय ९० रुपैयाँ तिरेकी थिइन्।  

बस चढ्ने बेलामा सहचालकले बस भाडा बढेको छ,एक जनाको चार सय तिर्ने भए हिँड्नुस् पछि किचकिच गर्न पाइँदैन भनेकाे उनले सुनाइन्। जसरी पनि आउनै पर्ने भएकाले दोब्बर भाडा तिर्न तयार हुनु परेकाे उनले बाध्यता सुनाइन्।

नीशाले भनिन्,‘परीक्षा तालिका सार्वजनिक भयो, काठमाडौं आउनै पर्ने भएकाले दोब्बर भाडा तिरेर आएँ। सरकारले भाडा बढाएको छ भन्दै दोब्बर लिएको  उनले बताइन्। उनी पुष्पलाल मेमोरियल कलेजमा अध्ययनरत छिन्। लकडाउन हुने हल्ला सुनेर उनी बैशाख ९ गते घर गएकी थिइन्।  

पर्साबाट काठमाडौं आएकी नीमा शेर्पा कलंकीमा भेटिइन्। गाडीबाट सामान झारेर कपन जाने बस पर्खिरहेकी थिइन्। एक छोरीसहित बसेकी नीमाले पर्साबाट काठमाडौं आएको भाडा सात सय तिरेकाे सुनाइन्। जबकी उनले निषेधाज्ञा भन्दा पहिले चार सय भाडा तिर्ने गरेकी थिइन्। सरकारले भाडा बढाएकाे आफूलाई थाहा नभएकाे उनले सुनाइन्।

उनले भनिन्,‘सहचालकले सरकारले भाडा बढाएको, तेलको मुल्य बढेको छ, भनेजति भाडा दिनुस् भन्दै थर्काए। छोरीको स्वास्थ्यमा समस्या देखिएकाले काठमाडौं आउनै पर्ने भयाे। मागे जति तिर्नै पर्याे।’

बालाजु नयाँ बसपार्कमा भेटिएका बर्दियाका उमेश शाहले काठमाडौं आइपुगेको १५ सय भाडा तिरे। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाएको निषेधाज्ञामा बस रिजर्भ गरेर बर्दिया गएका थिए। लकडाउन खुकुलो भएसँगै अफिसले बोलाएर काठमाडौं आएको उनले बताए। सहकारीमा काम गर्ने शाहले लकडाउन अगाडिसम्म ९ सय भाडा  तिर्ने गरेका थिए।

त्यस्तै बाग्लुङबाट काठमाडौं आएको बस भाडा दुई हजार लिएको राम बहादुर रानाले बताए। त्यसअघि उक्त रुटमा बस भाडा १४ सय थियो। यातायात व्यवस्था विभागले भने तोकिएको भन्दा बढी भाडा लिनेलाई कारबाही गरिने जनाएको छ।

सरकारले असार २९ देखि एक प्रदेशबाट अर्को प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले वृद्धि गरेकाे थियो। त्यस निर्णयको विरोध भइरहेकै बेला छोटो दूरीमा चल्ने स्थानीयस्तरका सवारीमा पनि व्यवसायीले मनपरी भाडा बढाएका छन्। 

संघीय सरकारले अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडादर मात्रै समायोजन गर्ने निर्णय गरेको थियो। तर यही बाहानामा व्यवसायीले प्रदेशभित्रै र स्थानीय तहमा चल्ने सवारीको भाडामा पनि आफू खुसी वृद्धि गरेका छन्। उपत्यकामा चल्ले सार्वजनिक यातायातले बढी भाडा लिँदै आएका छन्। यसअघि ३५ रुपैयाँ भाडा तिर्दै आएको रुटमा ५० रुपैयाँसम्म तिर्नुपरेको यात्रुहरूको गुनासो छ।  

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले असार २७ गते अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक सवारीको भाडा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २० र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको २६ प्रतिशत भाडा वृद्धि गर्न मन्त्रिस्तरीय निर्णयबाट सहमति दिएपछि यातायात व्यवस्था विभागको असार २९ को बैठकले भाडा बढाएको थियो। व्यवसायीले भने यही निर्णयको बलमा छोटो दूरीमा चल्ने सवारी साधनमा पनि मनलाग्दी भाडा अशुली रहेका छन्।

यातायात व्यवसायीहरुले भाडा समायोजनको माग राख्दै काठमाडौमा आन्दोलन गरेका छन्। सार्वजनिक यातायातको भाडामा सरकारले गरेको निर्णय विभेदकारी भएको यातायात व्यवसायी महासंघमा महासचिब सरोज सिटौलाले बताए।

भाडा समायोजनको माग गर्दै बागमती प्रदेशमा पत्रसमेत पेस गरिएको सिटौलाले जानकारी दिए। सरकारले तत्काल छोटो दूरीका सवारीका लागि पनि भाडा समायोजन गर्नू पर्ने उनको माग छ। सरकारले तोकेको भन्दा बढी वा दोब्बर भाडा अशुल्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

यसअघि आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यकालको स्वीकृतिमा मात्र उपत्यका प्रवेश गर्न पाउने भनिएको थियो। तर लामो दूरीको सवारी आवतजावतमा रोक नलगाएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख डुन्डिप्रसाद निरौलाले जानकारी दिए। बिहीबार गृहमन्त्रालयले लामो दूरीको यात्रा सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.