|

जुम्ला : चन्दननाथ नगरपालिका विवादित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ। नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरा देवी न्यौपाने (महतको) आपसी विवादका कारण  सेवाग्राहीले सास्ती खेप्नु परेको हो।

प्रमुख र उपप्रमुखको विवादले सेवा प्रभावित मात्रै होइन नगरपालिकाको बजेटसमेत पारित हुन सकेको छैन। नगरप्रमुख भन्छन् बजेट पारित भयो, उप्रमुख भन्छन् भएको छैन।

चालु आर्थिक वर्षको सुरुवाती देखिनै सबै काम ठप्प छन्। नागरिकता सिफारिसदेखि घरजग्गा राजश्व संकलनका सेवा ठप्प हुदा सेवाग्राही मारमा परेका छन्। राजश्व परामर्श समितिको बैठक नबसेर राजश्व संकलन दररेट अनुमोदन हुन सकेको छैन। असार १० गते नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगर सभाबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ। 

लामो समयसम्म कार्यपालिका सदस्य बैठकमै उपस्थित नहुँदा असार ३१ गते बहुमतको आधारमा बजेटसहित नीति तथा कार्यक्रम पारित भइसकेको नगर प्रमुख सेजुवालले बताइन्।

औपचारिक रुपमा नगर सभाबाट नीति तथा कार्यक्रम र बजेट पारित नभएको उपप्रमुख न्यौपानेले दाबी गरिन्। उपप्रमुख न्यौपानेका अनुसार तीन आर्थिक वर्षदेखि सार्वजनिक सुनुवाई हुन सकेको छैन।

‘रेडबुक अनुसार योजना कार्यान्वयन हुँदैनन्। अपारदर्शी रुपमा बजेट खर्च गर्ने जस्ता कामले गर्दा नगरपालिका दुर्गन्धित बन्दै गएको छ’ उनले भनिन्,‘अपारदर्शी कार्यको टुंगो नलागेसम्म र माग सम्बोधन नभएसम्म नगरसभा हुन दिदैनौं।’

सेवाग्राही माधवप्रसाद उपाध्यायले जग्गाकाे राजश्व तिर्न आएको दुई दिन  भए पनि काम नै नभएर फर्किनु परेको सुनाए। नगरपालिका राजश्व शाखाका नायवसुव्वा कमल भण्डारीले नयाँ आर्थिक वर्षसँगै राजश्व दररेट कायम गरी अनुमोदन गरी लागु गर्नुपर्ने भए पनि उक्त काम रोकिएको बताए।

मेयर नेपाली कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.