|

प्रेरकः सूचकश्वैव वाचको दर्शकस्तथा।
शिक्षको बोधकश्चैव षडेते गुरवः स्मृताः।।

​प्रेरणा दिने, सत्यको सूचना दिने, सही मार्ग देखाउने र जीवनलाई बोधमार्फत्‌ अघि बढाउन स्मरण गराउने व्यक्ति नै गुरू मानिन्छन्।

जीवनका सबै सिकाइ र जीवन पाउनु, हुनु र जिउनुका रहस्य उजागर गर्दै आन्तरिक समृद्धिको मार्गतर्फ इशारा गर्ने ऊर्जा कसैसँग हुन्छ भने त्यो सद्गुरुसँग मात्र हुन्छ। 

बाहिरी विकास र सफलताको लागि उपाय सुझाउने शुभ चिन्तकहरू जीवनमा धेरै छन्। तर, आन्तरिक सुख, शान्ति र आनन्दको यात्रातर्फ प्रेरित गर्ने व्यक्ति गुरू नै हुन्।

बहवो गुरवो लोके शिष्य वित्तपहारकाः।​
क्वचितु तत्र दृश्यन्ते शिष्यचित्तापहारकाः।।

​जीवनमा गुरू प्रत्येक क्षणमा भेटिन्छन्। तर, सद्गुरु नै किन भेट्नुपर्ने त? किनकी शिष्यलाई आफ्नो सान्निध्यमा लिएर वित्तहरण गर्ने गुरू बजारमा धेरै भेटिन्छन्। तर, शिष्यको चित्तहरण गर्ने गुरू विरलै भेटिन्छन्। तिनै गुरू सद्गुरुको रूपमा मानिन्छन्। 

किताबी ज्ञानको लागि हाम्रो जीवनमा उपलब्ध भएका सबै शिक्षकरूपी गुरूप्रति हाम्रो आदर भाव रहन्छ, अनि सद्गुरू प्रति अहोभाव। हाम्रो शैक्षिक स्तरलाई विकास गराएर जीवनमा नाम, दाम र सम्मान प्राप्त गर्ने कला सिकाउने शिक्षकमार्फत्‌ जीवनमा सुविधा कसरी प्राप्त हुन्छ त्यो कला सिक्छौं। तर, जीवनमा आन्तरिक सुख कसरी मिल्छ-त्यो कला सद्गुरुबाट मात्र सम्भव हुन्छ। 

भौतिक सुविधा मात्र हासिल गरेर आन्तरिक सुख बोध हुने भएको भए आज संसारका मानिसमा यति धेरै बेचैनी र अपूर्णता देखिने थिएन। बाहिरको सम्पदाले अहंकार मिलेको छ, म र मेरो सेरोफेरोमा केही छु र हुँ को लागि प्रशस्त सामग्री मिल्दछ। तर, आन्तरिक प्रेमको अनुभूतिमा बाँच्न सद्गुरुको सान्निध्य र साधना जरूरत पर्दछ। 

संसारका व्यक्तिहरूसँग वकालत गर्ने, तर्क गर्ने, बहस गर्ने र गुनासो गर्ने शक्तिका लागि त बाहिरको ज्ञान र ऊर्जा पर्याप्त छ। तर, अहोभावमा बाँच्ने कला विकासको लागि गुरूकै सान्निध्य आवश्यक पर्दछ। 

बाहिरी सम्पन्नताले हाम्रो आडम्बरलाई धेरै मद्दत गर्दछ। तर, आन्तरिक आनन्द अनुभूतिको लागि सद्गुरुकै मार्गनिर्देशन र जीवन विधायक शिक्षा जरूरत रहन्छ।

एउटाबाट प्राप्त उपदेश र ज्ञान अरूलाई बाँड्न त बाहिरी शिक्षाले धेरै मद्दत गर्ला, तर आत्मज्ञान बोध र स्थिरताको अनुभूति कसरी गर्ने सद्गुरूको साधनाबाट मात्र सम्भव हुन्छ। 

बाहिरबाट प्राप्त नाम र यो शरीर, पद अनि सम्पन्नताले मात्र हाम्रो परिचय खुल्दैन। यो परिचय त क्षणिक र कामचलाउ परिचयमात्र हो। असली परिचय तब थाहा लाग्दछ-जब भित्रबाट 'म को हुँ' प्रश्न आफैसँग जागृत हुन्छ। त्यतिबेला सद्गुरुको सहयोगले मात्रै बोधगम्य अवस्थामा पुग्न सकिन्छ।

जीवन सतही रूपमा बाँच्ने र काम चलाउने मात्र भइरहेछ। स्वच्छन्द, स्वतन्त्र, खुलेर जिउने क्षण त्यतिबेला महसुस होला-जतिबेला 'म को हुँ' को जवाफ र बोध निराकार, शून्यता र मौनताबाट प्राप्त हुन्छ। सद्गुरूले जीवनलाई त्यति धेरै चमत्कारिक बनाउने पनि कहाँ हो र? कठिन साधना दिएर मानिसभन्दा भिन्न भएर बाँच्न सिकाउने पनि त होइन। 

गुरूले यो बाँचिरहेको जीवनमा थप प्रेमपूर्ण भएर बाँच्न प्रेरित गर्छन्। जीवनका तनावबाट मुक्त भएर ताजगी र स्फूर्त भएर बाँच्ने कला सिकाउँछन्‌। जीवनमा सुन्दरता, उत्साह, ऊर्जा, उल्लास र उमंग कसरी कहाँ भेटिन्छ-आफ्नै जीवनको चाबी भेटाइदिन मद्दत गर्दछन्। जन्मलाई उत्सव मान्ने हामीहरूलाई जीवनभर कसरी उत्सवमय रूपमा कर्म गर्ने त्यो मार्ग बताउँछन्। अन्त्यमा मृत्युलाई पनि उत्सवमय कसरी बनाउने त्यो गहन सूत्र प्रदान गर्दछन्। 

जीवनलाई प्रेमपूर्ण विश्राम दिनु नै मृत्यु हो। त्यसैले मृत्युको चिन्ता होइन, मृत्यु आउने क्षणसम्म जीवनमा के असल गर्न सक्दछौ, तिम्रो कारण कति जनाको जीवन रूपान्तरण गर्न सक्दछौ-त्यसमा जागृत बन। जगाउने काम सद्गुरूले गर्दछन्। 

गुरू यो धर्तीमा आफू मात्र आउँदैनन्‌, आफूसँगै प्रेम, करुणा, ऊर्जा, स्थिरता, स्वतन्त्रता, निर्द्वन्द्व र भय रहित गुणवत्ता लिएर आएका हुन्छन्। त्यो आफ्ना शिष्यलाई बाँड्न आतुर हुन्छन्। त्यसको बदलामा शिष्यले गुरुलाई के दिन सक्छन् त अहोभाव सिवाय!  

एकमप्यक्षरं यस्तु गुरुः शिष्ये निवेदयेत्।
​थिव्यां नास्ति तद् द्रव्यं यद्दत्वा ह्यनृणी भवेत्।।

​गुरुले शिष्यलाई जुन मार्ग प्रशस्त गर्दछन् र जीवनलाई धन्यताको दिशातिर डोहोर्‍याउँछन्‌, ती गुरूको ऋणमुक्त हुने चिज पृथ्वी मै छैन। गुरु ऋणबाट मुक्त हुने कुनै धन छैन।    

दृष्टान्तो नैव दृष्टस्त्रिभुवनजठरे
​सद्गुरोर्ज्ञानदातुः स्पर्शश्चेत्तत्र कलप्यः 
स नयति यदहो स्वहृतामश्मसारम्।​
न स्पर्शत्वं तथापि श्रितचरगुणयुगे सद्गुरुः
स्वीयशिष्ये स्वीयं साम्यं विधते भवति 
निरुपमस्तेवालौकिकोऽपि।।

​सद्गुरू सिद्धार्थ औलिया भन्नुहुन्छ-गुरूलाई उपमा दिने नाम र गुणको बखान शब्दद्वारा सम्भव छैन तीन लोकमै। आफ्नो सान्निध्यमा आउनेलाई आफूजस्तै प्रज्ञावान बनाउनुमा गुरूलाई गर्व हुन्छ। त्यसैले त भनिन्छ नि-गुरूपूर्णिमाको चन्द्रमा एकदिन चम्किन्छ। तर, सद्गुरू पाउने शिष्यको भाग्य सधैँ बाह्रै महिना चम्किन्छ। सद्गुरू भेट्नु भाग्य मात्र होइन, सौभाग्य नै हो।  

गुरु सो ज्ञान जु लीजिये, सीस दीजये दान।​
बहुतक भोंदू बहि गये, सखि जीव अभिमान।।
    

सन्त कविर भन्नुहुन्छ-आफ्नो शिर भेटि दिएर भएपनि सद्गुरूबाट ज्ञान प्राप्त गर। तर, यसको वास्तविक अर्थ नबुझेर धन र अभिमानको आर्जनमा जीवनभर शिर अर्पण गर्न तत्पर हुनेहरूको कमी छैन। जीवनमा पुरुषार्थ गर तर, परमार्थको पनि ख्याल गर भन्ने सन्तहरूको आशय बुझ्दैनन् मानिसहरू। 

गुरु की आज्ञा आवै, गुरु की आज्ञा जाय।
कहैं कबीर सो संत हैं, आवागमन नशाय।।

​तिम्रो व्यवहार गुरूको आज्ञा अर्थात् मार्गनिर्देशन अनुसार हुनु भनेको जीवन विधायकतामा अग्रसर हुनु हो। 

जीवनमा मात्र होइन मृत्युपछि पनि सबै अकर्मन्यबाट पार पाउने उपाय गुरूको आज्ञा र ज्ञानअनुसार चल्नु हो।  जीवनमा सद्‌गुरु प्राप्त गर्नु पुण्य कर्मको फल हो। गुरू आशिषको कारण नै लोकको मंगल सोच्ने यात्रामा अघि बढ्छ शिष्य। बहुजन हिताय, बहुजन सुखाय उसको कर्म गर्ने तरिका बन्दछ। गुरूको कार्यमा सहयोग गर्न तत्पर हुन्छ। 

गुरूको कार्य गोविन्दको सृष्टि र सृजनालाई रक्षा गर्नु र कल्याण गर्नु न हो। स्वयंलाई चिन्मय आत्माको रूपमा बोध गर्न र आफ्ना अपेक्षाप्रति जागृत रही साक्षीको यात्रामा अघि बढ्ने प्रेरणा नै सद्गुरूले दिने प्रमुख ज्ञान हो।

गुरु  बिन  ज्ञान  ना  उपजे , गुरु  बिन  मिले  ना  मोक्ष 
गुरु  बिन  लाखे  ना  सत्यको, गुरु  बिन  मिटे ना  दोष !

गुरुको बारेमा सन्त कविरको दोहासँग सहमत हुँदै ओशो भन्नुहुन्छ-गुरुले माटो मुनि पुरिएर रहेको बीजलाई अङ्कुरित गराएर फल दिने वृक्ष बनाइदिन्छ। अर्थात्, जो संसारमा अट्केको र भड्केको छ त्यसलाई प्रेम र ध्यानको मार्ग द्वारा जीवन र जगतको ज्ञान दिन सक्ने एक मात्र व्यक्ति गुरु हो। 

उहाँ ओशोको बारेमा अरू प्रस्ट पार्नु हुन्छ कि गुरुले धेरै अन्यौल र अज्ञानतामा रुमलिएको व्यक्तिलाई ज्ञानको ढोका खोल्ने चाबी प्रदान गर्दछ। गुरु ग्राभिटेशन हो। अर्थात्, गुरु त्यो आकर्षण हो-जब तिमी गुरुको नजिक हुन्छौ, तब तिमी विस्तारै विस्तारै आफ्नो नजिक हुने गर्दछौ। 

जब तिमी आफ्नो नजिक हुन्छौ तिमी परनिर्भर हुन्छौ। जति परनिर्भर हुने कला सिक्छौ तिमी त्यतिनै भयमुक्त र स्वतन्त्र हुन्छौ र व्यक्ति जब संसार र कुण्ठाबाट मुक्त हुन्छ-तब स्वयम्‌भित्र डुब्ने फुर्सद पाउँदछ। 

गुरुले अव्यवस्थित जीवन र अस्वस्थ मनस्थितिलाई रुपान्तरण गरेर सकारात्मक जीवन पद्धतिमा लैजान मद्दत गर्दछ। पदार्थसँग मात्र तादम्यता जोडेर सतहमा हराइरहेको मानिसलाई भित्री ज्ञानको गहिराइसम्म पुर्‍याएर परमात्माको अनुभूति गर्नसक्ने स्थितिमा पुर्‍याउँछ। 

दिशाविहीन यात्रामा हिँडिरहेको मानिसलाई संसारको प्रेम, करुणा र देवत्वसम्म पुग्ने यात्राको सत्मार्ग देखाउन गुरुले नै मद्दत गर्दछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.