|

पर्वत : अग्लो कद, हलुका मोटो शरीर, उमेर ४७ वर्ष, कोट-पाइन्टमै सजिएर हिँड्दा भीआइपी नै देखिने खालको फिगर।

​उनी हुन्‌ पर्वतको मोदी गाउँपालिका–४ हलहले घर भई अहिले सदरमुकाम रहेको कुश्मा नगरपालिका–४ मा बाख्रा पालन गर्दै आएका गणेश पुनमगर।

१५ वर्ष विदेशमा श्रम गरेर नेपाल फर्किएका उनलाई अब आराम गरौँ भने शरीरले पनि माग्छ, बसेरै खाऊँ भने पनि नपुग्ने होइन। तर गणेशलाई बसेर, खाएर, गाडीमा हिँडेर, सुकिला कपडा लगाएर होइन कि बाख्राका पाठा सुम्सुम्याउँदै, जुतो सफा गर्दै, वर्षामा भिज्दै र गर्मीमा पसिना बगाउँदै बाख्रा फार्मको हाकिम हुनै मन पर्छ।

उनलाई बसी–बसी खान खोज्ने अल्छी भएर, समय बिताउने बहानामा गेम खेलेर, राजनीतिलाई विकासको गतिका रूपमा नलिइ लडाइँका रूपमा बुझेर हिँड्ने सबैदेखि घृणा लाग्छ। कृषिका मान्छे अनुगमनमा जाउन्/नजाउन्, अरूले आफूलाई जसरी हेरुन्, ती कुनै कुराको प्रवाह नगरी बिहान सबेरैदेखि राति अबेरसम्म पनि बाख्राकै खोरमा भेटिन्छन् उनी।

स्थानीय वैशाली कृषि सहकारी संस्थालाई साविकको धौलागिरिकै उत्कृष्ट १० भित्र पर्न सफल बनाएका मगर फार्ममा सामान्य अवस्थामा भेटिन्छन्। खोरमा काम गर्ने मान्छे आउन्‌/नआउन्‌ वास्ता छैन, किनकी आफ्नै पाखुरी नचलेसम्म कुनै काम सफल बन्न नसक्ने उनको सोच छ।

‘नेता लडिरहन्छन्, अल्छी सुतिरहन्छन, जुवाडे खेलिरहन्छन्, म बाख्रा पालिरहन्छु किनकी म त कृषकको छोरो कृषकै हुँ। आफैँले नगरेसम्म कुनै काम सफल हुँदैन, अरूले अनुदान देलान्, आउलान् हेर्लान् भनेर व्यवसाय गर्ने नै होइन,’ गणेश भन्छन्, ‘साउदीको मरुभूमिमा घाँस रोपेर बनेको गाई फार्मले गिनिज बुकमा नाम लेखायो। घाँसमै जन्मेका हामी नेपालीले घाँसै भएन भनेर बाख्रा पाल्दैनौँ, कृषिले केही नापिन्न भनेर विदेश जान्छौँ।’

गणेशले साउदीको मरुभूमिमा रहेको गाई फार्मको लागि बजार प्रतिनिधिको रूपमा काम गरेका रहेछन्। मरुभूमिमा घाँस लगाएर पशुपालन गरिरहेका विदेशीको कामबाट हौसिएका मगरसँग विदेशमा रहँदा फार्ममै काम गरेको अनुभव नभए पनि उनले घाँसै-घाँस भएको कृषि प्रधान देश नेपालमा सम्भावना देखे।

नेपाल आएको चार वर्षपछि २०७१ सालमा आफूसँग सहकार्य गर्ने गरी प्रीतिमाया पुर्जा पुन र दिगमाया पुनसँग मिले। उनीहरूको फार्ममा अहिलेसम्म करिब ५० लाख रुपैयाँ लगानी भइसकेको छ। 

फार्म शुरू गर्ने बेलामा धेरै थाहा नभएका कारण बूढा बाख्रा खरिद गरेछन्। ती पनि उन्नत जातका नपर्दा व्यवसायले बिगार्छ कि जस्तो लाग्यो। त्यसबाट पाठ सिक्दै आफूले नै काम गरे मात्र काम बन्छ भन्ने विश्वासका साथ लागिरहेका उनको फार्ममा माउ, पाठा र बोका गरेर खरी, जमुनापारी, स्थानीय र बोयर क्रस गरेर करिब २०० बाख्रा छन्। 

नेपालको कृषि प्रणाली अझै पनि परम्परागत रहनु र उत्पादकत्व बढाउनुमा भन्दा पनि लगानीमा केन्द्रित हुँदा व्यावसायिक कृषिमा हात हालेकाहरू केही समयमा नै विस्थापित बन्नुपरेको उनले देखेका छन्। यही कारण विदेश गएर काम सिकेका युवाहरूलाई त्यहाँको सीप र प्रविधिलाई स्वदेश फर्किएपछि प्रयोगमा ल्याउन सक्ने हो भने सबैको भलो हुने गणेश बताउँछन्।

कृषिमार्फत देशको विकास गर्ने हो भने व्यक्तिले नभई सरकारले नै कृषि फार्महरू सञ्चालन गरेर त्यसमा बेरोजगारलाई रोजगारी दिने वातावरण दिने, विदेशमा सिकेको सीपलाई खेलौनाको रूपमा लिन नहुने उनको भनाइ छ।

‘हाम्रो जस्तो देशमा व्यक्तिले होइन, राज्यले नै कृषि फार्म सञ्चालन गरेर ती उत्पादनलाई निर्यात गर्ने हो। हाम्रो कृषि कर्म बिरालो बाँधेर श्राद्ध गरेजस्तो भयो, श्राद्ध त गरेको छ पितृले पायो कि पाएन कस्लाई थाहा छ?’ उनले भने, ‘बाख्रा पालेको छु के रे भनेर, अनुदान खोज्दै हिँड्ने। उता खोरमा बाख्रा भोकाएर मरिसके, छेरौटी लागिसक्यो, यस्तो पाराले कहाँ हुन्छ र व्यवसाय? सफल हुने भए अरूका कुरा छाडौँ, २४ सै घण्टा आफ्नो काममा लागौँ।’

फार्ममा लगानीकर्ता तीन जना र पाँच जना कामदारहरू अहोरात्र खटेर काम गरेका कारण व्यावसायिक रूपमा गरेको बाख्रा पालन राम्रो बनेको पुनको भनाइ छ। लामो समयको निषेधाज्ञाका कारण अहिले चापट खरिदमा समस्या भएको र मूल्यमा पनि अस्वाभाविक वृद्धि हुँदा बाख्रा पालनमा चुनौती थपिएको गणेशको गुनासो छ।

विदेशमा आवश्यक सामग्रीहरू पहिले नै स्टक गर्ने र कृषिलाई बलियो पार्ने काम हुने भए पनि कृषि प्रधान देशमै कृषि सामग्रीको अभाव हुनुले कृषकहरू कृषिमा आकर्षित हुन् नसकेको उनको तर्क छ। 

सरसफाइमा विशेष ध्यान दिइएका कारण उनको फार्ममा बाख्रा खासै बिरामी हुँदैनन्। उनी आफैँले पनि रोग-प्रकोपबारे धेरै सिकेका छन्। अनुदान माग्न कतै नभएको बताउँदै उनले प्याक्ट नाम गरेको एक गैरसरकारी संस्थाले आफैँ आएर अनुदान र फार्मको पनि लागत हिसाब गरेर १० लाख रुपैयाँ दिएको बताए। 

अर्को सन्दर्भमा उनले अमेरिका जान्छु भनेपछि करोड रुपैयाँ ऋण पत्याउनेहरूले देशमा नै केही गर्छु भन्नेहरूलाई १० हजार रुपैयाँ ऋण दिन नसक्नु गलत भएको बताए।

‘यहाँको त मान्छेहरू पनि के भएको हो? लौन एउटा माउ बाख्रो थप्छु लेउ त १० हजार भन्यो दिँदैन क्या, तर म त अमेरिका जाने भयो, ऋण लेउ भन्यो भने करोड दिन्छ,’ गणेश भन्छन्, ‘आफ्नो देशमा, आफैँले देख्ने ठाउँमा भएको मान्छेलाई बेपत्ता हुन्छ कि झैँ गरेर ऋण दिन डराउँछ। विदेश गएको मान्छे २४ सै घण्टा आँखा अगाडि भएको जस्तो गरी ऋण दिन्छ। विदेश के हो हामीले पनि भोगेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.