|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीका राना थारू समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदी-बहिनीहरुका लागि डोला (पिङ) राखेका छन्।

 साउन महिनाको पहिलो सातामै राना समुदायले डोला राखेका हुन्। यो राना थारू समुदायको परम्परागत चलन हो।

राना थारू बसोवास गर्ने गाउँमा साउन महिनामा सार्वजनिक स्थान पिङ राख्ने गरिन्छ। परम्परागत परिधानमा सजिएका राना थारू महिलाहरु आफनै पारामा गीत गाउँदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन्। पिङ भने महिलाले राख्दैनन्। 

सामूहिक भेला हुने सार्वजनिक ठाउँमा दाजुभाइले दिदी बहिनीहरुका लागि पिङ राख्ने चलन पुरानै रहेको भलमन्सा रामप्रसाद रानाले बताए।  ‘यो चलन परम्परागत रुपमा चल्दै आएको छ’ उनले भने, ‘दिदी-बहिनीहरुले पिङमा मच्चिँदै रमाइलो गर्दै मांगलिक गीतहरु गाउने गर्दछन्।

पिङलाई रानाथारू भाषामा डोला भन्ने गरिन्छ। चार वटा काठको खावाँमा डोरीमा काठको फल्याक बाँधेर पिङका रुपमा प्रयोग गरिन्छ।’

 पिङ खेल्ने दिदी-बहिनीको उत्साह थप्नका लागि ठूलो आवाजमा दाजुभाइले गीत गाउने चलन यस समुदायमा रहेको छ। यस बाट दिदी-बहिनी र दाजु भाइबीच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्व दिईने गरिएको राना थारू अगुवा गेंदुराम रानाले बताए।

दिदी-बहिनीले पानीसमेत नपिएर निराहार बसी दाजुभाइको दीर्घायुको कामना गरी यस अवसरमा तिज मनाउने गर्दछन्। निराहार बसेका दिदि बहिनीले प्रसादका रुपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन्। 

यस अवसरमा घर घरमा बनाईएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाई आफन्त लाई बाँडदै घरका सबैले संगै बसेर खाने चलन यस समुदायमा रहेको छ।

तीजका अवसरमा महिलाहरुले घंघरिया, अंगिया, फतुइ र घुँगट लगाउने गरेका छन भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन्।

 कैलाली र कञ्चनपुरमा मात्रै बसोवास भएका राना समुदायको यो महत्वपूर्ण पर्वका रुपमा रहेको छ। दिदी-बहिनीले दाजु भाईको दिर्घायुको कामना गर्दै यस पर्वलाई मनाउद छन। साउनको शुक्ल तृतियाका दिन यस पर्वको विधिवत रुपमा समापन गर्ने गरिन्छ।

दाजु भाईले तीज पर्व आउन १५ दिन अगावै दिदी-बहिनीको घरमा गएर निम्ता दिई बोलाएर ल्याउनु पर्ने चलन रहेको छ। परम्परागत राना थारू समुदायका महिलाहरुले मनाउने यो पर्व साउन महिना भरी मनाइने गरिन्छ। आधुनिक परिवेशसँगै यस पर्वको मौलिकता खस्किँदै जान थालेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.