|

काठमाडौं : गत जेठ महिनामा नेपाल बाल संगठनअन्तर्गतको नक्साल र सिफल बालमन्दिरमा ४९ जना बालबालिकालाई कोरोना संक्रमण भयो। बालबालिकालाई कोरोना संक्रमण भएपछि अहिले पनि केही बालबालिका त्रसित छन् भने चिन्तित छन् आफन्त। 

बालबालिकालाई कोरोना संक्रमण भएपछि अहिले बालमन्दिरमा कडाइ गरिएको छ। उनीहरूलाई भेट्न त्यति धेरै समय पाइँदैन। शुक्रबार बिहान सिफलको बालमन्दिरमा पुग्दा कोही क्यारेमबोर्ड खेलिरहेका थिए त कोही बालबालिका फुटबल खेलिरहेका थिए।

संगठनले यसरी नै बालबालिकाहरूलाई मनोरञ्जन दिएर काेराेनाकाे त्रास हटाइरहेको छ। बाल संगठनका अध्यक्ष विद्या उपाध्याय न्यौपाने भन्छिन्,‘कोरोना संक्रमणको त्रास छ,बालबालिकालाई बाहिर निकाल्दैनौँ,गृहभित्रै गीत गाउन लगाउँछौँ,नाच्‍न लगाएर खुसी राख्‍छौँ, हेरचाह गर्ने कर्मचारीहरूले केही ज्ञान सिकाउँछन्,यसरी नै उनीहरूको समय बितिरहेको छ।’

कोरोना संक्रमण बालबालिकालाई भए पनि केही लक्षण नदेखिएकाले उनीहरूलाई समस्या नभएको उनले बताइन्। ‘कोरोना भनेपछि उनीहरू बुझ्छन्,उनीहरूमा कोरोना संक्रमण भएपछि कीर्तिपुरको आयुर्वेद आइसोलेसनमा लग्यौँ, त्यहाँ गीत गाउने डान्स गराइयो, १० दिनमा टेष्ट गर्दा फेरि नेगेटिभ आएपछि यहीँ ल्यायौँ,’न्यौपानेले भनिन्।

आफन्त बिर्सिन्छन् बालबालिका

नेपालमा पहिलो लहरको कोरोना संक्रमण देखा परेसँगै बालमन्दिरमा बसेका बालबालिका र आफन्तहरूबीचकाे सम्बन्धसमेत टाढिँदै गएकाे छ। त्यति धेरै भेटघाट हुन सकेको छैन उनीहरूमा। त्यसो त बालबालिकाहरू आफन्त नै बिर्सिँदै गएका छन्।

अध्यक्ष न्यौपाने भन्छिन्,‘अहिले पनि टाढाको आफन्त यहाँ भेट्न आउँदैन, यहाँ भएका केही आफन्त कहिलेकाहीँ आउँछन्,बालबालिका पनि आफन्त खोज्दैनन्, वास्ता गर्दैनन्,खानपान राम्रो छ,बस्ने वातावरण पनि राम्रो छ,त्यसैले पनि नसम्झिएका होलान्।’

उनका अनुसार संक्रमण  हुने डरले आफन्तलाई भित्र छिर्न दिइँदैन। ‘आफन्तहरू आए पनि सामाजिक दूरी कायम गराउँछाैँ,’उनले भनिन्,‘अहिले धेरै बालबालिकाको स्वास्थ्यको लागि उच्च सतर्कता अपनाएका छौँ।’

न्यौपानेका अनुसार अहिले देशभर ९ वटा जिल्लामा १० वटा बालगृह छन्। त्यसमा कूल तीन  सय ४० छन्। सिफल र नक्साल गरी काठमाडौंमा भने दुई सय बढी बालबालिका छन्।

लकडाउन अघिसम्म प्रहरीले दैनिक सडकमा अलपत्र परेका दुई जना बालबालिका उद्धार गरी संगठनमा ल्याउने गरेको थियो भने,हाल दुई दिनमा दैनिक एकजना बालबालिका ल्याउने गरेको उनले जानकारी दिइन्।

‘जेठ महिनामा बालबालिकालाई कोरोना संक्रमण देखिएपछि हाल देखिएको छैन,त्यो बेला १० जना हेरचाह गर्ने १० जना कर्मचारीलाई पनि संक्रमण देखिएको थियो,कोरोनाबाट यहाँका काेही पनि बालबालिकाको देहावसान भएको छैन,’उनले भनिन्।

सरकारले बजेट कम दिएको गुनासो 

सरकारले कम बजेट बिनियोजन गर्दा समस्या भएको संगठनको गुनासो छ। संगठनका अध्यक्ष न्याैपानेले भनिन्,‘अहिले राज्यले हामीलाई कम बजेट दिँदा संगठन चलाउनै मुस्किल भएको छ,राज्यले बजेट बढाउनुपर्‍याे, विगत ३० वर्षदेखि एउटै कार्य समिति भयो,यहाँ अर्बको सम्पत्ति छ तर अरूलाई भोगचलन दिइरहेको छ।’

उनका अनुसार सरकारले पहिला वार्षिक करोडौँ बजेट विनियोजन गर्ने गरेको थियो। तर, अहिले वार्षिक ५० लाख मात्रै छुट्याउने गरेको छ।

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.