|

इलाम : ​आफूले अनावश्यक दबाब दिएर मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई​ राजीनामा गर्न बाध्य नपारेको अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले बताएका छन्।

नेम्वाङले तीन सातादेखि आफूमाथि नाटक गरेकोले राजीनामा दिएको अल्मुताइरीले फेसबुकमार्फत उल्लेख गरेपछि थाहाकर्मीसँग कुरा गर्दै नेम्वाङले आरोप निराधार भएको बताएका छन्।

'प्रशिक्षक अल्मुताइरीले केही दिनअघि मिडियामा कुरा गर्दै नेपाली फुटबल विकासका लागि खेलाडीको मात्र नभई पदाधिकारीको पनि मानसिकता परिवर्तन हुनुपर्ने भन्नेबारे महासचिवलाई सोध्न लगाएको थिएँ,' नेम्वाङले भने, 'व्यक्तिगत रूपमा भेटघाट भएको छैन। तर नेपाली टिमको सफलतामा बधाइ दिएको थिए। कोचले समेत सकारात्मक नै लिनुभएको थियो।'

आफूमाथि षड्यन्त्र गरी फसाउन खोजिएको नेम्वाङको तर्क छ। छानबिन गर्दा आफू दोषी पाइए कारबाही भोग्न तयार भएको नेम्बाङले बताए। 'एन्फाले छानबिन समिति बनाएर प्रक्रिया अघि बढाओस् यदि मेरो गल्ती भए कारबाहीका लागि तयार छु,' नेम्वाङले भने।

कतार फुटबल संघको सहयोगमा गत चैतमा अल्मुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हालेका थिए। उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप कप र एसिया कपका गरी ३ खेल खेलेको थियो।

एन्फाले उनको सम्झौता अवधि थप्न कतार फुटबल संघलाई पत्राचार गरिरहेको अवस्थामा अलमुताइरीले राजीनामा घोषणा गरेका हुन्। दुई दिनअघि मात्र प्रशिक्षकको सम्झौता थप्ने विषयमा आफूलाई जानकारी नभएको भन्दै एन्फा उपाध्यक्ष समेत रहेका कृष्णबहादुर थापाले टेक्निकल कमिटीबाट राजीनामा दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.