|

काठमाडौं : अमेरिकाबाट आएको कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप  हालसम्म दुई लाख ११ हजार १ सय ७८ जनाले लगाएका छन्।

कोभ्याक्स सुविधामार्फत अमेरिकाले दिएको १५ लाख ३४ हजार जोन्सन एन्ड जोन्सन खोप गण्डकी, बाग्मती र दुई नम्बर प्रदेशमा लगाउन सुरु गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले  जोन्सन जोन्सन खोप अभियान अन्य ठाउँमा पनि छिट्टै लगाउन सुरु गरिने बताए। उनले भने, 'खोपको माग धेरै छ बाँकी ठाउँमा पनि अब छिट्टै लगाउन सुरु गरिनेछ।'

पछिल्लो समय जोन्सन जोन्स खोपको बारेमा केही नकारात्मक हल्ला फैलाइए पनि हल्लाको पछाडि नलगी खोप ढुक्कसँग लगाउन उनले आग्रह गरे। यो खोप धेरै विदेश जाने तयारी गरेकाहरूले लगाउन माग गरे पनि मागअनुसार पुर्‍याउन नसकिएको उनको भनाइ छ।

१३ लाख ६६ हजार ४६ जनाले लगाए पूर्ण खोप

यस्तै, हालसम्म ७७ जिल्लाका १३ लाख ५२ हजार २ सय ७२ जनाले कोरोना भाइरस कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार १३ लाख ६६ हजार ४६ जनाले पूर्ण खोप पाएका छन्।

यस्तै, हाल पूर्ण खोप पाउनेहरू सबैभन्दा बढी काठमाडौंका छन्। यस्तै, सबैभन्दा कम खोप  मनाङ र मुस्ताङका नागरिकले पाएका छन्।

खोप अभियान जारी भएकाले जिल्लाअनुसारको तथ्यांक उपलब्ध भएको छैन। बाग्मती प्रदेशमा १ लाख ७२ हजार ९ सय ७७, प्रदेश २ मा १ हजार ८ सय ५९ र गण्डकी प्रदेशमा ३६ हजार ३ सय ४२ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार भेरोसेलको पूर्ण खोप ६ लाख ८२ हजार ७ सय ९० जनाले लगाएका छन्। कोभिसिल्डको पूर्ण खोप ४ लाख ५८ हजार ३ सय ४ जनाले लगाएका छन्।

कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन्। यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन्। यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जाने हुँदा शंका नगरी खोप लगाउन पनि डा अधिकारीले आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.