पीडितले असन्तुष्टि जनाउँदै प्रहरीसमक्ष जाहेरी दिएका थिए

|

रुकुम (पूर्व) : बलात्कार घटनामा मिलापत्र गरेको आरोपमा रोल्पामा वडासदस्यसहित सात जना पक्राउ परेका छन्।

जेठाजुबाट बुहारी बलात्कार भएको घटनालाई गाउँमै मिलापत्र गरेको आरोपमा प्रहरीले लुङ्ग्री गाउँपालिका–४ का  वडा सदस्य हिमबहादुर विष्टसहित अन्य ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

पीडितको उजुरीको आधारमा बलात्कारको आरोपीसहित मिलापत्र गराउने स्थानीय दुर्गे विष्ट, नवीन विष्ट, पुस्त विष्ट, पुस्ते खड्का र पीडितका ससुरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डीएसपी नरेशराज सुवेदीले जानकारी दिए।

गएको साउन २ गते भएको घटनालाई पीडितका ससुराले वडा सदस्यलाई खबर गरेपछि वडा सदस्यले साउन ३ गते गाउँमा कटुवालमार्फत स्थानीय भद्र भलाद्मी बोलाएर २० हजारमा मिलापत्र गराएका थिए। जसमध्ये गाउँको कोषमा १५ हजार र पीडितलाई ५ हजार छुट्याउने भेलाले निर्णय गरेको थियो।  

पीडितलाई छुट्याइएको ५ हजार रुपैयाँबाट पनि १ हजार भलाद्मीलाई चिया खर्च र ५ सय ससुरालाई मान राख्ने भनेपछि पीडितले असन्तुष्टि जनाउँदै साउन ४ गते प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बलात्कार आरोपितलाई कसुरबमोजिम र अन्यलाई घटनाको मतियारको कसुरबमोजिम कानुनी कारबाही हुने डिएसपी सुवेदीले बताए। पीडित महिलाले साउन ४ गते प्रहरीसमक्ष जाहेरी दिएकी थिइन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.