देउवा सरकारले न्याय दिने आशा

|

धनगढी : आज साउन १० गते। अर्थात् २०७५ साल साउन १० गते कन्चनपुर महेन्द्रनगर उल्टाखामकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको दिन।

घर नजिकैको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा फेला परेको थियो निर्मलाको शव। पोष्टमार्टम रिपोर्टले देखाएको थियो निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको हो।

२०७५ साल साउन १० गते भएको घटनाको (आज) आइतबार ३ वर्ष पुगेको छ। तर, घटना भएको तीन वर्ष पूरा हुँदा पनि यस अपराधमा संलग्न अपराधी भने अझै अज्ञात छन्।

गएको तीन वर्षको अवधिमा प्रहरी फेरिए, प्रहरीका प्रमुखहरू फेरिए। गृहमन्त्रीहरू फेरबदल भए, प्रधानमन्त्री नै परिवर्तन भए। तर, यो सबै परिवर्तन भइसक्दा पनि अपराधी भने अझै पत्ता लाग्न सकेको छैन।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका दोषीलाई तीन वर्षसम्म पनि कानुनी दायरामा ल्याउन नसक्दा प्रहरी असफल देखिएको छ। पन्त बलात्कारपछि हत्या प्रकरण रहस्यको पर्दा अझै उघ्रिएको छैन। 

तीन वर्षसम्म हत्यारा पत्ता नलागेपछि निर्मलाका परिवारका सदस्यले न्याय पाउने आश गुमेको बताएका छन्। हत्यामा संग्लनलाई कानुनी कारबाही नहुँदा सिंगो परिवारले नै असुरक्षित महसुस गरेको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताइन्। ‘हत्यामा संग्लन अझै पनि खुलेआम घुमिरहेका छन्,’ उनले थाहाखबरसँग भनिन्, ‘दोषीलाई कानुनी दायरमा ल्याउन प्रहरीले चासो नै नदिएको भान हुन थालेको छ।’ 

तीन वर्षसम्म दोषी पक्राउ नपरेपछि न्याय पाउने आश मरिसकेको बताउँछिन् दुर्गा। ‘बैतडीकी किशोरी भागरथी हत्या प्रकरणमा अनुसन्धान सफल भएपछि कञ्चनपुर प्रहरी प्रमुखको टोली घरमै पुगेको थियो,’ दुर्गाले भनिन्, ‘अब निर्मलाका दोषी पनि कानुनी दायरामा आउँछन् भनिएको थियो। तर, अहिले दोषी पक्राउ पर्ने कुनै सुरसार नै देखिदैन्। दोषीलाई कारबाही गर्ने इच्छाशक्ति प्रहरीमा भए हामीले न्याय पाउँछु भन्ने शतप्रतिशत विश्वास छ।’

यताउता जानै डराउँछिन् दुर्गा

‘छोरी (निर्मला पन्त) को हत्या भएको तीन वर्ष भइसक्यो। अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। यताउता जान पनि डर लाग्छ,’ दुर्गाले भनिन्। हत्यामा संग्लनलाई कानुनी कारबाही नहुँदा सिंगो परिवारले नै असुरक्षित महसुस गरेको उनको भनाइ छ।

‘हत्यामा संग्लन अझै पनि खुलेआम छन्। तर को हो ? भन्ने थाहा छैन्। यसले घर बाहिर निस्किनै डर लाग्छ,’ दुर्गाले अगाडि थपिन्, ‘प्रहरीको नजरमा रहेका आरोपित पनि घर अगाडिकै बाटो भएर आउजाउ गर्छन्। नहुनुपर्ने घटना त भयो तर दोषी पक्राउ नगर्दा साह्रै असुरक्षित महसुस हुन्छ।’ 

दुर्गालाई हैरान बनाउने प्रहरीको एउटै प्रश्नः  केटा साथी त थिएन ?

निर्मला पन्त साथीको घरबाट बेपत्ता भएको आइतबार र मृत फेला परेको सोमबार तीन वर्ष पुग्दैछ। यो अवधिमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानबाट थुप्रै टोली अनुसन्धानमा खटिए।

थुप्रै पटक निर्मलाकी आमा दुर्गासँग पनि सोधपुछ भयो। तर, दुर्गा प्रहरीका प्रश्न सुनेर हैरान भएको उनी बताउँछिन्। ‘अनुसन्धानका लागि भनेर जो आउँछन् उनीहरूको प्रश्न एउटै हुन्छ। निर्मलाका कोही केटा साथी त थिएन? भनेर प्रश्न गर्छन्। अब १३ वर्षकी निर्मलाको त्यस्तो साथी को होला ? जवाफ दिन पनि दिक्क लागिसक्यो।’ 

न्याय पाउने ‘आशाको त्यान्द्रो’: वर्तमान प्रधानमन्त्री देउवाको त्यो आश्वासन

उसो त निर्मलाकी आमा दुर्गादेवीले न्याय पाउने आशा नै मारिसकेकी छन्। तर, उनले पाएको एक आश्वासनले उनी केही आशावादी भनेछिन्। वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले उनको घरमै पुगेर दिएको आश्वासन उनले थाहाखबरलाई सुनाइन्।

२०७५ सालको फागुनतिर प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा हुँदा उनलाई भेट्दै देउवाले भनेका थिए, ‘निर्मलाको न्यायका लागि हामी सरकारलाई दबाब दिन्छौँ। यस्तो जघन्य अपराध गर्ने व्यक्तिलाई कुनै पनि हालतमा छाड्नु हुँदैन्। हामी हत्यारा पत्ता लाग्नुपर्छ भन्ने पक्षमा उभिएका छौँ।’

संयोग नै मान्नुपर्छ तीन वर्षपछि देउवा दबाब दिने ठाउँबाट न्याय दिने ठाउँमा पुगेका छन्। अझ दुर्गादेवी र देउवाको गृह जिल्ला पनि डडेल्धुरा नै हो। विगतमा न्यायका लागि सरकारलाई दबाब दिन्छौँ भन्ने व्यक्ति नै न्याय दिने ठाउँमा पुगेपछि आशा राख्नु स्वाभाविक पनि हो।

‘अहिलेका प्रधानमन्त्रीज्यूले मलाई भेटेरै निर्मलालाई जसरी पनि न्याय दिलाएर छाड्छौँ भन्नुभएको थियो,’ दुर्गादेवीले भनिन्, ‘अहिले त उहाँ नै सरकारमा हुनुहुन्छ। त्यसैले पनि नयाँ सरकारले निर्मलालाई न्याय दिन्छ कि भन्ने आशा पलाएको छ। अब न्याय दिने/नदिने कुरा उहाँकै हातमा छ। फेरि पनि मेरो एउटै माग छ, छोरीलाई न्याय चाहियो।’

आफ्नै गृह जिल्लाका देउवा प्रधानमन्त्री भएकाले न्याय पाउने झिनो आशा पलाए पनि नयाँ सरकार बनेपछि कुनै खालको आश्वासन भने नपाइएको उनी बताउँछिन्।
के गर्दै छ प्रहरी ?

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी निर्मला हत्या प्रकरणमा ‘डेडिकेटेड’ टीम सक्रिय रहेको बताउँछन्। ‘जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको सयुक्त डेडिकेटेड टिमले निर्मला हत्याको घटनामा अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘सार्वजनिक नै गर्न मिल्ने प्रगति भएको छ भनेर अहिले नै भन्न सक्दिन। तर अनुसन्धान जारी छ।’

हरेक कोणबाट घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ।

‘अपराध अनुसन्धानमा भौतिक निर्माणमा हुने प्रगति जस्तो हुँदैन,’ उनले भने, ‘भौतिक निर्माणमा त निश्चित प्रतिशत प्रगति भयो भन्न सकिन्छ। तर अपराध अनुसन्धानमा दोषीलाई पक्राउ गरेर सार्वजनिक गर्दा शतप्रतिशत प्रगति देखिन्छ। त्यो अगाडिसम्म प्रगतिशून्य नै भनिन्छ। दोषीलाई कानूनी दायरामा ल्याउने भनेकै प्रहरीले हो। दोषी उम्किन पाउँदैनन्।’

के हो निर्मला प्रकरण ?

साउन १० गते दिउँसोको समयमा साथी रोशनीको घरमा गृहकार्य गर्छु भन्दै गएकी निर्मला घर फर्किनन्। अबेर साँझसम्म पनि घर नफर्किएपछि उनको खोजी सुरु भयो। भोलिपल्ट बिहान भीमदत्त नगरपालिका–१८ र २ को सीमा नजिकैको उखुबारीमा उनी मृत भेटिइन्। शवको प्रकृति र शव परीक्षण रिपोर्टपछि निर्मलाको बलात्कारपछि हत्या देखिएपछि सोहीअनुसार अनुसन्धान थाल्यो।

भदौँ चार गते २०७५ मा प्रहरीले निर्मलाको बलात्कारपछि हत्या गरेको भन्दै दिलीप विष्टलाई सार्वजनिक गरेको थियो। मानसिक अवस्थासमेत ठीक नभएका विष्टलाई सार्वजनिक गरेपछि वास्तविक हत्यारा बचाउन नक्कली खडा गरेको भन्दै कञ्चनपुर प्रहरीविरुद्ध आन्दोलन चर्कियो।

आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय सन्नी खुनाको ज्यान गयो भने एक दर्जन बढी घाइते भए। सोही क्रममा दिलीपको डीएनए नमिलेपछि उनी छुटे।

कञ्चनपुर प्रहरीले अनुसन्धानमा लापरबाही गरेको, प्रमाण नष्ट गरेका जस्ता आरोपमा तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट बर्खास्तसमेत भए।

गृह मन्त्रालयले अनुसन्धानमा खटिएका सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसी, जिल्ला प्रहरी कार्यालयका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई पनि निलम्बन गरेको थियो। तर पछि उनीहरूले अदालतबाट प्रमाण नष्ट गरेको तथा याचना दिएको मुद्दामा सफाइ पाएपछि अहिले निलम्बन फुकुवा भइसकेको छ।

निर्मला हत्या प्रकरणमा गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय समिति, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डिआइजी धीरु बस्न्यात नेतृत्वको समितिले घटनाबारे छुट्टाछुट्टै प्रतिवेदन तयार पारेका थिए।

तर, ती प्रतिवेदनहरू अहिलेसम्म कार्यान्वयन भएका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.