|

झापा : झापामा कोरोना संक्रमण र मृत्युदर अझै घटेको छैन। जिल्लामा कोरोना महामारी नियन्त्रण तथा रोकथाम नभई जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)ले अन्य जिल्लालाई दाँजेर निषेधाज्ञा खुकुलो बनाइदिएको छ। 

साउन ७ गते प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै बजार तथा पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाउने र जोर बिजोर प्रणाली हटाउँदै यातायातका सबै सवारीसाधन देशभरि चलाउने पाउने निर्णय गरेपछि जिल्लाका बजारमा नागरिकको चहलपहल ह्वातै बढेको छ। 

स्वास्थ्य सुरक्षाको मापदण्ड समेत नअपनाउने नागरिकको चहलपहल बढेपछि जिल्लामा संक्रमणदर नियन्त्रण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ। जसले गर्दा जिल्लामा सङ्क्रमणले भयावह अवस्था लिन थालिसकेको जानकारहरू बताउँछन्। 

डिसिसिएमसीले जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै नागरिकको ज्यान बचाउन अहिले स्थानीय सरकार सक्रिय बन्न थालेको पाइएको छ। स्थानीय सरकारले आफ्नो पालिकामा कडाइ गर्दै धमाधम सिल गर्ने निर्णय गर्न थालेको छ। जिल्लाका १५ वटा स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहमा पूर्ण र एउटा स्थानीय तहमा आंशिक सिल गर्ने निर्णय गरिएको छ। 

बिर्तामोड नगरपालिका, कनकाई नगरपालिका, दमक नगरपालिका, शिवसताक्षी र बुद्धशान्ति गाउँपालिकामा पूर्ण रुपमा सिल गर्ने निर्णय गरिएको छ। अर्जुनधारा नगरपालिकामा आंशिक सिल गरिएको छ।

डिसिसिएमसीले लगाएको खुकुलो निषेधाज्ञा निर्णयप्रति चित्त नबुझेपछि बुद्धशान्ति गाउँपालिकाले जिल्लामा सिल लगाउने कार्यको सुरुवात गरेको हो। गाउँपालिकाले साउन ५ गतेदेखि एक हप्ताका लागि पालिका सिल गरिसकेको छ। 

साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले जानकारी दिए। उनका अनुसार पालिकाभित्रका सम्पूर्ण पसल, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्यालय र मानिसको आवतजावतसमेत पूर्ण रूपमा बन्द गरिएको छ।

मेची राजमार्गमा आवतजावत हुने सवारी साधनलाई भने रोक नलगाइएको उनले बताए। गाउँपालिकामा पछिल्लो पटक दैनिक ३५ देखि ४० जनासम्ममा संक्रमण पुष्टि हुँदै आएको थियो। 

त्यस्तै जिल्लाकै मुख्य व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकामा भोलि (बुधबार) साउन १३ गते मध्यराति १२ बजेदेखि १९ गते मध्यराति १२ बजेसम्म सिल गर्ने निर्णय गरिएको छ।

कार्यपालिका सदस्य, व्यवसायी, प्रशासन, स्वास्थ्यकर्मी बिचको छलफलले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका क्षेत्रभित्र एक साता सिल गर्ने निर्णय गरिएको नगरपालिकाका प्रेस संयोजक रमेश तिवारीले जानकारी दिए। 

दमकमा सोमबार बिहानबाट एक साता कर्फ्यु जस्तै कडा निषेधाज्ञा लगाउने निर्णय भएको छ। राजनीतिक दलहरू, दमक उद्योग वाणिज्य सङ्घ र वित्तीय सरोकारवालाहरूसँग दमक नगरपालिकाले गरेको छलफलमा सहभागीहरूले विगतजस्तो फितलो र नाम मात्रको निषेधाज्ञाको औचित्य नरहेको भन्दै कडा निषेधाज्ञा लगाउन माग गरेका थिए। 

त्यसैअनुसार नगरपालिकाले भोलिदेखि बिहान ४ बजेदेखि साउन १७ गते मध्यराति १२ बजेसम्म सिल गर्ने निर्णय गरिएको नगरपालिकाका मेयर रोमनाथ ओलीले जानकारी दिए। अत्यावश्यकबाहेक कोही पनि घरबाहिर ननिस्कने आदेश गरिएको उनले बताए। त्यसैगरी कनकाई नगरपालिका एक साता सिल गरिएको छ।

कनकाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि मिश्रद्वारा जारी विज्ञप्तिमा साउन ९ गते राति १० बजेदेखि साउन १६ गते राति १० बजे सम्मका लागि सम्पूर्ण वडाहरू पूर्ण रुपमा सिल गरिएको उल्लेख छ।

नगरभित्रका अत्यावश्यक सेवाबाहेक सबै किसिमका पसल तथा व्यवसायहरू, बैंक तथा वित्तीय संस्थाबाट दिइँदै आएको सम्पूर्ण सेवा बन्द गरिने विज्ञप्तिमा उल्लेख छ। 

अर्जुनधारास्थित शनिश्चरे बजार एक साताका लागि सिल गरिएको छ। अर्जुनधारा नगरपालिका-८ नम्बर वडा कार्यालयले कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै बजार बन्द गर्ने निर्णय गरेको हो। साउन ८ गते मध्यराति १२ बजेदेखि साउन १५ गते मध्यराति १२ बजेसम्मका लागि बजार बन्द गरिएको वडाध्यक्ष गोपीचन्द्र गौतमले जानकारी दिए।

त्यस्तै शिवसताक्षी नगरपालिकाले भोलिदेखि एक साता सिल गर्ने निर्णय गरेको छ। नगरपालिका मेयर चन्द्रकुमार सेर्माको अध्यक्षतामा बसेको सर्वदलीय तथा सिसिएमसीको बैठकले सात दिन सिल गर्ने निर्णय गरेको हो।

साउन ११ गते मध्यराति १२ बजेदेखि साउन १८ गते मध्यराति १२ बजेसम्म पूर्व पश्चिम राजमार्गबाहेक सबै सडकमा आवतजावत रोक्न लगाउनुका साथै पसल तथा बजार बन्द गर्ने निर्णय गरिएको मेयर सेर्माले बताए।

यता जिल्ला स्वास्थ्य कार्यालय झापाको कोरोना तथ्यांकअनुसार पछिल्लो एक साता संक्रमणदर ह्वातै बढेको देखिन्छ। तथ्यांकअनुसार शनिबार २३३, शुक्रबार ३६१, बिहीबार ३०६, बुधवार २५२, मंगलबार १८३, सोमबार ३१९, आइतबार ११३ जना संक्रमित थपिएका थिए।

सात दिनको अन्तरालमा ३० जनाको सङ्क्रमणबाट मृत्यु भएको छ। झापामा शनिबारसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२५ पुगेको छ। कूल सङ्क्रमितको सङ्ख्या २० हजार ४९२ पुगेको छ।

त्यसमध्ये १४ हजार ५८१ जना डिस्चार्ज भएका छन्। जिल्लामा २७९२ जना सक्रिय संक्रमित रहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.